चितवन टाइगर्स  इपिएलको फाइनलमा

२०७८ असोज २० बुधबार १७:२०:०० मा प्रकाशित

काठमाडौं । चितवन टाइगर्स  पहिलो पटक एभरेस्ट प्रिमियिर लिग (इपिएल)को फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफायरमा चितवनले पोखरा राइनोज माथि  नौ विकेटको शानदार जीत हात पार्यो ।

चितवनको जितमा स्पिनर साग ढकाल र साहव आलमले उत्कृष्ट बलिङ गर्दा मोहम्मद साहजादले विस्फोटक पारी खेले । पोखराले दिएको ६७ रनको झिनो लक्ष्य चितवनले ७ ओभर ५ वलमा मात्र एक विकेटनो नोक्सानी पुरा गर्यो । चितवनको सहज जितका लागि मोहम्मद शाहजादले ४८ रनको उत्कृष्ट पारी खेले । अर्धशतक बनाउनबाट दुई रनले  चुकेका उनले ७ चौका र २ छक्का प्रहार गरे । उनी नन्दन यादवको वलमा आउट भएका थिए  ।

हासिम अन्सारी १४ र करिम जन्नत ४ रनमा अविजित रहे । यसअघि टियु मैदानमा टस हारेर ब्याटिङ गरेको पोखरा खराब प्रदर्शन गर्दै  १५ ओभरमा ६६ रनमा अल आउट भएको थियो । यो इपिएल इतिहासकै सर्वाधिक कम स्कोर हो । यसअघि पनि पोखराकै नाममा  सबैभन्दा कम रन बनाउने कीर्तिमान थियो  ।

 गत संस्करण पोखराले विराटनगर वारियर्स विरुद्ध ८४ रन बनाएको थियो । सागर र साहबले  धारिलो बलिङ गरेपछि पोखराको पारी धरासायी बनेको थियो । पोखराका लागि मात्र तीन खेलाडीले दोहोरो रन बनाएका थिए ।  टिमको स्कोर ३३ रन हुँदा  रिचर्ड लेभी पहिलो विकेटका रुपमा आउट भएका थिए ।

१९ रन बनाएका लेभी सोमपाल कामीको वलमा आउट भएका हुन् । त्यसपछि पोखरा सम्हालिन सकेन् । ३३ रन जोड्दा पोखराले बाँकी सवै विकेट गुमायो । सुनिल धमलाले  १८ र सुसन भारीले १२ रन बनाए ।  कप्तान विनोद भन्डारी गोल्डेन डक आउट भए ।

साहन आराचिगे ३, असेला गुणारत्ने १, विकेक यादव २, विक्रम सोब ३ रमा पवेलियन फर्किए   ।  सागर र  साहवले चार चार विकेट लिए । सागरले चार ओभरमा १४ रन खर्चिदा साहवले केवल दश रन दिएका थिए । सोमपाल  र करिम जन्नतले एक एक विकेट लिए । जारी इपिएलमा चितवनले पोखरालाई लगातार दोस्रो पटक पराजित गरेको हो । लिग चरणमा चितवनले पोखरालाई नौ विकेटको जित हात पारेको  थियो  । हारका बाबजुत पोखराले अर्को एक मौका पाउनेछ । उसले अब एलमिनेटरको विजेतासँग खेल्नेछ ।
 

ताजा खबर