श्रीलङ्का  टि-ट्वान्टी विश्वकपको सुपर १२ मा प्रवेश

२०७८ कार्तिक ४ बिहीबार १२:४९:०० मा प्रकाशित

श्रीलङ्का जारी  टि ट्वान्टी विश्वकपको सुपर १२ मा प्रवेश गरेको छ  ।  पहिलो चरणमा  लगातार दोस्रो जित हात पार्दै श्रीलङ्काले सुपर १२ मा स्थान सुरक्षित गरेको हो । गएराति भएको खेलमा श्रीलङ्काले आयरल्यान्डलाई ७० रनको फराकिलो अन्तरले  पराजित गर्यो ।

एक सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ३ वलमा १ सय १ रनमा अल आउट भयो । मात्र दुई खेलाडीले दोहारो अंकको रन बनाउन सके । कप्तान एन्डी बालबिर्नीले ४१ र कर्टिस काम्फरले २४ रन जोडे । ओपनरद्वय पर्ल स्टर्लिङ ७ र केभिन ओ ब्रायन ५ रनमा आउट भए ।

गारेथ डेलानी २, हेरी टेक्टर ३, निल रक १ र मार्क ऐडर २ रनमा मैदान बाहिरिए ।  आयरल्यान्डको पारी  ध्वस्त बनाउने क्रममा माहिश थिक्सानाले ३ विकेट लिए । तीन ओभर वल फालेका उनले मात्र १७ रन खर्चिए । चामिका कुमारारत्ने र लाहिरु कुमाराले २–२ विकेट लिए ।

दुश्मान्था चामिरा र वानिन्डु हसरंगा डि सिल्भाले १–१ विकेट बाँडे । यसअघि अबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको श्रीलङकाले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ७१ रन बनाएको थियो ।  खराब सुरुवात गरेको श्रीलङकाले ८ रनमा तीन ब्याट्सम्यान गुमाएको थियो ।

कुशल परेरा , स्टर्लिङको वलमा गोल्डेन डक आउट भए । दिनेश चान्डिमल ६ रनमा जोश लिटिलको शिकार भए । आभिष्का फर्नान्डो पनि लिटिलकै वलमा  गोल्डेन डक आउट भएपछि श्रीलङका संकटमा परेको थियो । तर पाथुम निसान्का र हसरंगाले चौथो विकेटका लागि १ सय २३ रनको उत्कृष्ट साझेदारी गरे ।

हसरंगाले ४७ वलमा १० चौका र १ छक्काको मदतमा ७१ रनको योगदान गरे । ४७ वलनै खेलेका निसान्काले ६१ रन जोडेपछि श्रीलङकाले विशाल योगफल बनाएको थियो । यी दुइको साझेदारी तोड्न नसक्नु आयरल्यान्डको हारको मुख्य कारण बन्यो । कप्तान दासुन सानाका २१ रनमा अविजीत रहे ।

लिटिलले ४ र ऐडरले २ विकेट लिए । आयरल्यान्डको दुई खेलबाट दुई अंक छ । नामिबियाको पनि समान २ अंक छ । शुक्रबार नामिबिया र आयरल्यान्ड बीच खेल हुनेछ । यो खेलको विजेताले सुपर १२ मा प्रवेश पाउनेछ । नेदरल्यान्डसको  दुई खेलमा  हारेपछि सुपर १२ पुग्ने संभावना सकिएको छ । 
 

ताजा खबर