तीन खेल अगावै चेन्नाइ आइपिएलको प्ले अफमा प्रवेश

२०७८ असोज १५ शुक्रबार १२:०८:०० मा प्रकाशित

चेन्नाइ सुपर किंग्स तीन खेल अगावै  इन्डियन प्रिमियर लिग आइपिएलको प्ले अफमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै चेन्नाइ जारी सिजन प्ले अफ पुग्ने पहिलो टोली बनेको हो ।

हैदराबादले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य चेन्नाइले दुई बल बाँकी छँदा ४ विकेटको नोक्सानीमा पुरा गर्यो । उसका लागि ऋतुराज गायकवाड र फाप डु प्लेसिसले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । ऋतुराजले ३८ वलमा ४५ रनको योगदान गरे ।

डु प्लेसिस ४१ रनमा आउट भए । दुवै जना जेसोन होल्डरको वलमा क्याच आउट भएका थिए । मोइन अली र अम्बाती रायडुले समान १७–१७ रन जोडे । कप्तान महेन्द्र सिंह धोनी १४ रनमा अविजीत रहे  । सिदार्थ कलको वलमा धोनीले छक्का प्रहार गर्दै चेन्नाइलाइ प्ले अफ पुर्याएका थिए । होल्डरले तीन र रासिद खानले १ विकेट लिए ।

यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३४ रनको योगफल बनाएको थियो । उसका  लागि रिद्धिमान शाहले सर्वाधिक ४४ रन बनाए । अभिषेक शर्मा र अब्दुल सामदले १८–१८ रन बनाए ।

जेसोन रोय २ र कप्तान केन विलियम्सन ११ रनमा पवेलियन फर्किएका थिए । प्रियम गार्ग  मात्र ७ रन जोड्न सफल भए ।  जेसोन हेजलउडले ३, ड्वेन ब्राभोले २ र शर्दुल ठाकुर  तथा रविन्द्र जडेजाले १–१ विकेट लिए । तीन पटकको च्याम्पियन चेन्नाइ ११ खेलबाट १८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । अब  खेलमा जीत हात पारे चेन्नाइले क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ । नवौ हार बेहोरेको हैदराबाद चार अंकका साथ पुच्छारमा छ ।  
 

ताजा खबर