एनभीए भलिबलको उपाधि न्यू डायमन्ड र त्रिभुवन आर्मीलाई

२०७८ असोज १६ शनिबार २२:१९:०० मा प्रकाशित

काठमाडौं । छैठौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिपको उपाधि महिलातपÞर्m न्यू डायमन्ड स्पोर्ट्स क्लब र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले जितेका छन् ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा विजेता बनेको न्यू डायमन्ड स्पोर्टस क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३–१ सेटको नजितामा पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू डायमन्डले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेटमा २५–१७ को जीतको नतिजा निकालेको थियो । पहिलो सेट गुमाएको न्यू डायमन्डले लगातार तीन सेट जित्दै उपाधि हात पार्यो । न्यू डायमन्डले उपाधिसँगै चार लाख रूपैयाँ नगद पुरस्कार पाएकोछ । यस्तै, उपविजेता एपीएफले दुई तथा तेस्रो हुने त्रिभुवन आर्मी क्लबले एक लाख रूपैयाँ प्राप्त गरेको छ ।

यस्तै पुरुष तर्फको फाइनल खेलमा उपाधि दावेदार मानिएको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई विभागीय त्रिभुवन आर्मी क्लबले ३–१ को सेटमा पराजित गरेको हो । नेपाली राष्ट्रिय टोलीका खेलाडीको अतिरिक्त भारतीय खेलाडी रहेको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउन विभागीय त्रिभुवन आर्मी क्लबलाई धेरै मेहनत गर्नु परेको थियो ।

पहिलो सेटमा आर्मीले २६–२४ को जित निकालेको थियो भने दोस्रो सेट आर्मीले १७–२५ ले गुमाएको थियो । यस्तै तेस्रो सेट २५–१८ ले जित्यो भने चौथो सेटमा जीत निकाल्न धेरै मेहनत गर्नु पर्यो । चौथो सेटमा आर्मीले १७–२२ को आरामदायी अग्रता लिए पनि हेल्प नेपालले लगतार ५ अंक जोडेर बराबरीको अवस्थामा ल्याएपछि खेल थप रोमान्चक बनेको थियो ।

२२–२२ को बराबरीमा रहेको अंकलाई हेल्प नेपालले २५–२४ को अग्रता सम्म पुर्याएको थियो । अन्तिम समयमा अग्रता जोगाउन नसक्दा हेल्प नेपाल स्पोर्ट्स क्लब ३१ अंकमा रोकिदा ३३ले नतिजा आर्मीको पक्षमा गएको थियो ।

उपाधि जितेको आर्मीले ४ लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ भने दोस्रो भएको हेल्प नेपालले २ लाख रुपैयाँ पाएको छ । यस च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा हुने लिगका लागि छनोट पनि भएका छन् ।

 

ताजा खबर