दिवस र घिमिरेलाई हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार 

२०७८ असोज १५ शुक्रबार १२:५१:०० मा प्रकाशित

गण्डकी । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कारबाट तुलसी दिवस र दुर्गा घिमिरेलाई सम्मान गरिने भएको छ ।

समितिका संस्थापक स्व हेमबहादुर प्रधानद्वारा स्थापित उक्त पुरस्कारबाट धनकुटाका संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवस र महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील धरानकी दुर्गा घिमिरेलाई परस्कृत गरिने भएको हो ।

प्रत्येक दुई÷दुई वर्षमा वितरण गरिने पुरस्कारको राशि जनही  एक लाख रुपैयाँ छ । घिमिरेलाई २०७६ सालमै यो पुरस्कार दिने घोषणा गरिएको भए पनि कोरोना महामारीका कारण पुरस्कार वितरण गर्न नसकिएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । १९९८ असारमा धनकुटामा जन्मिएका दिवस २९ वर्षको उमेरमै प्राज्ञ भएका थिए । सानैदेखि कला, साहित्य, संस्कृतिमा रुचि राख्ने दिवस उच्च शिक्षाको अध्ययनसँगै साहित्य र संस्कृति अनुसन्धानका क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

जापान, कोरिया, बेलायत, अमेरिकाजस्ता दर्जनभन्दा बढी देशमा लोकवार्तासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका दिवसका नेपाली लोक कथा, नेपाली लोककथा केही अध्ययन, धिमाल प्रदर्शनकारी लोक संस्कृति, धिमाल लोकधर्म र संस्कृति, तुलसी दिवसका कविता, भारतबाट तुलसी दिवसका कविता जस्ता कृति प्रकाशित छन् ।

दिवसले सन् १९७४ र १९७८ मा लोकसंस्कृति विषयमा अमेरिकाको इष्ट वेस्ट सेन्टर, हवाई राज्यबाट र सन् १९७६÷१९७७ र १९९६ मा जापानको टोकियो विश्वविद्यालयबाट लोक साहित्य र संस्कृति सम्बन्धमा उच्च क्षिक्षा हासिल गरेका थिए ।

त्यसैगरी दुर्गा घिमिरे चार दशकभन्दा लामो समयदेखि महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील छिन् । घिमिरेले महिला बेचबिखन तथा सशक्तीकरणका क्षेत्रमा लामो समयदेखि योगदान दिएकी छन् । उनको योगदानको उच्च कदर र महिला सशक्तीकरणका क्षेत्रमा अरुलाई पनि लाग्न अभिप्रेरित गर्ने भएकाले पुरस्कृत गर्ने निर्णय गरिएको समितिका सचिव श्रेष्ठले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलद्वारा असोज १६ गते पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।
 

ताजा खबर