इटलीको अपराजित यात्रामा पूर्णविराम
इटालीको विश्व कीर्तिमानी ३७ खेल देखिको अपराजित यात्रामा स्पेनले पूर्णविराम लगाइदिएको छ । गएराति भएको नेशन्स लिगको सेमीफाइनलमा स्पेनले दश खेलाडीमा समेटिएको इटालीलाई दुई एक गोलले पराजित गर्दै फाइनलमा स्थान बनायो ।
मिलान स्थित सान सिरो स्टेडियममा युरोपियन च्याम्पियन इटालीले राम्रो सुरुवात गरेपनि स्पेनले १७ औं मिनेटमा अग्रता लिएको थियो । मिकेल ओज्यासाबाको क्रसमा फरान टोरेसले गोल गरेका थिए । ४२ औं मिनेटमा कप्तान लियोनार्दो बनुची दोहोरो पंहेलो कार्ड पाउदै मैदान बाहिरिएपछि इटाली दश खेलाडीमा झर्यो ।
त्यसपछि थप दवावमा आएको इटालीविरुद्ध स्पेनले फाइदा लियो । पहिलो हाफको इन्जुरी समयमा टोरेसले व्यक्तिगत र टिमका लागि दोस्रो गोल थपे । यो पटक पनि ओज्यासाबालेनै सहयोग गरेका थिए । सन् २०२० सेप्टेम्बर एक यता टोरेसले स्पेनका लागि ११ गोल गरिसकेका छन ।
८३ औं मिनेटमा फेड्रिको कियजाको पासमा लोरेन्जो पेलिग्रिनीले गोल गरेपनि इटालीको जितका लागि पर्याप्त भएन । योसँगै इटालीको अपराजित यात्रा रोकिएको छ । सन् २०१८ सेप्टेम्बर दशमा नेशन्स लिग अन्तर्गतनै पोर्चुगलसँग हार बेहोरेयता इटाली अपराजित रहँदै आएको थियो ।
यो बीचमा इटालीले २८ खेलमा जित र नौ मा बराबरीको नतिजा निकाल्यो । ९३ गोल गर्दा मात्र १२ गोल खाएको थियो । स्पेनले युरोकपको सेमीफाइनलमा बेहोरेको हारको बदला पनि लियो । उत्कृष्ट प्रदर्शन गरेपनि स्पेनले इटालीसँग पेनाल्टीमा हार बेहोरेको थियो ।
इटालीले घरेलु मैदानमा १९९९ यता प्रतिस्पर्धात्मक खेलमा पहिलो पटक हार बेहोरेको हो । यो खेल भन्दा अघि सम्म इटालीले पछिल्ला ४० खेलमा एक भन्दा बढी गोल खाएको थिएन । यसैबीच स्पेनका पाब्लो गाभिरा (गाभी ) राष्ट्रिय टिमबाट खेल्ने सवैभन्दा कान्छा खेलाडी बनेका छन ।
गएराति इटाली विरुद्ध सुरुवाती एघारमा रहदै मैदान उत्रिएपछि गाभी स्पेनबाट खेल्ने कान्छा खेलाडी बनेका हुन् । १७ वर्ष ६२ दिनका गाभी बार्सीलोना क्लबबाट डेब्यु गरेको ६ साता भन्दा कम समयमा राष्ट्रिय टिमको जर्सीमा मैदान उत्रिएका हुन् । यसअघि १९३६ मा एन्जल जुबेटा स्पेन बाट खेल्ने सवैभन्दा कान्छो उमेरका खेलाडी थिए । उनले १७ वर्ष २ सय ४८ दिनको कीर्तिमान बनाएका थिए ।