कुमार पौडेल 'इन्काउन्टर' प्रकरणः पूर्वगृहमन्त्री र पूर्वआइजिपीविरुद्ध जाहेरी दर्ता

२०७८ असोज २० बुधबार १७:२७:०० मा प्रकाशित

काठमाडौं । प्रहरीसँगको भिडन्तमा मारिएका भनिएका कुमार पौडेल ‘इन्काउन्टर प्रकरण’मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गरिएको छ । जिल्ला न्यायाधिवक्ता रिद्धिराज निरौलाको रोहवरमा कुमारकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरी सनाखत गरिएको सर्लाहीका एसपी सन्तोष सिंह राठौरले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलले असोज ११ मा ‘जाहेरी दर्ता गरेर अदालतलाई जानकारी गराउनु’ भन्ने आदेश दिएपछि प्रहरीमा जोहरी दर्ता भएको हो । पौडेललाई कब्जामा लिएर गोली हानेर हत्या गरिएको परिवारको दाबी छ । २०७६ असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही जंगल नजिक प्रहरीको गोली लागेर पौडेलको मृत्यु भएको थियो ।तर, प्रहरीले सो घटनालाई ‘इन्काउन्टर’ गरिएको जिकिर गर्दै आएको छ ।

हुलाकबाट पठाएको जाहेरी दर्ता नगरेको भन्दै कुमारकी आमा दुर्गादेवी पौडेलले २०७७ मंसिर १२ मा सर्वोच्चमा रिट दायर गरेकी थिइन् । जाहेरीमा सर्लाहीका तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गोपाल भट्टराई, प्रदेश नं. २ प्रदेश प्रहरी प्रमुख तत्कालिन डीआईजी हरिबहादुर पाल, ईलाका प्रहरी कार्यालय, लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, सई सुर्यकुमार कार्की, जिल्ला अस्पताल सर्लाहीमा मलगंवामा कार्यरत डा. वीरेन्द्रकुमार मण्डल, प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएका प्रहरी हवल्दार सत्य नारायण मिश्र, विनोद शाह, गोली प्रहार गर्ने प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह.र बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अनुसन्धान गर्न माग गरिएको छ ।

जाहेरीमा पूर्वगृहमन्त्री रामबहादुर थापा र पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालमाथि पनि अनुसन्धान गर्न पनि माग गरिएको छ । २०७६ माघ २३ मा सर्लाहीका तत्कालिन एसपी विश्वमणि पोखरेल र सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख प्रकाश कोइरालाले जाहेरी नलिएपछि दुर्गादेवीले २०७६ माघ २४ मा हुलाकबाट जाहेरी पठाएकी थिइन् ।

घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले पनि अनुसन्धान गरेको थियो । आयोगले २०७६ कार्तिक ४ मा प्रतिवेदनसहित घटनामा संलग्नहरूलाई कारवाही गर्न सरकारलाई सिफारिस गरेको थियो ।

तर, तत्कालीन केपी शर्माओली नेतृत्वको सरकारले सो सिफारिसलाई बेवास्ता गरेको थियो । इन्काउन्टर हुँदा गृहमन्त्री थिए रामबहादुर थापा र सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक थिए । गृहमन्त्री र आइजीपीको योजनामा आफ्ना छोरालाई कब्जामा लिएर ‘हत्या’ गरिएको दुर्गादेवीले दाबी गरेकी छिन् । इन्सपेक्टर कृष्णदेवप्रसाद शाह नेतृत्वको टोलीले हानेको गोलीबाट कुमार पौडेलको ज्यान गएको थियो ।

 

ताजा खबर