फ्रान्स नेशन्स लिगको फाइनलमा प्रवेश

२०७८ असोज २२ शुक्रबार १२:१०:०० मा प्रकाशित

फ्रान्स, बेल्जियमलाई तीन दुई गोलले स्तब्ध पार्दै नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बेल्जियमले दुई शून्यको अग्रता जोगाउन नसक्दा फ्रान्सले उत्कृष्ट पुनरागमन गर्यो । फ्रान्सको जीतमा थियो हर्नान्डेजले निर्णायक गोल गरे ।

इटालीमा गएराति भएको खेलमा, बेल्जियमले पहिलो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गरेको थियो ।  केभिन डि ब्रुयनाको प्रहारलाइ फ्रेन्च गोलकिपर ह्युगो लोरिसले उत्कृष्ट बचाउ गरेपछि बेल्जियम सुरुवातमै अग्रता लिनबाट चुकेको थियो ।

३७ औं मिनेटमा यानिक कारास्कोले गोल गरेपछि फ्रान्स एक शून्यले पछि पर्यो । ४० औं मिनेटमा रोमेलु लुकाकुले अग्रता दोब्बर बनाए । दुवै गोलका लागि डि ब्रुयनाले सहयोग गरेका थिए । लुकाकुको राष्ट्रिय टिमबाट १ सय १ खेलमा यो ६८ औं गो हो ।  तर उनको गोल बेल्जियमको जितमा सहयोगी भएन । दोस्रो हाफमा फ्रान्स फरक रुपमा प्रस्तुत भयो । पल पोग्बा र एन्टोइन ग्रिजमनले अवसरको सदुपयोग गर्न सकेका थिएनन् ।

तर करिम बेन्जिमाले विना कुनै गल्ती किलियन एम्बाप्पेको क्रसलाई गोलमा परिणत गर्दै  फ्रान्सलाई खेलमा फर्काए । ६९ औं मिनेटमा एम्बाप्पेले पेनाल्टिमा गोल गर्दै खेल दुई दुईको रोमान्चक मोडमा पुर्याएका थिए । राष्ट्रिय टिमबाट एम्बाप्पेको यो ५० औं खेल हो  ।  

२२ वर्ष २ सय ९१ दिनका एम्बाप्पे फ्रान्सका लागि ५० औं क्याप जित्ने अहिलेसम्मका सवैभन्दा कान्छा खेलाडी हुन् । खेल सकिन तीन मिनेट बाँकी हुँदा लुकाकुले गरेको गोललाई  भिडियो एसिस्टेन्ट रेफ्रिले अफसाइड दियो ।

९० औं मिनेटमा हर्नान्डेजले  राष्ट्रिय टिमबाट पहिलो गोल गरेपछि फ्रान्सले तीन दुईको जित हात पार्यो । यो खेलमा थियो  र लुकास दुई हर्नान्डेज दाजुभाइ मैदान उत्रिएका थिए । १९७४ यता फ्रान्स टिमबाट दाजुभाइ  पहिलो पटक खेलेका हुन् ।

हारसँगै गोल्डेन जेनेरेशन मानिएको बेल्जियमको टोली फेरि एक पटक असफल भयो । प्रशिक्षक रोबर्टो मार्टिनेजले दोस्रो हाफमा खेलाडी अलि बढी भावनामा बगेको प्रतिक्रिया दिए । फाइनलको कल्पना गर्दा खेल हातबाट फुस्किएको उनको भनाइ छ । तीन वर्षदेखि फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियम उपाधिविहीन छ । सन् २०१८ को विश्वकप सेमीफाइनलमा पनि बेल्जियम फ्रान्ससँगै पराजित भएको थियो ।

फ्रान्सका गोलकिपर  लोरिसले यो खेल बक्सिङ जस्तै भएको उल्लेख गरे । मानसिक रुपमा वलियो हुँदा दुई शून्यले पछि परेको अवस्थाबाट पुनरागमन गर्न सफल भएको उनको भनाइ थियो । फ्रान्सले उपाधिका लागि ११ अक्टोबरमा स्पेनसँग खेल्नेछ । स्पेन, इटालीलाई पराजित गर्दै  उपाधि नजिक पुगेको हो ।  


 

ताजा खबर