पिएसजीद्वारा लाइपजिग तीन दुई गोलले पराजित

२०७८ कार्तिक ३ बुधबार १३:०७:०० मा प्रकाशित

लियोनल मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतमा पेरिस सेन्ट जर्मेन पिएसजीले च्याम्पियन्स लिग समूह चरणको खेलमा लाइपजिगलाई तीन दुई गोलले पराजित गरेको छ । दुई एक गोलले पछि परेको पिएसजीलाई मेसीले खेलमा फर्काएका थिए । घरेलु मैदानमा पिएसजीले नवौ मिनेटमानै किलियन एम्बाप्पेको गोलमार्फत अग्रता लिएको थियो । एम्बाप्पेले काउन्टर अट्याक्टमा गोल गरेका हुन् । पिएसजीको अग्रता लामो समय जोगिएन ।

२८ औं  मिनेटमा लाइपजिगका आन्द्रे सिल्भाले गोल गर्दै खेल एकएकको बराबरी गरेका थिए । ५७ औं मिनेटमा नोदी म्युकेले  गोल गरेपछि पिएसजी दुई एकले पछि परेको थियो । तर ६७ औं मिनेटमा मेसीको  गोलमार्फत पिएसजीले पुनरागमन गर्यो । ७४ औं मिनेटमा उनैले पेनाल्टीमा गोल गरे ।

यसअघि  पिएसजीबाट  एघार पेनाल्टी प्रहार गरेका एम्बाप्पेले मेसीलाई प्रहार गर्न भनेका थिए । मेसीको सम्मानका लागि आफूले उनैलाई पेनाल्टी हान्न भनेको एम्बाप्पेको भनाइ  थियो । ३४ वर्षीय मेसीको च्याम्पियन्स लिगमा यो १२३ औं गोल हो । मेसीले गोल गरेको लाइपिजग ३७ औं टिम हो । इन्जुरी समयमा पनि पिएसजीले पेनाल्टी पाएको थियो । यो पटक मेसीले एम्बाप्पेलाई प्रहार गर्न भने । तर एम्बाप्पेको प्रहार पोस्ट माथिबाट बाहिरिएको थियो ।

मेसी च्याम्पियन्स लिगमा घरेलु मैदानमा पिएसजीका लागि  सुरुवाती दुई खेलमा गोल गर्ने चौथो खेलाडी हुन् । च्याम्पियन्स लिगको अघिल्लो खेलमा म्यानचेस्टर सिटीलाइ दुइ शुन्यले पराजित गर्दा पनि मेसीले गोल गरेका थिए । समूह ए मा रहेको पिएसजी ३ खेलबाट ७ अंक जोड्दै तालिकाको पहिलो स्थानमा छ ।  सिटी ६ अंकका साथ दोस्रो स्थानमा छ । लाइपजिगको यो लगातार   तेस्रो हार हो ।

गएरातिनै भएको खेलमा सिटीले क्लब बर्गलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्यो । सुरुवात देखिनै खेलमा दवाव बनाएपनि सिटीले पहिलो गोल ३० मिनेटमा गरेको थियो । जोआओ कान्सेलोले गोलको खाता खोले । रियाद महरेजले ४३ औं मिनेटमा पेनाल्टिमा अग्रता दोब्बर बनाए ।

५३ औं मिनेटमा केल वाल्कर र ६७ औं मिनेटमा कोल पाल्मरले गोल थपे  । पाल्मरले सिटीका लागि च्याम्पियन्स लिगमा यो पहिलो गोल हो । ८१ औं मिनेटमा क्लब वर्गका हान्स भानाकेनले सान्त्वना गोल फर्काए । ८४ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी ५–१  को फराकिलो जीत हात पार्न सफल भयो । क्लब वर्ग तीन अंकका साथ तेस्रो स्थानमा छ । 


 

ताजा खबर