सुदूरपश्चिममा दुई हप्तामा तीनपटक भूकम्पको धक्का

२०७८ असोज १५ शुक्रबार २१:३३:०० मा प्रकाशित

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा पछिल्लो समय लगातार भूकम्पको धक्का महसुस भइरहेको छ । दुई हप्ताको अवधिमा यस क्षेत्रमा तीनपटक भूकम्प गइसकेको छ ।

शुक्रबार मात्रै बिहान ४ः५५ मिनेटमा बझाङको सुर्मा गाउँपालिकाको दौलीचौर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले जानकारी दिए ।

यसअघि असोज ८ गते दार्चुला सदरमुकामबाट उत्तरपश्चिम ४० किलोमिटर भारत केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि असोज ४ गते दार्चुलाको खर्रा क्षेत्र आसपास केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प धक्का महसुस गरियो । लगाताररूपमा धक्का महसुसले यहाँ जोखिम बढ्दै गएको छ । तीन पटक गएको भूकम्पले भने कुनै क्षति गरेको छैन ।

ताजा खबर