काभ्रेमा छोरी जन्माउने १४ आमा सम्मानित 

२०७८ असोज २१ बिहीबार ०९:२५:०० मा प्रकाशित

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । 

गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ । वडा नम्बर ९ को सहयोगमा दाप्चा स्वास्थ्यचौकीले नगरका विभिन्न वडाका सुत्केरी आमालाई सम्मान कार्यक्रम आयोजना गरी नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले सम्मान गर्दै प्रोत्साहन रकम प्रदान गरे । उक्त वडाले केही वर्षदेखि नै दाप्चा स्वास्थ्यचौकीमार्फत छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

कार्यक्रममा सुत्केरी आमालाई छोरी जन्माएबापत वडाबाट प्रदान गरिने पाँच हजार, स्वास्थ्य संस्थामा सुत्केरी भएबापत  दुई हजार, एम्बुलेन्स खर्चबापत  एक हजार ८००, अन्य स्वास्थ्य संस्थामा रिफर भएर जानेलाई थप  दुई हजार र चारपटक गर्भ जाँच गराएबापतको  ८०० रुपैयाँ एकमुष्ट रुपमा प्रदान गरिएको वडाध्यक्ष मेलबहादुर तामाङले जानकारी दिए । 

नगरप्रमुख तिमल्सिनाले नगरपालिकाले सडकलगायत पूर्वाधारमात्रै नभई चेतनाको विकाससमेत अपरिहार्य रहेको तथ्यलाई मध्यनजर गर्दै छोरी प्रोत्साहन, बुहारी सम्मान कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनका अनुसार यस वर्ष महिलाको स्वास्थ्य, शिक्षा र आर्थिक अवस्थालाई मजबुद बनाउन थप नीति तथा कार्यक्रम तय गरिएको छ । नगरको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको, दाप्चा स्वास्थ्यचौकीलाई नगर अस्पतालमा स्तरोन्नति गरिएको तथा नगरमा थप एम्बुलेन्सको व्यवस्था गरिएको उनले जानकारी दिए । 

नगर उपप्रमुख रामदेवी तामाङले नेपाली समाजमा छोरीलाई गर्भदेखि नै विभेद हुँदै आएको जनाउँदै त्यसलाई अन्त्य गर्ने उद्देश्यअनुसार छोरी जन्माउनेलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइएको बताइन् । “छोराको आसमा दुईभन्दा बढी सन्तान नजन्माउनुहोस्, छोरी पनि छोरासरह हुन् भन्ने मानसिकता बनाउनुपर्छ, यस विभेदलाई पूर्णरुपमा अन्त्य गरेपछि मात्रै समुन्नत समाज निर्माण गर्न सकिन्छ”, उनले भनिन् । 

यसैबीच रोशी गाउँपालिकाले सुत्केरी हुन स्वास्थ्य संस्था जाँदा र घर फर्कंदा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाद्वारा बुधबार जारी विज्ञप्तिमा सुत्केरी हुन स्वास्थ्य संस्था जाँदा र घर फर्कंदा एम्बुलेन्सले भाडा लिन नपाउने तथा यदि लिएको पाइए तत्काल कार्यलयमा खबर गर्न अपिल गरिएको छ । 
 

ताजा खबर