रुपन्देहीको मोतीपुरमा भएको झडपमा चार सर्वसाधारणको मृत्यु

२०७८ असोज २४ आइतबार १९:३९:०० मा प्रकाशित

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परि घाइते भएका चार जना मृत्यु भएको छ । झडपमा परि घाइते भएका चारजनाको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवामा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ ।

बुटवल वडा नम्बर १७ र १८ मा पर्ने मोतीपुर  औद्योगिक क्षेत्रको जग्गा कब्जागरि बसेकाहरुलाई हटाउने क्रममा आइतबार प्रहरीसँग झडप भएको थियो । सोही क्रममा चार सर्वसाधारको मृत्यु भएको मेडिकल कलेजका प्रशासन प्रमुख सुशील गुरुङले जानकारी दिएका छन् ।

उनका अनुसार तीन जनाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको थियो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । उनले भने,‘घाइते भएका ८ जना सर्वसाधारण र ५ जना प्रहरी गरी १३ जनालाई मेडिकल कलेजमा ल्याइएको थियो । ती मध्ये जनाको अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको थियो।’ एकजनाको उपचारको क्रममा मृत्यु भएको हो।’

मृत्यु हुनेमा कपिलवस्तुको वांणगंगाका ४८ वर्षीय रमेश परियार रहेका छन् भने अन्यको पहिचान खुल्न सकेको छैन । घाइतेमध्ये एकजना सर्वसाधारणको अवस्था गम्भीर रहेको छ भने अरु घाइतेहरुको अवस्था सामान्य रहेको गुरुङले जानकारी दिए ।

स्थानीय प्रशासनले भने मृत्यु भएको बारे केही जानकारी दिएको छैन । रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले मृत्यु भएकोबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

ताजा खबर