फुटसलमा स्पोर्टस् क्यासल र प्रभातफेरी विजयी

२०७८ असोज १५ शुक्रबार २१:४०:०० मा प्रकाशित

पोखरा । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा पोखरामा भइरहेको ए डिभिजन राष्ट्रिय फुटसल लिगको शुक्रबार भएका तीन खेलमा घरेलु टोली स्पोट्र्स क्यासल र प्रभातफेरी युथ क्लब विजयी भएका छन् । त्यसैगरी शङ्खमुल फुटसल र मछिन्द्र स्काइ गोल्सले अङ्क बाँडेका छन् ।

पोखरा रङ्गशाला बहुउदेश्यीय कभर्डहलमा भएको प्रतिस्पर्धामा सविन मेमोरियललाई २–० गोल अन्तरले पराजित गर्दै स्पोर्टस् क्यासलले आफ्नो अपराजित यात्रा कायम राख्न सफल भयो ।

प्रतिस्पर्धात्मक खेलमा सुरज गुरुङ र किशोर गुरुङले गोल गर्दै क्यासललाई जित दिलाए । सुरजले खेलको १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकामा किशोरले ३४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । जितसँगै क्यासलको सात खेलबाट १९ अङ्क भएको छ । सविनको भने सात खेलबाट १० अङ्क छ ।

यसैगरी आजको दोस्रो खेलमा शङ्खमुल फुटसल र मछिन्द्र स्काइ गोल्सले अङ्क बाँडेका छन् । खेलमा दुबै टोलीको समान २–२ गोल भएपछि एक/एक अङ्क बाँडे ।

शङ्खमुलका लागि क्रिजल खड्काले गोल गर्दै अग्रता बनाए । पहिलो हाफमा १–० को अग्रता लिएपनि दोस्रो हाफमा भने मछिन्द्रले गोल गर्दै बराबरी गर्यो । २२ औँ मिनेटमा आशिष सुनमले गोल खेल बराबरीमा ल्याए । २७ औँ मिनेटमा अरुज सिंहलेले टोलीका लागि दोस्रो गोल गरेपनि मछिन्द्रका मिसोन गुरुङले ३० औँ मिनेटमा बराबरी गोल फर्काएपछि खेल बराबरीमा टुङ्गिएको हो ।

अन्तिम खेलमा प्रभातफेरी युथ क्लबले झरना युथ क्लबलाई ७–३ गोल अन्तरले हराएको छ । प्रभातफेरीको जितमा सिजन गुरुङले दुई तथा धिरज जोशी, श्रीजेश पुरी,अखिलेस कार्की, नविन लामा र शान्ता लामाले एक–एक गोल गरे । झरनाका लागि प्रेम छन्त्याल र कप्तान जितेश गुरुङले गोल गरे । प्रभातफेरीका श्रीजेश पुरीले आत्मघाती गोल गरे ।

असोज २ गतेदेखि सञ्चालन भइरहेको लिग आगामी असोज २२ गतेसम्म जारी रहनेछ । लिगको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

ताजा खबर