डुुंगा चढ्दै, चरा हेर्दै टिकटक बनाउन जगदीशपुर ताल 

२०७८ असोज २८ बिहीबार ०९:४४:०० मा प्रकाशित

कपिलवस्तु । नहरको ढिकमा ध्यानमग्न बडेमानको बकुल्लोले हेर्दाहेर्दै दरिलै आहारा फेला पार्यो । उसले आफ्नो लामचुच्चे मुखमा एउटा ठूलै माछा सनासोले झैं च्याप्यो र पलभरमै निल्यो ।  नवरथाको सप्तमीमा ध्यानको स्वाङ रचेको कपटी बकुल्लोले झुक्याएर माछोलाई आफ्नो जालमा पार्यो र मजैले ‘दशैं’ मनायो । 
जुन माछोलाई बकुल्लोले निलेको थियो, त्यो माछोले सायद केहीबेरअघिसम्म नहरका भुरा माछा निलेको हुनसक्छ । ती भुरा माछा चाहिँ सायद हरित लेउ र पानी खाएर बाँचिरहेका थिए । अनि लेउ चाहिँ नहरमा तैरिरहेका थिए । र, नहरमा जल ल्याइएको थियो, जगदीशपुर तालबाट । 

कपिलवस्तुु नगरपालिका–९ स्थित जगदीशपुर सीमसार क्षेत्रमा बकुल्लाको हकमा मात्र हैन, हरेक पंक्षी, जलचर, उभयचर र बनस्पतीबीच अस्तीत्वको यस्तै संघर्ष या समन्वय छ । इकोसिस्टम यसैगरी चलिरहेको छ । ‘उ कत्रो सर्प, धामन हो क्यार’, खेतमा सुलुलुुलु हिँडिरहेको हल्का पहेंलो रङको सर्प देखाउँदै एकजना बटुुवाले भने । 
हो त, लामै रहेछ । हेर्दैै डरलाग्दो । तर त्यो र्याट स्नेकले सितिमिति डसीहाल्दैन र डसे पनि विष लाग्दैन । ‘नन भेनमस’ त्यो सर्प धान खेतमा मुसा खोज्न आएको हो । यो पनि इकोसिस्टम अन्तर्गतकै एक दृश्य हो । 

धानका बालामा पुष्ट दाना लागिसकेका छन् । मुसाहरुले खेतका आली र बीचबीचमा दुला पार्न थालेका छन् । धानका बाला दुलोमा लुकाउने र ढाडे ज्यान पारुन्जेल खाने उनीहरुको सिजन पनि सुरु भइसकेको छ । सर्प परे अन्नरक्षक हाम्रा पुजनीय । ति मुसामाथि धावा बोल्न सर्प पनि धान खेततिरै जाने मौसम पनि सुरु भइसकेको छ । 
आकाश, धर्ती, ताल, नहर, खेत, खलिहान, वृक्ष, मानव र समग्र प्राणीको आपसी निर्भरताको पूर्ण बोध हुन्छ, सीमसार क्षेत्रमा पुग्दा । 

चारै दिशा क्षितिजसम्म ओछ्याइएको हरियो र पहेंलो रङ मिश्रित गलैचा झैं देखिने धानको फाँट । बीचमा सोझो रेखा झैं बगिरहेको नहर छिचोल्दै दक्षिणतिर लम्कदा मास्क खोलेर सीमसार सुवास नासिकामा हुल्नुको आनन्द शब्दातित छ । कोरोना संक्रमणको त्रासमा मास्कभित्रै गुम्सिएको नाकले मानौं कठोर कारागारबाट मुक्ति पाएको छ । 
जगदीशपुर ताल वरिपरि सुरु भइसकेको चराहरुको चहलपहलले मनमा अलौकिक शान्ति दिन्छ । आध्यात्मिक शान्ति सुनमा सुगन्ध । जुन भूमिबाट राजकुमार सिद्धार्थ गौतम मध्यरातमा पत्नी यशोधरा र पुत्र राहुललाई छाडेर ज्ञानको खोजीमा निस्किए, त्यो भूमिमा अव्यक्त ओज महसुस हुन्छ । 

राजकुुमार गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबार नजिकैको यो प्राकृतिक बहुुआयामले भरिएको क्षेत्रमा चरा अवलोकन, नौका विहार र पिकनिकमा रमाउने सिजन सुरु भइसकेको थियो । केही बिद्यार्थी, तिनका अभिभावक र एकाध प्रेम जोडी तालको बीचमा नौका विहार गरिरहेका देखिन्थे । वाणगंगा नगरपालिका–८ चप्परगाउँका कक्षा पाँचमा अध्ययनरत अभिनव पौडेल पनि घुम्न पाउँदा औधि रमाइरहेका थिए । सानैदेखि मोबाइल चलाउन जानिसकेका अभिनव सेल्फी पनि खिच्दै थिए । आफ्नो देशको सम्पदाप्रति यी भावी कर्णधारमा एकखालको उत्साह पनि देखिन्थ्यो । 

‘हामी त देउसी भैलो खेल्ने हो, जगदीशपुरमा आएर पिकनिक मनाउने हो’,  अभिनवले भने, ‘ताल देखिनेगरी टिकटक पनि बनाउने, फेसबुकमा फोटो राख्ने हो ।’
एउटा समूह भर्खर डुुँगाबाट तालको एक फन्को मारेर फर्कियो । एउटा डुंगाको भाडा चार सय रुपैयाँ, जसमा चार जनासम्म चढनसक्छन् र चालिस मिनट घुम्न पाउँछन् । 
अवलोकर्तालाई डुंगा चढाइरहेका थिए, कपिलवस्तु नगरपालिका–९ का कर्मचारी रामबहादुर क्षेत्री । रामबहादुर ताल किनारमा खटिएर नौका विहारको रेखदेख गर्छन्, जो रेड कार्यान्वयन केन्द्रले उपलब्ध गराएको सुरक्षा ज्याकेट नलगाई कसैलाई पनि डुँगामा चढ्न दिदैनन् । 

 

रामबहादुरका अनुसार कात्तिक लागेपछि जगदीशपुर तालमा चराहरुको चीरबीरसँगै अवलोकनकर्ताको कल्याङमल्याङ सुरु हुन्छ । एक सय ५८ हेक्टर क्षेत्रफलमा फैलिएको मानव निर्मित दक्षिण एशियाकै पहिलो अदभूत तालमा जाडो छल्न सात हजार किलोमिटर परबाट सयौं थरी चरा आउँछन् । ‘यो तालमा एक सय १८ भन्दा बढी प्रजातिका चरा देख्न पाइन्छ’, रामबहादुरले भने, ‘अब उनीहरु आउने बेला भो, कात्तिक लागेपछि आउँछन् र फागुनसम्म बसेर फर्कन्छन् ।’

पंक्षी संरक्षण संघको हालसम्मको अध्ययन अनुसार विश्वमै लोप हुने अवस्थामा पुगेका सानो खैरो गिद्ध, सुन गिद्ध र डंगर गिद्ध पनि यहाँ आउँछन् । पेकिंग डग, नील टाउके, माल्टाज, फिस्टा, खट्खटे र विभिन्न जातिका पानी हाँस, सारस, सुनजुरे, भुँडीफोर, ध्यानी बकुल्ला र सेतो गरुड भोजन र विश्रामका लागि यहाँ आउँछन् । साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एसियाका तुर्कमेनिस्तान र कीर्गिस्तानलगायत देशबाट आउने चरा हेर्न चराविद, विद्यार्थी र पक्षीप्रेमीको घुइँचो लाग्छ । यसैकारण सरकारले यसलाई एक सय पर्यटकीय गन्तब्यको सूचीमा राखेको छ । सन् २००३ मा यसलाई विश्व रामसार सूचीमा सूचीकृत गरिसकिएको छ । 

तालमा  अनेकथरी माछा पाइन्छन् । रामबहादुरका अनुसार अचेल तालमा कसैलाई माछा मार्न दिइदैन, ति सबै चराकै आहारा हुन् । ‘यहाँ धेरै ठूला माछा छन् । एक पटक यहाँ ४७ केजीको राहु माछा फेला परेको थियो’, रामबहादुरले भने, ‘यहाँका माछा देश बिदेशबाट घुम्दै आउने चराहरुले नै खान्छन् । उनीहरुकै लागि यहाँ वर्षेनी माछाका हजारौं भुरा छाडिन्छ ।’हरेक वर्ष २० माघमा मनाइने सीमसार दिवसका अवसरमा यो तालमा करीब दश हजार माछाका भुरा छाडने गरिएको रामबहादुरले बताए । 
‘जब यहाँ चराहरुको ताँती लाग्छ, तब  तालका माछा र अन्य किरा फटयांग्रा खाएर उनीहरु रमाउँछन् । हाँसहरुले त किरा मात्र हैन, तालभित्रका कलिला घाँस पनि खाएर सक्छन्’, रामबहादुरले भने । 

तालको जल सतह घटेमा नजिकैका बाणगंगा र कोइली नदीबाट पानी प्रवाह गरिन्छ । नदी र नहर पनि छेउमै भएकाले ताल आसपासको पुरै क्षेत्र सीमसार झैं लाग्छ, जहाँ चारैतिर जैविक ताजगी छ । यही ताजगीको मजा लुटन र चरा अवलोकन गर्न बेलायतबाट चराविद् टोनी मेनबुड पनि यहाँ आएका रहेछन् । तालसम्म पुग्न अचेल पहिला झैं बाटोघाटोको समस्या छैन । सदरमुकाम तौलिहावाबाट ११ किलोमिटर उत्तरमा पर्ने तालसम्म पुग्न पक्की बाटो निर्माण गरिएको छ भने, पूर्व पश्चिम राजमार्गको जीतपुर (चार नम्बर)सम्मै पक्की बाटो तयार छ । चरा अवलोकन गर्न सानो भ्यू टावर पनि बनाइएको छ । ताल वरिपरी फलामे रेलीङले बारेर सुरक्षा प्रवन्ध पनि मिलाइएको छ । 

टिकटक बनाउने, सेल्फी खिच्ने र चरा हेरेर रमाउनेहरुका लागि यो क्षेत्र आकर्षक गन्तब्य बनेको छ । पिकनिक मनाउन आउनेहरु ताल र चराहरुलाई पृष्ठभूमिमा पारेर टिकटक बनाउँछन् र सेल्फी खिच्छन् । जगदीशपुर ताल, नजिकैको तिलौराकोट दरबार र बुद्धको जन्मस्थल लुम्बिनीलाई एउटै प्याकेजमा राखेर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि जगदीशपुर तालमा पर्यटकको चाप अझ बढ्नसक्ने शिक्षक नारायण प्रसाद पौडेलले बताए । 

‘अहिले यो ताल धेरै व्यवस्थित भएको छ । नगरपालिकाले यसका लागि धेरै काम गरेको छ’, शिक्षक पौडेलले भने, ‘यस क्षेत्रमा अग्र्यानिक खालका रिसोर्टहरु खुलेमा विदेशी पर्यटकको ताँती लाग्नसक्छ ।’ ‘उ एउटा माछो पानीमा उफ्रियो’, बुटवलबाट घुम्न आएकी रामकला पन्थीले भनिन्, ‘फोटो खिच्नै पाइएन ।’
माछा उफ्रेको देखेपछि ताल किनारको झाडीमा ढुकेर बसिरहेको बकुल्लो अलर्ट भयो । सायद उसले आफ्नो शिकार भेटेको हुनसक्छ । तर, जब साइबेरीयाबाट हुलका हुल श्वेत पंक्षी आउन थाल्छन्, रैथाने बकुल्लाहरुले पनि साइड लाग्नुपर्छ । अतिथि देवो भवः । 
 

ताजा खबर