'मतदाताले कांग्रेसलाई अस्पताल पुर्याएका छन्'

अहिलेको निर्वाचन परिणामले नेपाली कांग्रेसलाई अस्पतालमा पुर्याएको विश्लेषण झापा–१ बाट नेपाली कांग्रेसको तर्फबाट पराजित उम्मेदवार विश्वप्रकाश शर्माको छ । वर्तमान नेतृत्वले नेपाली कांग्रेसलाई घाटमा पुर्याएको विश्लेषण गरिरहेका बेला युवा नेता शर्माको यस्तो धारणा सार्वजनिक भएको हो । अस्पतालमा रोग पत्ता लगाएर उपचारपछि कांग्रेसले पुनर्जीवन पाउने मात्र होइन, आधुनिक कांग्रेस बनेर निस्कने धारणा नेता शर्माको छ । 

कांग्रेस कहाँ चुक्यो ?

 यो निर्वाचनमा कांग्रेसको एेतिहासिक रुपमै कम मत परिणाम आयो । यो प्रकारको घटना हुने निश्चितै थियो । स्थानीय निर्वाचनको पहिलो ठूलो दल र तेस्रो ठूलो दल एक ठाउँमा उभिएपछि यो खालको परिणाम आउने निश्चित थियो । यस्तो अवस्थामा नेपाली कांगे्रस उच्च मनोबल बनाएर एक ढिक्का भएर उभियो भने आगामी दिन सहज हुनेछन् । कांगे्रसभित्र रुपान्तरण जरुरी छ । नेपाली कांग्रेसले आधुनिक कांगे्रस बनाउने संकल्प गर्न जरुरी छ । यो कांग्रेसले हारेको क्षण मात्र होइन, नेपाली कांगे्रसले नवीन विजय यात्रा गर्न र आधुनिक कांगे्रस बनाउने क्षण पनि हो भन्ने म ठान्छु । राष्ट्रव्यापी रुपमा कांगे्रसले कति मत पायो भन्ने हिसाबले हेर्नुपर्छ । समानुपातिकमा कांगे्रस अगाडि नै आउने देखिँदैछ । त्यो मतले नेपाली कांगे्रसलाई आत्मबल दिनेछ । त्यो आत्मबलले राष्ट्रिय राजनीतिको जटिल हल गर्न कांग्रेसको साथ गाँस्नैपर्ने बाध्यता बाम गठबन्धनलाई पर्छ । त्यसकारण बाम गठबन्धनको सरकारलाई हामी बाहिर बसेर सहयोग गछौं, संगठन सुदृढ बनाउँदै लैजान्छौं । सीमांकन र प्रदेशको राजधानी तय गर्दैगर्दा मतभेद उत्पन्न हुनसक्छन् । त्यसमा नेपाली कांग्रेसको भूमिका हुन्छ ।

कांग्रेसका लागि जटिल मोड आएको छ, तर त्यो जटिल मोड विगतको कांग्रेसका लागि थियो, तर आधुनिक कांगे्रसको प्रारम्भ गर्ने थलो भएको हुनाले यो जटिलताको बीचबाट कांगे्रसले अबका दिनमा राम्रो र उत्साही ढंगले तय गर्नेछ ।

 कांग्रेसलाई पुनर्संरचना आवश्यक भएको हो ?

 नेपाली कांग्रेसलाई आधुनिक दलका रुपमा विकसित गर, रुपान्तरण गर भन्ने अभिमत नागरिक समाजबाट अभिव्यक्त भएको छ । देशभरिका साथीहरुले विश्वप्रकाश संसदमा होस् भन्ने कामना गर्नुभयो । तर झापा–१ का मतदाताले तिमी संसदमा त जाउला, तर पहिला तिम्रो कांगे्रसलाई राम्रो बनाउनेतिर लाग भने । राष्ट्रव्यापी रुपमा संगठित बन्नेतिर लाग । संसदमा होइन, संगठनमा लाग भनेर मलाई मत दिएको हो भन्ने बुझेको छु । कांग्रेसलाई एतिहासिक ढंगले पुनर्संरचना गर्न जनताले औंल्याएका छन् । यो कुराप्रति हामी गम्भीर छौं, यसलाई हामी आत्मसाथ गछौं, र हामी रुपान्तरित हुने दिशामा अघि बढ्छौं ।

 पहिलो पुस्ताबाट यो विचार आएको छैन त ?

 पहिलो पुस्ता बढी नै आलोचित भएको छ । पहिलो पुस्ताको कमजोरीमा जमेरै आलोचना गरौं । पार्टी सभापति शेरबहादुर देउवाले बोल्दा वा काम गर्दा गम्भीर त्रुटी भयो भनेर आरोपित गरिन्छ भने त्यसमा मेरो धेरै विमति छैन । तर मधेशमा लागेको आगो निभाएर स्थानीय निर्वाचन गराएको शेरबहादुर देउवा नै होइन  ?  राष्ट्रिय चुनाव हारिन्छ भन्ने थाहा हुँदाहुँदै निर्वाचन गराएर संविधान कार्यान्वयनतर्फ लैजाने शेरबहादुर देउवा नै    होइन ?  पाका नेताहरुलाई आलोचना गर्दा भएको उपलब्धीलाई देखेनौं भने त्यो गलत हुन्छ । गाडी दुर्घनामा परेको बेला ड्राइभरको कमीकमजोरीको खोजी त गर्नुपर्छ, तर त्यसभन्दा अगाडि यात्रा अगाडि बढाउन दुर्घटनामा परेका पार्टपूर्जालाई सबै ठीक बनाउन गम्भीरतापूर्वक छलफल गरिनुपर्छ । कांगे्रस अहिले अस्पतालमा छ घाटमा होइन ।

अस्पतालबाट दुईवटा बाटो प्रारम्भ हुन्छ, राम्रो ढंगले उपचार भयो भने जीवनप्रारम्भ हुन्छ । राम्रो उपचार भएन भने घाटतिरको यात्रा हुन्छ । त्यसकारण खुशी मान्नुपर्छ मतदाताले कांग्रेसलाई अस्पताल पु¥याएका छन्, अस्पतालमा हामी गम्भीर ढंगले डाइनोसिस गछौं, उपचार गछौं र मुस्कुराउँदै अस्पतालबाट बाहिर निस्कन्छौं । फेरि पनि यो देशको नेतृत्व हामी गछौं ।

 उपचार गर्ने चिकित्सक तपाईंहरु नै होइन ?

 विरामी भएको मान्छे भित्तामा पोस्टर टाँसेर स्वास्थ्य बन्दैन । टाउकोमा सेन्ट छर्केर ऊ स्वस्थ्य बन्दैन, पुराना कपडा फालेर नयाँ कपडा लगाउँदैमा मान्छे स्वास्थ्य बन्दैन । स्वास्थ्य बन्नका लागि उसले खानपानमा सुधार गर्नुपर्छ, रोगको उपचारका लागि औषधि सेवन गर्नुपर्छ । औषधिले भएन भने अपे्रसन गर्नुपर्छ । अपे्रसनले भएन भने मेजर अपे्रसन गर्नुपर्छ । त्यो गर्नका लागि मान्छे आफै मनोवैज्ञानिक रुपमा तत्पर हुनुपर्छ । नेपाली कांग्रेस पार्टी मनोवैज्ञानिक रुपमा तत्पर बन्नेछ ।

 पार्टीको पुनर्संरचना गर्न दोस्रो पुस्ता तयार छ ?

 निश्चय नै तयार छ । संघीयता, गणतन्त्रलगायतका एजेन्डा पहिले कांग्रेसका युवा पुस्ताले बोकेको हो, त्यसपछि मात्र पाको पुस्ताले बोकेको हो ।
आधुनिक, समृद्धि र सुदृढ कांगे्रसको एजेन्डा अब युवा पुस्ताले उठाउने छ । यी कुरा गगन थापा र गगन थापाहरुले संसदमा प्रस्तुत गर्नेछन् । हामी संगठनको कुरामा सुदृढ ढंगले लाग्छौं । आधुनिक कांगे्रस निर्माणका लागि सपथ र संकल्प गरेर हामी मैदानमा निस्कने क्रममा छौं ।

 विशेष महाधिवेशन माग गर्नुहुन्छ ?

 नेपाली कांग्रेसलाई कुन औषधिले उपचार हुन्छ भन्ने कुरा उच्च र युवा नेतृत्व तह बसेर छलफल गर्न जरुरी छ । छलफलले जुन बाटोमा जाने भन्छ, त्यो बाटोमा कांगे्रस हिड्नुपर्छ । त्यसका लागि विशेष महाधिवेशन वा महासमिति हुनसक्छ । अथवा पार्टीको केन्द्रीय समितिबाटै पनि त्यसको उपचारको खोजी हुनसक्छ । नेपाली कांग्रेस डाइनोसिस गर्न हस्पिटलमा पुगिसकेको छ, इर्मेजेन्सीमा भर्ना भएको छ । यही नै उपचार हो भनेर अहिले नै ठ्याक्कै भनिदियो भने हतार हुन्छ । पहिला डाइनोसिस गर्ने प्रकृयामा जाऊ त्यसपछि सामान्य सिटामोलले हुन्छ कि एन्टिवायोटिक दिनुपर्छ वा अपे्रसन गर्नुपर्छ कि त्यसपछि थाहा हुन्छ ।
(जनता मिडिया नेटवर्कका लागि सञ्जीव अधिकारीसँग गरिएको कुराकानीबाट)

ताजा खबर