बाढी पहिरोमा परी १८ जनाको मृत्यु, ३३ सम्पर्कविहीन

२०७८ कार्तिक ३ बुधबार १०:०६:०० मा प्रकाशित

नारायण ढुंगाना, काठमाडौँ । मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ । विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन् ।

गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेका अनुसार डोटीमा सात, धनकुटामा पाँच, सुनसरीको धरानमा दुई, कालीकोटमा एक र डडेलधुरामा एक जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा गत असोज ३१ देखि पानी पार्ने प्रणाली सक्रिय भएको थियो । अहिलेसम्म सुदूरपश्चिमलाई नराम्ररी प्रभावित बनाएको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार बिहान दिएको विवरणअनुसार इलामको फाकफोकथुम गाउँपालिका–१ ठेङ्गेपुरमा नगबहादुर शेर्माको घरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जिल्लाको चौबीसे गाउँपालिका–१ छनम बुधबारेमा गएराति पहिराले भीमबहादुर श्रेष्ठको घर भत्काउँदा छ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार पहिरोमा परेका १२ मध्ये छजनाको उद्धार गरिएको छ ।

महाशाखाका प्रमुख पाण्डेले पहिरोमा परेर हुम्लामा छ बझाङमा २३ सम्पर्कविहीन रहेका जानकारी आएको बताइन् । यस्तै कैलालीमा पनि चार बेपत्ता भएका छन् ।

पहिरो खसेर बझाङको थलारा गाउँपालिका–४ मा सात घरका २३ सम्पर्कविहीन भएका हुन् । सो क्षेत्रमा विद्युत् तथा टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले घटनाको यकिन विवरण अझै आउन सकिरहेको छैन । हुम्लाका प्रजिअ गणेश आचार्यका अनुसार जिल्लामा आइतबारदेखि परेको पानी अहिले बिहान मात्रै रोकिएको छ । उनले खार्पुनाथ गाउँपालिका–५ खर्पेल गाउँमा गए राति पहिरो झरेर एक घर पुरिएको र त्यहाँ रहेका छ जना सम्पर्कविहीन भएका जानकारी प्राप्त भएको बताए ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार बाढी, पहिरोका कारण चार सम्पर्कविहीन भएका र उनीहरुको खोजी जारी छ । जिल्लाका ३०० घर प्रभावित भएको उनले जानकारी दिए । अन्य विभिन्न जिल्लामा ठूलो भौतिक क्षति भए पनि यकिन विवरण आइसकेको छैन । अहिले उद्धार कार्यमा मुलुककै ध्यान केन्द्रित भएको र बेपत्ताको खोजीका लागि तीनवटै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा समुदाय सक्रिय रहेको महाशाखा प्रमुख पाण्डेले जानकारी दिइन् ।

जिल्लामा फसेका नौको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थलमार्गबाट समेत उद्धार कार्य जारी रहेको र अहिलेसम्म कञ्चनपुरलगायत जिल्लाबाट ७०० लाई उद्धार गरी सुरक्षित ठाउँमा पुर्याइएको गृह मन्त्रालयले जनाएको छ ।

प्राप्त विवरणमा बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्य १५ जिल्लाका अधिकांश राजमार्ग तथा धेरै ठाउँमा विद्युत् र फोन सेवासमेत अवरुद्ध भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनले उद्धार, राहत तथा अस्थायी बसोबासको व्यवस्थापन कार्य पनि सँगसँगै भइरहेको जानकारी दिए ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रभावित क्षेत्रमा रातिमा समेत खटिएर प्रहरीले उद्धार कर्यालाई तीव्रता दिइरहेको र यो क्रम जारी रहेको जानकारी दिए । अहिलेको वर्षाले किसानको भित्रिन लागेको धानबालीलाई समेत नराम्ररी प्रभावित बनाएको छ ।

आज भने वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कणाली र सुदूरपश्चिममा केही सुधार भएको छ । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।

जसका कारण अहिले हाल देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाकी प्रदेशका एक–दई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

 

धनकुटामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु
धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ ।

राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ जनाको घटनास्थलमै मृत्यु भएको र अरु छ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए ।

घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले जानकारी दिए ।

गम्भीर घाइतेसहित अन्य घाइते वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ का सञ्जाल श्रेष्ठ र वर्ष २८ का चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको उनले बताए ।

घाइते हुनेमा भीमबहादुरको परिवारका सदस्य र आफन्त छन् । घाइतेको उद्धारका लागि लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा समस्या भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि उनीहरुलाई लैजाने तयारी भइहेको प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा परी डोटीमा थप दुई जनाको मृत्यु
चार दिनदेखिको बेमौसमी बर्षाका कारण आएको बाढी पहिराबाट डोटीमा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायालाई छत्रे खोलाले बगाउँदा मृत्यु भएको हो । उनको १०० मिटर तल खोला किनारमा शव भेटिएको हो भने सायल –५ गुरेनामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

मृत्यु भएकाको पहिचान नखुलेको र थप उद्धारका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढी पहिराका कारण जिल्लामा मङ्गलबार नौजना मृत्यु भएको थियो । जिल्लामा अहिले पनि बर्षा भइरहेको छ भने विद्युत्, सञ्चार सम्पर्क अवरुद्ध भएको छ ।

ताजा खबर