अर्जेन्टिना पाराग्वेसँग गोलरहित बराबरीमा

२०७८ असोज २२ शुक्रबार १६:५१:०० मा प्रकाशित

विश्वक कप छनोट खेलमा लियोनल मेसीको अर्जेन्टिना पाराग्वेसँग गोल रहित बराबरीमा रोकिएको छ । शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले खेल आफ्नो नियन्त्रणमा राखेपनि डेडलक तोड्न सकेन ।

अर्जेन्टिनाले खेल अवधिभर ७० प्रतिशत भन्दा बढी बल पोसेसन राखेको थियो ।  स्ट्राइकर लौतारो मार्टिनेज विनाको  पाहुना टोली अर्जेन्टिनाले पहिलो हाफमा गोल गर्ने अवसरको सदुपयोग गर्न सकेन । मेसीलाई पनि  पाराग्वेको डिफेन्सले सफल हुन दिएनन् । दोस्रो हाफमा घरेलु टिमले सुधारिएको प्रदर्शन गरेको थियो । अर्जेन्टाइन प्रशिक्षक लियोनल स्कोलानीले दोस्रो हाफमा ५ परिवर्तन गरेका थिए ।

यसका बाबजुत गोल भने भएन । अर्जेन्टिना सन् २०१९, जुन यता पहिलो पटक गोल गर्न असफल भएको हो । तर उसले आफ्नो अपराजित यात्रालाई भने कायमै राख्यो  । अर्जेन्टिनाले पछिल्ला २३ खेल यता हार बेहोरेको छैन । तालिकाको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ९ खेलबाट १९ अंक  छ ।  

एक खेल बढी खेलेको पाराग्वे १२ अंक जोड्दै तालिकाको छैटौ स्थानमा छ ।  इक्वेडर बोलिभियालाई तीन शून्य गोलले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । उरुग्वेले कोलम्बियासँग एक एक गोलको बराबरी खेल्यो । तेस्रो स्थानको इक्वेडर र चौथो स्थानको उरुग्वेको दश खेलबाट समान १६–१६ अंक  छ ।

पेरुले चिलि माथि दुई शून्यको जित निकाल्यो । कोलम्बिया पाँचौं, पेरु सातौं, चिली आठौं र बोलिभिया नवौं स्थानमा छ । भेनुजुएला पुच्छारमा छ । दश टिम सहभागी दक्षिण अमेरिकी छनोट खेलका शीर्ष चारमा रहने देशले सन २०२२ को कतार विश्वकपमा स्थान बनाउनेछन् । पाँचौ हुने टिमले प्ले अफ खेल्ने मौका पाउनेछ ।  

ताजा खबर