साफ च्याम्पियनसिपमा नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दै

२०७८ असोज १८ सोमबार ११:०८:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ ।  पहिलो खेलमा माल्दिभसलाई पराजित गरेको  नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यसहित मैदानमा उत्रनेछ  ।

पहिलो खेल बंगलादेशसँग हारेको श्रीलङ्का नेपाल विरुद्ध जित निकाल्दै पुनरागमन गर्ने प्रयासमा छ ।  खेल नेपाली समय अनुसार राति पौने दश बजे सुरु हुनेछ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले श्रीलङ्कासँग खेल कठिन हुने बताएका छन् ।  पहिलो खेलमा हात पारेको जितलाई विर्सिएर यो खेल  खेल्ने उनको भनाइ थियो । आफ्ना खेलाडीलाई संयमित भएर खेल्न आग्रह गरेको बताएका अल्मुताइरले श्रीलङ्का वलियो टोली भएको उल्लेख गरे ।

आज तीन अंक बटुल्नका लागि ९० मिनेट  संघर्ष गर्ने अल्मुताइरीको भनाइ छ ।  बंगलादेश विरुद्धको खेलमा श्रीलङ्का पराजित भएपनि उसले उत्कृष्ट खेल खेलेको प्रशिक्षक अल्मुताइरी बताउँछन् । सो खेलमा बंगलादेशले पेनाल्टी गोलमा एक शून्यको जित हात पारेको थियो । कप्तान किरण चेम्जोङले श्रीलङ्कासँगको खेल नेपाली  फुटबल इतिहासकै सर्वाधिक महत्वपूर्ण खेल भएको बताएका छन् । तीन अंक टिमको मुख्य लक्ष्य उनको भनाइ छ ।

सफलता हात पार्नेमा किरण विश्वस्त छन् ।  आज जित निकाले ६ अंकसहित नेपालको फाइनल पुग्ने सम्भावना वलियो हुनेछ ।  नेपाल अहिलेसम्म साफको फाइनल पुगेको छैन । श्रीलङ्काका प्रशिक्षक आमिर एलगिचले दक्षिण एशियाली फुटबलमा हाम्रो पनि उपस्थिति छ भन्ने देखाउन चाहेको प्रतिकृया दिएका छन् ।

टिमको मुख्य लक्ष्य भनेको पुनरागमन रहेको उनको भनाइ थियो । नेपाल र श्रीलङ्का बीच साफ च्याम्पियनसिपमा अहिलेसम्म ५ भेट भएको छ । जसमा  नेपालले मात्र एक खेलमा जित हात पारेको छ । अन्तिम पटक नेपालले  सन् १९९९ को साफमा श्रीलङ्कालाई हराएको थियो ।   श्रीलङ्का तीनमा विजयी हुँदा एक खेल बराबरी भएको थियो । पछिल्लो पटक यी दुई बीच २०१५ को साफ च्याम्पियनिसको समूह चरणमा भएको भेटमा श्रीलङ्का एक शून्यले विजयी भएको थियो । 

ताजा खबर