काठमाडौंमा ‘होम क्यासिनो’को बिगबिगी

२०७८ असोज २७ बुधबार ११:१३:०० मा प्रकाशित

काठमाडौं । चाडपर्वमा परिवारका सदस्य भेला भएर एक दुई हात तास फिटनु स्वाभाविकै हो । कोही म्यारिज खेल्लान्, कोही फराँस फिटलान् । अनि केटाकेटी जुटपत्तिमा रमाउलान् । 
बसिबियाँलोका लागि आफन्तहरुबीच यसखालको खेल हुनु बेग्लै कुरा, तर यस्ता ठाउँ पनि छन्, जहाँ लाखौं रुपैयाँको खाल जम्छ, दर्जनौं जुवाडेबीच । काठमाडौंमा केही स्थानमा जुवाको ‘मिनी क्यासिनो’ नै चलिरहेको प्रहरीले फेला पारेको छ । नेपाल प्रहरीले गत ७ असोजमा काठमाडौंको मनोहराबाट १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गर्यो । 

कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवाको खाल जमिरहेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १३ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिइएको थियो । 

२ असोजमा पनि काठमाडौंको जोरपाटीबाट चार लाख ७५ हजार नगदसहित २० जुवाडे पक्राउ परेका थिए । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुन्डुपको घरमा जुवा खेल्दै गरेका ति जुवाडेलाई बौद्ध प्रहरीले समातेको थियो ।  

उनीहरूका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १००  कौडासमेत बरामद गरिएको थियो । 
गत साउन २५ मा मध्यबानेश्वुरस्थित रामकृष्ण केसीको घरमा जुवा खेलिरहेको अवस्थामा पेशेवर जुवाडे रंगेहात पक्राउ परे । उनीहरुबाट ४ लाख ४८ हजार नगद बरामद गरिएको थियो । 

काठमाडौंका कतिपय जुवा अड्डा अचेल मिनि क्यासीनोमा परिणत भएको यसबाट स्पष्ट हुन्छ । क्यासिनोमा प्रयोग हुने क्वाइन नै राखेर जम्ने यस्ता जुवाका खालले नेपाली समाजमा जुवाडेहरु बढदैछन् भन्ने देखाउँछ । काठमाडौंको मात्र कुरा हैन यो । केही दिनअघि दाङमा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । घोराही उपमहानगरपालिका– १४ पुरानो बसपार्क स्वर्गद्वारी टोलमा रहेको परसरा नास्ता तथा खाजा घरमा जुवाको खाल  जमीरहेको थियो । 
दमकमा ६ असोजमा ४ लाख नगदसहित १७ जुवाडे प्रहरिको फन्दामा परे । दमक नगरपालिका–१ स्थित हिमाल देवानको घरभत्रि जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए । 

काठमाडौंमा अचेल सबैभन्दा बढी जुवा खेल्ने र खेलाउने ठाउँका रुपमा बौद्ध, थानकोट, लैनचौर आदि क्षेत्र देखिएका छन् । यी स्थानमा गत ११ महिनाको अवधिमा क्रमशः करीब पचास वटा जुवाका खालमा प्रहरीले छापा मारिसकेको देखिन्छ । ११ महिनामा प्रहरीले जुवाको खालबाट मात्रै दुइ करोड रुपैयाँ बरामद गरिसकेको छ, जुन राज्यको ढुकुटीमा गइसकेको छ । 
राजधानीका चक्रपथ आसपासका क्षेत्रमा घर भाडामै लिएर मिनी क्यासिनो शैलीमा जुवा खेल्ने गरेको सूचना पाएपछि प्रहरीले छापा मार्ने अभियान तिब्र पारेको छ । 
मुलुकी अपराध संहितामा जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेहरुलाई जेल सजायको व्यवस्था छ । 

पहिलो पटक जुवा खेल्दा र खेलाउँदा पक्राउ परेमा ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।  दोस्रो पटक जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।  

तेस्रोपटक पनि जुवा खेल्ने र खेलाउने समातिएमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिने व्यवस्था कानुनमा छ । जुवा खेल्नेमात्र नभइ अरुले खेलेको ठाउँमा च्याखे थाप्नेमाथि पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा व्यवस्था छ । 

तैपनि जुवाडेहरुको कुरा अर्कै छ । लुकीछीपी जुवाको खाल जमीरहेकै छ । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरिए पनि जुवाडेहरुले अचेल घरलाई नै क्यासिनो बनाउन थालेका छन् । 
 

ताजा खबर