उपासना सहकारी संस्थाको कार्यालय उद्घाटन, उत्पादनमुलक आयबाट रोजगारी सिर्जनाको योजना

२०७८ असोज २२ शुक्रबार ०९:०४:०० मा प्रकाशित

काठमाडौं । समाजमा अनुत्पादक रुपमा छरिएर रहेका स–साना पुँजीलाई संकलन गरी कृषि, शिक्षा, स्वास्थ्य, व्यवसाय र उर्जालगायतका उत्पादनशील क्षेत्रमा लगानी गरि रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ स्थापित ‘उपासना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ले चावहिलमा आफ्नो कार्यालय स्थापना गरेको छ । 

घटस्थापनाकै साइत पारेर कार्यालय उद्घाटन र प्रथम साधारण सभाको उद्घाटनका अवसरमा उपासना सहकारीले सम्पूर्ण सेयर सदस्यलाई आयमुलक उत्पादनशील र स्वरोजगार बनाइ उनीहरुको आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिक विकासमा योगदान पुर्याउने संकल्प पनि गरेको छ । 

दुबै कार्यक्रमको उदघाटन गर्दै पूर्व उद्योग, वाणिज्य तथा आपूर्ती राज्यमन्त्री एवं उद्यमी डा. राजेशकाजी श्रेष्ठले सहकारी संस्थाहरुले इमान्दारिता, दक्ष जनशक्ति र बहुआयामिक लगानीमा जोड दिनसके सा–साना पुँजीबाट देशको अर्थतन्त्रमा दरिलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।  

पूर्वमन्त्री डा. श्रेष्ठले विधि, पद्धतिलाई आत्मसात गर्दै इमान्दारिता र दक्ष जनशक्तिका बलमा उपासना सहकारी संस्थाले वित्तिय क्षेत्रमा फड्को मार्नेमा आफु विश्वस्त रहेको बताए ।  

राणा कालमा ढुकुटी, गुठी, पैंचो, धर्म भकारी आदिबाट सुरु भएको सानो पुँजी परिचालनको परम्पराले विसं २०१३ चैत्र २० मा चितवनबाट सहकारीको रुप लिएको चर्चा गर्दै डा. श्रेष्ठले सहकारीले हाल देशको कुल गार्हस्थ उत्पादनमै ४ प्रतिशत योगदान दिएको बताए । 

‘सरकारको तिनखम्बे नीतिमा सहकारी पनि एक खम्बा हो । सहकारीले देशको अर्थतन्त्रमै टेवा दिएको छ । आफु स्वच्छ भएमा सबै स्वच्छ हुन्छन् भन्ने मर्मका साथ काम गरेमा सहकारीमा सफल हुन सकिन्छ’, उनले  भने । 

शुभकामना मन्तब्य दिदै ओम अस्पतालका अध्यक्ष एवं वरिष्ठ न्यूरोलोजिस्ट डा. आनन्द श्रेष्ठले उपासना सहकारीको प्रभावशाली, प्रतिभाशाली, इमान्दार र लगनशील नेतृत्वले संस्थालाई उचाईमा पु¥याउने विश्वास गर्र्दै उपासना सहकारीमा सहभागि हुन पाउँदा आफु गौरवान्वित भएको बताए । 

‘बैंकमा पहुँच नहुनेहरुका लागि सहकारी नै पहुँचको बित्तिय संस्था हो’, डा. श्रेष्ठले भने, ‘बोर्ड डाइरेक्टर, अध्यक्ष र कर्मचारीमा आर्थिक अनुशासन भएन र उनीहरु निजी स्वार्थमा लागेमा संस्था डुब्छ, तर इमान्दार भएको खण्डमा कुनै पनि सहकारी डुब्दैन ।’

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष एवं मोबाइल आयात संघका अध्यक्ष दिपक मलहोत्राले सहकारी संस्थाहरुले नेपाल चेम्बर अफ कमर्शसँग सहकार्य गर्नुपर्ने सल्लाह दिदै चेम्बरको सिफारिशमा बिना धितो ऋण प्रवाह गर्न सकेमा सदस्य संख्या बढाउन सकिने बताए । 

ऋण लिने र दिनेबाहेक विभिन्न आय मुलुक क्षेत्रमा लगानी गर्दै सहकारी संस्थाहरुले आफुलाई सबल बनाउनसक्ने बताउँदै मलहोत्राले यदाकदा देखिने बढी व्याज र सेवा शुल्क लिने प्रवृत्ति हटाउँदै सहकारीलाई अझ विश्वसनिय बनाउँदै लैजानुपर्ने सुझाव दिए । 

नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरीले देशको अन्यौलग्रस्त र दिशाहीन अवस्थामा समाजको सीप, दक्षता र पूँजीलाई एकत्रित गरी उत्पादन, आय आर्जन र समग्र देशकै आर्थिक विकासमा सहकारी संस्थाहरुको ठूलो योगदान हुने बताए । 

उपासना सहकारीले समाजका विभिन्न पृष्ठभूमिका व्यक्तिलाई समेटेर अनुकरणीय कार्य गरेको बताउँदै पत्रकार निष्ठुरीले भने, ‘अब एक्लै हिंडने जमाना छैन, संस्थागत यात्रा गर्नुपर्छ । सामूहिक यात्रा गरेमा कोही पछि पर्दैन, सबै अघि बढिन्छ र यसबाट रोजगारी सिर्जना भइ देशको अर्थतन्त्रमै टेवा पुग्छ ।’

ओम अस्पतालका डाइरेक्टर एवं समाजसेवी टंकबहादुर श्रेष्ठले सहकारीले नीति, नियम र धितो अनुसार काम गरेमा बचतकर्ताको पुँजी पलायन नहुने बताउँदै केही संस्थाबाट भएका गलत व्यवहारका कारण बहुुसंख्यक असल संस्थालाई पनि नकारात्मक ढंगले हेर्ने गरिएको बताए । 

उपासना सहकारी संस्थाका अध्यक्ष रोशन भयद्योले ६७ जना सदस्यबाट २०७७ चैत्र १९ मा स्थापना भएको उपासना सहकारी संस्थाले चालु आर्थिक वर्षसम्म ५०० सदस्य पुर्याउने लक्ष्य राखेको जानकारी दिए । 

५ लाख ९२ हजार बचतबाट सुरु भएको सहकारीलाई अब  ७ करोडसम्म पुर्याउने योजना रहेको बताउँदै अध्यक्ष भयद्योले बचतका साथै कृषि, स्वास्थ्य, शिक्षा, व्यवसाय आदि विभिन्न क्षेत्रमा लगानी गर्दै रोजगारी सिर्जना गर्न आफुहरु कटिबद्ध रहेको बताए ।

 

सानीमा बैंक, महाराजगंज शाखाका प्रमुख सुविन जोन्छेले दक्ष जनशक्ति भएमा सहकारीले फड्को मार्नसक्ने भएकाले जनशक्तिलाई उचित तालिम दिनुपर्ने सल्लाह दिए । 

बाँसुरीको धुनमा राष्ट्रिय गानबाट प्रारम्भ गरिएको कार्यक्रममा कलाकारहरु रोशिका जलारी र रोशिक जलारीले महिषासुर बधमा आधारित आकर्षक देवी नाच प्रस्तुत गरेका थिए । 

ताजा खबर