क्रिकेटमा सरकारको लगानी कम भएपनि सन्तुष्ट छौँः ज्ञानेन्द्र मल्ल

२०७८ असोज १७ आइतबार २२:३१:०० मा प्रकाशित

तनहुँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटमा सरकारको कम लगानी भए पनि सन्तुष्ट गर्ने ठाउँ रहेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिकाले युवा परिषद् सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा कप्तान मल्लले जे छ त्यसैमा चित्त बुझाउनुपर्नेमा जोड दिएका हुन् ।

“यो भएन त्यो भएन भनेर गुनासो गर्ने होइन, जे छ त्यसैमा चित्त बुझाउँदै अगाडि बढ्नुपर्छ, समग्र खेल क्षेत्रमा लगानी कम छ”, उनले भने, “तर सरकारको लगानीप्रति सन्तुष्ट छु ।” खेल क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको बताउँदै मल्लले क्रिकेट रङ्गशाला बनाउनेभन्दा पनि त्यसको मापदण्डमा पनि ध्यान दिनुपर्ने बताए ।

क्रिकेटकै कारण आज आफू यो स्थानमा रहेको बताउँदै मल्लले भने, “मलाई अहिलेसम्म जति पनि उपलब्धि हासिल भयो, सबै क्रिकेटबाटै भयो । धैर्यता, मिहिनेत र लगनशीलता भए सफलता हासिल गर्न सकिन्छ ।” मल्लले हरेक युवाले आआफ्नो रुची अनुसारको काम र पेशा अवलम्बन गर्नुपर्ने भन्दै क्रिकेट रोजेकामा आफू सन्तुष्ट रहेको बताए । सो क्रममा कप्तान मल्लले क्रिकेटका लागि आफूले गरेको सङ्घर्षका बारेमा युवामाझ अनुभव बाँडेका थिए ।

व्यास नगरपालिकाअन्तर्गत १८ देखि २८ वर्ष उमेर समूहका युवालाई समेटेर गठन गरिएको परिषद्का सदस्यलाई शनिबार र आइतबार अभिमुखीकरण प्रदान गरिएको हो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले समाज विकासको अभियानमा युवालाई जोड्न चाहेको बताए ।

ताजा खबर