गोरेसहित ६ जनालाई जन्मकैदको फैसला, सबै प्रहरीलाई सफाई

२०७८ असोज १९ मंगलबार १६:१३:०० मा प्रकाशित

विराटनगर । मोरङ जिल्ला अदालतले साढे ३३ केजी सुन तस्करी काण्ड र सनम शाक्य हत्या प्रकरणमा मुख्य आरोपी चूडामणि उप्रेती ’गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले सो प्रकरणमा संलग्न ६ जनालाई जन्मकैद, १ जनलाई तीन वर्ष र १ जनलाई ६ महिनाको कैद सजाय सुनाएको हो । मुद्दाको मंगलबार अन्तिम सुनुवाइ गर्दै कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैद, एकलाई तीनवर्ष र एकलाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको छ ।

अदालतले गोरेसहित, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कैदको सजाय सुनाएको श्रेष्तेदार टिकेन्द्रवीरजङ राणाले जानकारी दिए ।

उनका अनुसार शाक्य हत्यामा संलग्न ठहरिएका राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ । सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् ।

सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् । त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।

दुबईबाट ९ माघ २०७४ मा नेपाल आएको साढे ३३ किलो सुन गायब भएको थियो । हराएको सुन खोज्ने क्रममा चुडामणि उप्रेती गोरेको समूहले यातना दिँदा भरिया सनम शाक्यको हत्या भएको थियो ।

ताजा खबर