राष्ट्रिय फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासललाई

२०७८ असोज २२ शुक्रबार २०:०१:०० मा प्रकाशित

काठमाडौं । पहिलो संस्करणको ए डिभिजन राष्ट्रिय फुटसल लिगको उपाधि स्पोर्टस क्यासल पोखराले जितेको छ । शुक्रबार भएको फाइनलमा स्पोर्टस क्यासलले  शंखमुल क्लब काठमान्डौलाइ ४–२ गोलले पराजित गरेको हो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा  घरेलु टोलीलाई च्याम्पियन बनाउने क्रममा किशोर गुरुङले ह्याट्रिक गरे । खेल सुरु भएको छैटौ मिनेटमा विजय गुरुङले गोल गर्दै स्पोर्टस क्यासललाइ अग्रता दिलाएका थिए ।

घरेलु दर्शकको बलियो साथ पाएको स्पोर्टस क्यासल विरुद्ध शंखमुलले एघारौ मिनेटमा बराबरी गोल फर्कायो । उसका लागि लक्ष्मण थापा मगरले गोल गरेका थिए  । रोमान्चक र प्रतिस्पर्धात्मक बनेको खेलको २० र २१ औं मिनेटमा किशोरले गोल गर्दै क्यासललाई तीन एकले अघि बढाएका थिए । २३ औं मिनेटमा मनि लामाले गोल गर्दै  शंखमुललाइ खेलमा फर्काउने प्रयास गरेका थिए  ।

तर ३९ औं मिनेटमा किशोरले ह्याट्रिक पुरा गर्दा स्पोटर्स क्यासल पहिलो संस्करणको ए  डिभिजन राष्ट्रिय फुटसल लिग च्याम्पियन बन्यो । उपाधिसंगै स्पोर्टस क्यासलले दश लाख पुरस्कार प्राप्त गर्यो । दोस्रो भएको शंखमुलले ५ लाख हात पार्यो । व्यक्तिगत विधातर्फ शंखमुलका मनि लामा उत्कृष्ट ए एल ए, फुटसल फाइभका विजय श्रेष्ठ उत्कृष्ट फिक्सो, उत्कृष्ट गोलकिपर शंखमुलका अनिस श्रेष्ठ र स्पोर्टस क्यासलका विष्णु गुरुङ उत्न्कृष्ट प्रशिक्षक घोषित भए ।

स्पोर्टस क्यासलका सुमित श्रेष्ठ इमर्जिङ प्लेर चुनिए ।  अखिल नेपाल फुटबल संघले पहिलो पटक आयोजना गरेको ए डिभिजन फुटसल लिग फिफाको मापदन्ड अनुसार आयोजना गरिएको थियो । असोज २ गतेदेखि सुरु भएको प्रतिस्पर्धामा दश टिम सहभागी भएका थिए । झरना स्पोर्टस र लुम्बिनी फुटसल रेलिगेशनमा परे ।
 

ताजा खबर