साफ च्याम्पियनसिपको १३ औं संस्करण आजदेखि, नेपाल र माल्दिभ्स भिड्दै

२०७८ असोज १५ शुक्रबार १०:०३:०० मा प्रकाशित

काठमाडौं । श्रीलङ्का र बंगलादेश बीचको खेलसँगै साफ च्याम्पियनसिपको १३ औं संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल आजै घरेलु टोली माल्दिभ्स विरुद्ध खेल्नेछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र माल्दिभ्स बीचको खेल नेपाली समय अनुसार राति पौने  दश बजे सुरु हुनेछ ।

नेपाल पहिलो पटक साफको उपाधि जित्ने लक्ष्यमा छ । अहिलेसम्म फाइनलमा स्थान बनाउन नसकेको नेपालका लागि यो पटक च्याम्पियन बन्ने सुनौलो अवसर पनि छ ।  अब्दुल्लाह अल्मुतारइरीको प्रशिक्षणमा रहेको नेपालले साफका लागि एक वर्ष अघि देखिनै तयारी सुरु गरेको थियो ।  

कोभिडका कारण ठप्प भएको फुटबलले  गत कात्तिकमा बंगलादेशसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्दै पुनरागमन गरेको थियो । त्यसपछि नेपालले घरेलु मैदानमा थ्रि नेसन्स कपको उपाधि जितेको थियो । विश्वकप छनोटमा अस्ट्रेलिया, जोर्डन र चाइनिच ताइपेइसँग खेल्नु अघि नेपालले इरानसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

यी सवै खेललाई प्रशिक्षक अल्मुताइरीले साफको तयारीका रुपमा लिएका थिए । पछिल्लो तीन महिना विशेष तयारीमा जुटेको नेपालले घरेलु मैदानमा साफ प्रतिद्वन्द्वी भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।  अन्तिम तयारी दोहामा गरेको नेपाल ओमानसँग मत्रीपूर्ण खेल खेलेसँगै माल्दिभस पुगेको हो ।  

विगत भन्दा यो पटक नेपालले साफका लागि लामो समय तयारी गर्ने मौका पाएको छ । कप्तान किरण चेम्जोङले उपाधि जित्ने हो भने हरेक खेल फाइनल सरह खेल्नु पर्ने प्रतिकृया दिएका छन् । सवै टिमको लक्ष्य उपाधिनै भएकाले कडा प्रतिस्पर्धा हुने उनको भनाइ छ । युवा र अनुभवी खेलाडीको समीश्रण रहेकाले आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा किरण विश्वस्त छन् । साविक विजेता माल्दिभ्सलाई साफमा नेपालले अहिलेसम्म हराउन सकेको छैन ।

सात पटक भएको भेटमा पाँच खेलमा हारेको नेपालले दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । अहिलेसम्म नेपाल साफमा तीन पटक सेमीफाइल पुगेको छ । साफमा नेपालको उच्च प्रदर्शन अन्तिम चारमा पुग्नुनै हो ।  सर्वाधिक सफल भारत सहित पाँच टोली सहभागी भएको प्रतियोगिता राउन्ड रोविनका आधारमा खेलाइनेछ ।  शीर्ष दुई टिम बीच असोज ३० गते फाइनल खेल हुनेछ ।  सवै टिमलाई कोरोनाले असर गरेको हुँदा सवैको स्तर उस्तै रहेको बताइएको छ । 

ताजा खबर