भैहरवा इपिएलको क्वालिफायरमा प्रवेश

२०७८ असोज २१ बिहीबार १२:०८:०० मा प्रकाशित

काठमाडौं । भैहरवा ग्लेडियटर्स एलिमिनेटरमा काठमाडौं किंस इलेभेनलाई १६ रनले पराजित गर्दै एभरेस्ट प्रिमियर लिग इपिएलको क्वालिफायरमा प्रवेश गरेको छ ।  अब भैहरवाले फाइनल प्रवेशका लागि भोलि हुने दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।  

पोखरा आज भएको पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग पराजित भएको हो । टियु मैदानमा टस जितेर ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ८८ रनको योगफल बनाएको थियो । ओपनर तमिम इकबाल ९ रनमानै आउट भएका थिए ।

तर दोस्रो विकेटका लागि प्रदीप ऐरी र उपुल थरंगाले ६४ रनको साझेदारी गरे । प्रदीप ३९ र थरंगा ३५ रनका आउट भए । त्यसपछि शरद भेषावकरको टोली भैरहवाले लगत्तै अर्को विकेट गुमायो ।  रोहित पौडेल मात्र एक रनमा  मैदान बाहिरिए । ९५ रन , ४ विकेटको स्थितीमा रहेको भैरहवाको पारीलाइ कप्तान भेषावकर र कुशल मल्लले सम्हाले । शरदले २० वलमा ४९ रनको योगदान गरे । अर्धशतक बनाउन एक रनले चुकेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

उनी सन्दीप लामिछानेको वलमा अमर सिंह रौटेलाको वलमा क्याच आउट भएपछि इपिएल इतिहासमा सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडीको किर्तिमान बनाउनबाट रोकिएका थिए । कुशलले ३२ रनको योगदान गरे । आरिफ शेखले १५ रन जोडे । संदिप र आसन प्रियनजनले २–२ विकेट लिए । शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले एक एक विकेट लिए । जवाफमा काठमाडौंले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ७२ रन मात्र बनाउन सक्यो ।

प्रियनजनले ६८ रनको पारी खेलेपनि जितका लागि पर्याप्त भएन । जनक प्रकाशले २८, अमित श्रेष्ठले १९, दिनेश अधिकारीले १५,  राजु रिजालले १० र कप्तान संदिपले ६ रन बनाए । धाम्मिका प्रसाद, कुशल र आरिफले २–२ विकेट लिए । दुर्गेश गुप्ताको नाममा एक विकेट रह्यो । हारसँगै काठमाडौंको यो सिजनको इपिएल यात्रा टुंगिएको छ । 


 

ताजा खबर