राजनीतिमा होमिदै बलिउड ‘क्वीन’ कंगना 

२०७८ असोज २४ आइतबार १५:२१:०० मा प्रकाशित

काठमाडौं । ‘पंगा गर्ल’ अभिनेतृ कंगना रनौत राजनीतिमा प्रवेश गर्ने चर्चाले बलिउड गर्माएको छ । अभिनेतृ कंगना केही समय यता जसरी भारतीय जनता पार्टीको पक्षमा खुलेर लागेकी छिन्, त्यसबाट उनको यात्रा अब राजनीतितर्फ नै अग्रसर हुने अडकलबाजी भइरहेको छ ।

भारतीय राजनीतिमा आफ्नो पक्ष बलियो बनाउन दलहरुले सेलीब्रेटी अनुहार अगाडि सार्नु नौलो हैन । अमिताभ बच्चन, सुनील दत्त, सत्रुघ्न सिन्हा, जया पर्दा, जया बच्चनदेखि राज बब्बरसम्मलाई दलहरुले उम्मेदवारका रुपमा अघि सार्दै आएका छन् । पछिल्लो परिदृश्यमा चर्चामा छिन्, कंगना रनौत । 

भारतीय कांग्रेसले चर्चित विद्यार्थी नेता कन्हैयाकुमारलाई पार्टीमा स्वागत गरिरहेकै बेला भारतीय जनता पार्टीले अभिनेतृ कंगनालाई राजनीतिमा अघि बढाउने संभावना देखिन्छ । पटक–पटक राष्ट्रिय चलचित्र पुरस्कार, फिल्म फेयर पुरस्कार र पद्यश्री पुरस्कार पाएकी बलिउडकी ‘क्वीन’ कंगनामा भाजपाको भावी नेतृको छवी देख्ने र चाहनेहरु बढदैछन् । 

कंगनाले हालै मात्र उत्तर प्रदेशका मुख्यमंत्री एवं भाजपाका प्रभावशाली नेता योगी आदित्यनाथलाई भेटेकी छिन् । सो भेटमा योगीले कंगनालाई विभिन्न उपहार पनि दिए । ति उपहारमध्ये एक थियो, अयोध्यामा राम मन्दिर निर्माणका क्रममा उत्खनन हुँदा भेटीएको प्राचीन सिक्का । 

योगीले दिएको सिक्कालाई राजनीतिक बजारमा क्यास गर्ने ताकमा रहेकी कंगनालाई उत्तरप्रदेश सरकारले आफ्नो महत्वाकांक्षी योजना ‘एक जनपद–एक उत्पाद’ को ब्रान्ड एम्बेसडर बनाएको छ । 
कंगनाले योगीको प्रशंसा गर्दै ‘आधुनिक युगका राम’ भनेकी छिन् । महाराष्ट्रमा शिवसेनाको तारो बन्दै आएकी कंगनालाई भाजपाले उच्च सुरक्षा प्रदान गर्दै सम्मान गर्दै आएको छ । 

चुनाव लडने तरखर 

भाजपासँगको यही निकटताका कारण  कंगनाको राजनीतिक यात्रा अब धुमधामका साथ प्रारम्भ हुनै लागेको देखिन्छ । हिमांचल प्रदेशमा हुन गइरहेको उपचुनावमा कंगनालाई उम्मेदवार बनाइने सम्भावना छ । भाजपा साँसद रामस्वरुप शर्माको निधनपछि खाली रहेको मन्डी क्षेत्रको उप चुनावमा सिफारिश गरिएका सम्भावित उम्मेदवारहरुको सूचीमा कंगनाको नाम सबैभन्दा पहिलो नम्बरमा छ । 

कंगना मन्डी जिल्लाकै भांबला गाउँकी हुन् । उनले मनालीमा आफ्नो नयाँ घर पनि बनाएकी छिन्, जुन मन्डी क्षेत्रमै पर्छ । यही कारण मन्डीबाट उनी उम्मेदवार हुने सम्भावना प्रवल छ । यद्यपी कँगनाले यसबारेमा अहिलेसम्म स्पष्ट केही बताएकी छैनन् । 

कंगनाको राजनीतिक संभावनालाई उनको हालै प्रदर्शीत चलचित्र ‘थलाइवी’सँग जोडेर पनि हेर्ने गरिरहेको छ । यो चलचित्र दिवंगत जयललिताको जिवनमा आधारित छ, जसमा जयजलीताको भूमिकामा कंगनाले अभिनय गरेकी छिन् । अभिनेतृको करिअर हुँदै राजनीतिमा होमिएकी जयललिता झैं अभिनेतृ कंगना पनि राजनीतिमा हावी हुने चर्चा यतिबेला उफानमा छ । 

के कंगना राजनीतिमा आउन लागेकी हुन् ? यसबारेमा कंगनाले एक पत्रकार सम्मेलनमा भनिन्, ‘यो सबै जनताको हातमा छ । म नेता बन्नसक्छु कि सक्दीन, त्यो मेरो हातमा छैन । जनताको सहयोगबिना कसैले पनि पंचायतको चुनावसमेत गराउन सक्दैन ।’

जनताले आफुलाई मन पराएमा आफु राजनीतिमा आउनसक्नेतर्फ सँकेत गर्दै कंगनाले भनिन्, ‘म एक राष्ट्रबादी हुँ र देशसँग जोडिएका मुद्दाहरुमा बोल्ने गर्छु । यही कारण मानिसलाई लाग्छ कि म राजनीतिक मुद्दाका बारेमा बोलिरहेको छु । तर म एउटा नेता भएकाले यसो गरिरहेकी हैन, म एक जिम्मेवार नागरिक हुँ, त्यसैले देशका मुद्दामा बोलिरहेकी हुँ ।’

कंगनाले मुख्य अभिनेतृका रुपमा आफ्नै बलबुतामा धेरै चलचित्र हिट गराइन् । उनका पछिल्ला चलचित्रमा लिड हिरोको तुलनामा लिड हिरोइनकै प्रभाव बढी देखिन्छ ।
 
‘जयललिताका बारेमा कसैले सोचेको थिएन कि उनी कुनैदिन राजनेता बन्नेछिन् । तर, उनले राजनीतिक क्षेत्रमा कदम राखीनन् मात्र, आफ्नो क्षमता सावित पनि गरिन्’, कंगनाले भनीन् । 
कंगनाले आफुलाई जिम्मेवार नागरिक बताए पनि उनको निकटता भाजपासँग बढी छ । बेलाबेलामा महाराष्ट्रको शिवसेनाको पनि आलोचना गर्न पछि नपर्ने कंगनाले अभिनेता शुसान्त सिंह राजपुतको रहष्यमय आत्महत्याबारे खुलेर बलिउडको मुलधारलाई जिम्मेवार बताइन् । बलिउडका नाम चलेका कलाकारको उनले धज्जी उडाइनन् मात्र, नेपोटिज्म (परिवारबाद)को जमेर आलोचना गरिन् ।  

प्रधानमन्त्री नरेन्द्र मोदी पक्षधर टेलिभिजन च्यानल ‘रिपब्लिक भारत’ र त्यसका पत्रकार अर्नव गोस्वामीले शिवसेनाको धुवाँधार विरोध गर्न कंगनालाई बारम्बार अवसर दिइरहे । कंगनाले भाजपाले बोकेको राजनीतिक धार र दर्शनको पक्षमा आफुलाई उभ्याएकै कारण आगामी दिनमा उनी भाजपामार्फत ‘जयललिता पथ’मा लाग्नसक्ने संभावना औंल्याइएको  छ । 

भाजपाप्रति उनको लगाव कुन हदसम्म छ भने, हालै भाजपाले  बंगालमा चुनाव हार्दा कंगनाको चित्त दुख्यो र त्यो छताछुल्ल भयो । उनले क्रोधित हुँदै टवीटरमार्फत ममता बनर्जीको उछित्तो नै काढिन् । बंगालमा बहुमतको सरकार बनाउन ममता सफल भएपछि कंगनाले टवीटरमा लेखिन्, ‘बंगलादेशी र रोहिंग्या ममताका सबैभन्दा ठूलो बल हो । अब त यस्तै लाग्दैछ कि त्यहाँ बहुमतमा हिन्दु बाँकी छैनन्, तथ्यांकका अनुसार बंगाली मुस्लीम भारतमा सबैभन्दा धेरै गरीब र बंचीत छन्, जसको फाइदा ममता लिइरहेकी छिन् । ठिकै छ, अब अर्को एउटा काश्मीर बन्दैछ ।’ 

कंगनाको योे टवीट रातारात भाइरल भयो । उनको विरोधमा अनेक आपत्तिजनक टिप्पणीहरु आए । आपत्तिजनक टिप्पणीलाई ध्यानमा राखेर टवीटरले कंगनाको अकाउन्ट चौबिस घन्टासम्म सस्पेन्ड गरिदियो । 

‘सीता’को भूमिकामा

कंगना रनौतले भाजपामार्फत राजनीतिक यात्रालाई सहज बनाउन हिन्दुत्वको आड लिने तरखर गर्दैछिन् । ‘थलाइवी’मा जयललिताको भूमिका निर्वाह गरेकी कंगनाले अब एपिक ड्रामा ‘द इनकार्नेशन–सीता’मा सीताको मुख्य भूमिकामा अभिनय गर्दैछिन् । 

‘सीता’को मुख्य भूमिकाले कंगनाको छवी अझ उच्च बनाउने अनुमान गरिएको छ । यो चलचित्र पाँच भाषामा रिलिज हुनेछ । कंगना रनौतले इन्स्टाग्राममार्फत आफु सीताको भूमिकामा देखिने बताइसकेकी छिन् । 

निर्माता सलोनी शर्माले भनेका छन्, ‘कंगनामा असली भारतीय महिलामा हुनुपर्ने सबै गुण छन् । निडर, बहादुर र निर्भिक ।  हामीले उनका सबै गुणलाई सीताको भूमिकामा चलचित्रमा उतार्न लागेका हौं ।’

यसअघि रामानन्द सागरको टेलिश्रृंखला ‘रामायण’मा सीताको भूमिका निर्वाह गरेकी अभिनेतृ दिपीका पनि भाजपामार्फत राजनीतिमा आएर साँसद नै बनिन् । हिन्दु बहुल भारतमा सीतालाई ‘माता’का रुपमा सम्मान गर्ने गरिन्छ । 

यही कारण सीताको भूमिकामा चलचित्रमा अभिनय गर्नेको समेत भारतीय समाजले सम्मान गर्दै आएको छ । कंगनाको ‘सीता अवतार’को ध्येय पनि यही हुनसक्ने अडकल काटिएको छ । भाजपाले कंगनालाई पंगा गर्ल हैन, ‘सीता माता’कै रुपमा अघि सारेमा आश्चर्य नमान्दा हुन्छ । 

ताजा खबर