इतिहास रच्नबाट एक कदम पछि

२०७८ असोज २८ बिहीबार १७:०७:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले २८ वर्षदेखिको प्रतिक्षाको अन्त्य गर्दै साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक स्थान बनाएको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेश संग १–१ गोलको बराबरी खेल्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गर्यो । माल्दिभ्सको माले स्थित राष्ट्रिय रंगशालामा भएको बंगलादेश विरुद्धको खेल रोमान्चक र प्रतिस्पर्धात्क बनेको थियो । नेपाल मैदान उत्रदा एक अंक भए फाइनल पुग्ने स्थितिमा थियो । बंगलादेशका लागि जित्नै पर्ने दवाव । तर सुरुवात ठिक उल्टो भयो । नवौ मिनेटमानै बंगलादेशका सुमोन रेजाले कर्नरबाट आएको बलमा  हेडर गोल गरेपछि नेपाल एक शून्यले पछि पर्यो । वल पोसेसनमा पक्कड जमाएपनि बराम्बरको प्रयास असफल हुदा नेपाल खेल बराबरी गर्न सकिरहेको थिएन् । १५ औं मिनेटमा रोहित चन्द बराबरी गोल फर्काउने सुनौलो अवसर बाट चुके । ५३ औं मिनेटमा रेजाले बंगलादेशको अग्रता दोब्बर पार्ने प्रयास गरेका थिए । तर वान भर्सेस वानमा रहेका उनको प्रहारको गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे । पाएका मौका गोलमा परिणत नहुदा एक समय नेपाल हार नजिक पुग्दै प्रतियोगिताबाटै बाहिरिने स्थितिमा थियो । ७९ औं मिनेटमा बंगलादेश दश खेलाडीमा समेटियो । अन्जन विष्टको प्रहारलाइ डि बक्स भन्दा बाहिर आएर हातले रोकेपछि बंगलादेशका गोलकिपर अनिसुर रहमान जेको रातो कार्ड खादै मैदान बाहिरिए । ८८ औं मिनेटमा नेपालले पेनाल्टिको अवसर पायो । अन्जन बिस्टले पेनाल्टीलाइ विना गल्ति गोलमा परिणत गरेपछि नेपालले एतिहासिक सफल हात पार्यो । 
प्रधानमन्त्री देउवाले दिए बधाइ 
जितपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय टिमलाइ बधाइ दिए । ट्वीटमा प्रधानमन्त्री देउवाले लेखेका छन्–साफ फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाइ  तथा आगामी खेलका लागि शुभेच्छा  सहित प्रोत्साहन दिन चाहन्छु ।
यसअघि नेपाल सन् १९९५ मा साफको नाम साउथ एशियन गोल्डकप रहेको बेला श्रीलङ्कासँग सेमीफाइनलमा अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो ।  सन् १९९९ मा साउथ एशियन फुटवल फेडेरेसन गोल्ड कप नाममा भएको प्रतियोगिताको सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ ले स्तब्ध भएको थियो । सन् २०११ मा नेपाल घरेलु मैदानमा अफगानिस्तानसँग १–० ले पराजित भएपछि फाइनल पुग्न बञ्चित भएको थियो । २०१८ मा  नेपाल माल्दिभ्ससँग सेमीफाइनलमा हारेको थियो । तर यस पटक भने नेपालले सेमिफाइनलको चुनौती पार गरेको छ ।

रोहित म्यान अफ द म्याच
महत्वपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिमका स्टार स्ट्राइकर रोहित चन्दले उत्कृष्ट प्रदर्शन गरे । गोलका केही अवसर गुमाएका रोहितले बंगलादेश विरुद्ध मिडफिल्डको जिम्मेवारी सम्हाले । आफ्नो भूमिकामा न्याय गरेका उनी म्यान अफ द म्याच चुनिए । खेलपछि रोहितले कठिन प्रतिस्पर्धा भएको उल्लेख गरे । इतिहासकै पहिलो फाइनल पुग्दाको खुशीलाइ अनुभव गरिरहेको उनको भनाइ थियो  । फाइनल जिते नेपाली फुटबलमा परिवर्तन आउने रोहितको विश्वास छ ।   राष्ट्रिय टिमबाट रोहितको यो  ७३ औं खेल हो ।  जुन  पुर्व कप्तान विराज महर्जन संग बरारी पनि हो, सर्वाधिक क्याप जित्ने खेलाडीको कीर्तिमान भने कप्तान किरण चेम्जोङको नाममा छ । उनले ७८ औं क्याप जितेका छन् । 
अब नेपालको भेट भारतसँग

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले चीर प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । घरेलु टोली तथा साविक विजेता माल्दिभ्सलाई तीन एक गोलले पराजित गर्दै भारतले नेपालसँगको भेट पक्का गर्यो । भारतका लागि ३३ औं मिनेटमा मनवीर सिंहले गोल गरेका थिए । ४५ आंैं मिनेटमा माल्दिभ्सका  अलि अस्फाकले बराबरी गोल फर्काए । तर दोस्रो हाफमा भारतीय कप्तान सुनिल क्षेत्रीले माल्दिभससँगको दुरी तीन एकमा पुर्याए । उनले ६२ र ७१ औं मिनेटमा गोल गरेका थिए । भारत साफको सर्वाधिक सफल टोली हो । उसले अहिलेसम्म सात पटक उपाधि जितिसकेको छ ।  दक्षिण एशियाली क्षेत्रका दुई  परिचित प्रतिद्वन्द्वी नेपाल र भारत २८ वर्षमा पहिलो पटक साफको उपाधिका लागि भिड्दैछन् । जारी प्रतियोगिताको लिग चरणमा नेपाल भारतसँग एक शून्यले पराजित भएको थियो । फाइनल शनिबार हुनेछ ।  

प्रशिक्षक अब्दुल्लाहले पद छाड्ने
नेपाल  साफ इहितसमानै पहिलो पटक उपाधि नजिक पुगेको खुशीयाली मनाइरहेका समर्थक एक्कासी निराश भए । जब नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफको फाइनल खेलपछि पद त्याग्ने घोषणा गरे । बंगलादेशसँग एक एक गोलको बराबरी पछिको पत्रकार सम्मेलनमा अल्मुताइरीले साफको फाइनल खेल नेपाली प्रशिक्षकका रुपमा अन्तिम हुने बताएका हुन् । उनले माल्दिभ्सबाट नेपाल नफर्कि सिधै आफ्नो घर कुवेत जाने बताएका छन् । पत्रकार सम्मेलनमा उनी आक्रमक रुपमा प्रस्तुत भएका थिए । अब्दुल्लाहले नेपाली संचार माध्यमको पनि आलोचना गरे । विगत केही दिनदेखि राम्रोसँग नखाएको, नसुतेको र तनावमा विताएको उनको भनाइ थियो । नेपालको जितमा अत्यन्त खुशी भएको प्रतिकृया दिए । अब्दुल्लाहले यसअघिनै पदबाट राजीनामा दिइसकेको पनि  बताए । गत साउनमा सामाजिक संजालमा एन्फा उपाध्यक्ष पंकज नेम्वाङले काम गर्न गाह्रो बनाएको भन्दै राजीनामा दिने घोषणा गरेका थिए । त्यसपछि अब्दुल्लाह र एन्फा पदाधिकारी बीचको विवाद सतहमा आएको थियो । उनको नेतृत्वमा नेपालले साफमा पहिलो पटक फाइनलमा स्थान बनाइसकेको छ ।  अखिल नेपाल फुटवल संघ एन्फाले गत बैशाखमा कतार फुटवल संघ संगको सहकार्यमा अब्दुल्लाहसँग एक वर्षका लागि सम्झौता गरेको थियो । सामाजिक संजालमा सक्रिय अब्दुल्लाह नेपाली समर्थक माझ लोकप्रिय छन् । 
 

ताजा खबर