डोटी र डडेल्धुरामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

२०७८ कार्तिक २ मंगलबार १६:५७:०० मा प्रकाशित

डोटी । तीन दिनदेखिको लगातारको वर्सातका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई घर भत्किँदा च्यापिए दुईजनाको मृत्यु भएको छ । मृत्युहुनेमा सायल–६ मेल्लेखका सागर र ११ आशिष कुन्जेडा छन् ।


जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्सातले स्थानीयवासी वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर उनीहरुको मृत्यु भएको हो । च्यापिएका शव निकाल्न तथा थप उद्धारका लागि इलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी निरीक्षक किसन चन्दको नेतृत्वमा प्रहरी टोली परिचालन भएको बताइएको छ ।

जिल्लामा वर्सातका कारण विभिन्न ठाउँमा क्षति भएका भए पनि सञ्चार सम्पर्क विच्छेद भएका कारण अन्य क्षेत्रको खबर प्रप्त हुन नसकेको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।
डडेल्धुरामा पहिरोमा परी एकजनाको मृत्यु
घरमाथिबाट आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रातिदेखि निरन्तर आएको वर्षाका कारण घरमाथिबाट गएको पहिरोमा पुरिएर अवस्थीको ज्यान गएको हो । जिल्लामा फोन नेटवर्क र विद्युतसमेत अवरुद्ध हुँदा अन्य क्षतिका बारेमा यकिन गर्न सकिएको छैन ।

यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी दुईजना घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । नदी र तटीय क्षेत्रहरुमा निरन्तरको वर्षाका कारण बाढी पनि बढेकाले उच्च जोखिम रहेको हँुदा सतर्कता अपनाउन सबैलाई जिल्ला प्रशासन कार्यालयले अपील गरेको छ ।

वर्षा अन्य वर्षको तुलनामा धेरै भइरहेको छ , जोखिम पनि त्यतिकै छ, बाढी पहिराबाट हुन सक्ने क्षेति रोक्न आफँै चनाखो भई सचेत रहन आग्रह गरिएको प्रजिअ मोहनराज जोशीले जानकारी दिए ।

ताजा खबर