‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा सविन, ढुकु र शङ्खमूलको जित

२०७८ असोज १७ आइतबार २२:०१:०० मा प्रकाशित

काठमाडौं । अभिनाश तामाङको दोहोरो ह्याट्रिकसँगै घरेलु टोली सविन मेमोरियलले पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा महत्वपूर्ण जित दर्ता गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको प्रतिस्पर्धामा सविन मेमेरियलले प्रभातफेरी युथ क्लबमाथि ८–४ गोल अन्तरको जित निकालेको हो ।

जितसँगै आठ खेलबाट १३ अङ्क जोडेको सविनको ‘प्ले अफ’मा पुग्ने सम्भावनासमेत कायमै राखेको छ । समान खेलबाट प्रभातफेरीको भने सात अङ्क मात्र छ । तामाङले पहिलो हाफको पाँचौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकामा १२औँ मिनेटमा दुई गोल गर्दै पहिलो ह्याटिक गरे । यसैगरी दोस्रो हाफको २२औँ र २३औँ तथा ३०औँ मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पूरा गरेका छन् ।

लिगको एकै खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका तामाङ लिगकै सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा रहेका छन् । उनले हालसम्म १८ गोल गरेका छन् ।

सविनका मनोज गुरुङले दुई गोल गरेका थिए । प्रभातफेरीका डोना थापाले दुई तथा एक्लेस कार्की र नवीन लामाले एक÷एक गोल गरे । यसैगरी ढुकु फुटसल केन्द्र र मछिन्द्र स्काइ गोल्सका बीचको खेलमा ढुकु फुटसल विजयी भएको छ । ढुकुले मछिन्द्रलाई ७–५ गोल अन्तरले पराजित गर्न सफल भयो ।

ढुकुको जितमा विक्रान्त नरसिंह रानाले चार, उरकेन शेर्पा र प्रसिद्ध मगरले एक/एक गोल गरे । मछिन्द्रका लागि अमित तामाङले दुई तथा मनोज राई, आशिष सुनम र कप्तान संजोग चाम्लिङले समान एक/एक गोल गरे । अन्तिम खेलमा शङ्खमूल फुटसलले झरना फुटसललाई ७–० को फराकिलो गोल अन्तरले पाखा लगायो ।

शङ्खमूलका जेनिस प्रजापतिले ह्याट्रिक गरे । योगेश श्रेष्ठ, सविन खड्का, आरजु सिंह र क्रिजल खड्काले समान एक÷एक गोल गरेका थिए । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले देशमै पहिलोपटक फुटसल लिगको आयोजना गरेको हो ।

असोज २ गतेदेखि सञ्चालन भइरहेको लिग आगामी असोज २२ गतेसम्म जारी रहनेछ । लिगको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

ताजा खबर