यस्तो त बन्नेछ काठमाडौँ महानगरपालिकाको प्रशासनिक भवन

२०७८ असोज २५ सोमबार ११:१२:०० मा प्रकाशित

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्यास गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणको शिलान्यास गरेका हुन् । करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न भवन बन्न लागेको हो । काठमाडौँ महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले जानकारी दिएको छ ।

भवन भित्र नेवारी शैलीका चोकहरु रहने बताइएको छ । भवन संरचनामा प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन/कर्मचारी/ आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्याइएको छ ।

विपदको समयमा प्रयोग गर्न सकिने गरि आपतकालीन मार्ग तथा सुरक्षित भर्याङ रहने बताइएको छ । भवनको शिलान्यास गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै महानगरपालिकाका वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै केन्द्रीय भवनको शिलान्यास गरेको बताए ।

महानगरका सेवाग्रहीले सेवा लिने ठाउँ सेवाग्राहीमैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण गरिरहेको जानकारी उनले दिए । महानगरपालिकाको केन्द्रीय कार्यालय रहने भवन ९२ हजार ६८ वर्गफुटको क्षेत्रफलमा रहने छ ।

भवनको जमिन तलादेखि सतौं तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौँ तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै २ वटा हल निर्माण गरिने महानगरपालिकाले बताएको छ । भवन २०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालिले पाएको छ । भवन निर्माणको लागत ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ ।

ताजा खबर