पोखरामा महिलाको ‘पावर लिफ्टिङ च्याम्पियनसिप’ हुने

२०७८ कार्तिक २ मंगलबार ०८:३३:०० मा प्रकाशित

पोखरा । महिला खेलाडीको खेल व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा यही कात्तिक ५ र ६ गते पहिलो संस्करणको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप’ हुने भएको छ ।

    गोर्खा क्लासिक नेपालले महिला खेलाडीको खेल व्यावसायिकता, महिला सशक्तीकरण र समग्र खेल क्षेत्रको व्यावसायिकता विकास गर्ने लक्ष्यसहित शारीरिक सुगठन विधाअन्तर्गत रहेर प्रतियोगिता गर्न लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।

    उनका अनुसार प्रतियोगिता ६० केजीमाथि र ६० केजीभन्दा तल गरी दुई विधामा सञ्चालन हुनेछ । दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुन सफल खेलाडीले जनही क्रमशः २५ हजार, १५ हजार, १० हजारसहित मेडल र ट्रफी पुरस्कार प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । 

    यसैगरी महिला खेलाडीहरुको नेपालकै सर्वोत्कृष्ट प्रतियोगिता रहेकाले ६० केजीमाथि र सोभन्दा तल दुई विधा समूहको प्रथम÷प्रथमबीचको प्रतिस्पर्धाबाट उत्कृष्ट हुन सफल खेलाडीले टाइटल विजेता उपाधिका रूपमा ८० हजारसहित ‘गोर्खा क्लासिक बेल्ट’ र सम्मानपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट गरी ५० खेलाडीको सहभागिता रहने बताइएको छ । शारीरिक सुगठन विधाका खेलहरूको व्यावसायिक विकास गर्ने उद्देश्य रहेको उल्लेख गर्दै उनले पर्यटकीय शहरमा सञ्चालन हुने यस प्रतियोगिताबाट पोखरालाई खेल पर्यटनमार्फत संसारभर चिनाउन र आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताए । 

    हरेक दुई÷दुई वर्षमा प्रतियोगितालाई निरन्तरता दिइने योजना आयोजकले बनाएको छ । प्रतियोगिता सञ्चालनका लागि १३ लाख ५० हजार खर्च लाग्ने भएकाले पुरस्कार प्रायोजक, सहयोगी एवं शुभेच्छुक व्यवसायीहरुबाट सहयोग रकम सङ्कलन गरिने बताइएको छ । 

    प्रतियोगिताको निर्णायकमा नेपाल बडी बिल्डिङ सङ्घ तथा क्षेत्रीय खेलकुद विकास समिति र भारत्तोलन सङ्घबाट प्राविधिक सहयोग उपलब्ध हुने आयोजकले जनाएको छ । 
 

ताजा खबर