चेल्सीद्वारा माल्मोमाथि चार शून्यको जित

२०७८ कार्तिक ४ बिहीबार १२:५३:०० मा प्रकाशित

साविक विजेता चेल्सीले च्याम्पियन्स लिगमा माल्मो माथि चार शून्य गोलको सहज जित हात पारेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले नवौं मिनेटमानै अग्रता बनाएको थियो । उसका लागि थिएगो सिल्भाको पासमा  आन्द्रिय क्रिस्टिनसेनले गोल गरेका थिए ।

चेल्सीबाट १ सय ३७ खेल खेल्दा उनको यो  पहिलो गोल हो । २१ औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए ।  रोमेलु लुकाकुलाई माल्मोका लेस निल्सेनले फाउल गरेपछि चेल्सिले पेनाल्टी पायो । जसलाई जिर्जिन्होले गोलमा  परिणत गरे ।

४८ औं मिनेटमा काइ हाभर्टसले गोल गरेपछि तीन शून्यले पछि परेको माल्मो खेलमा फर्कन सकेन । ५७ औं मिनेटमा जर्जिन्होले पुन पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । सन् १९९९ यता च्याम्पियन्स लिगको एकै खेलमा पेनाल्टीमा दुई गोल गर्ने जर्जिन्हो पहिलो खेलाडी हुन्  ।

माल्मोले गोलकिपर परिवर्तन गरेको थियो । चेल्सीका प्रशिक्षक थोमस टुखेल खेलाडीको प्रदर्शनबाट सन्तुष्ट देखिएका छन् । तीन खेलबाट ६ अंक बटुल्दै चेल्सी समूह एचको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा युभेन्टस छ । उसको ९ अंक छ । गएराति भएको खेलमा युभेन्टसले जेनिथ सेन्ट पिटर्सबर्गलाई एक शून्य गोलले हरायो । सिरी या क्लबलाई लगातार तेस्रो जित दिलाउने क्रममा डेजान कुलुसेभ्स्कीले खेल सकिन चार मिनेट बाँकी हुँदा  गोल गरेका थिए ।
 

ताजा खबर