ह्याप्पी बर्थ डे हिमानी

२०७८ असोज १५ शुक्रबार ०९:४५:०० मा प्रकाशित

‘अग्लो सिलित्त परेको जीउडाल । गोरो लाम्चो अनुहार र त्यसमा विशेषगरी बुनिएको बब शैलीको केस राशिमा पूर्वयुवराज्ञी हिमानी शाह परीझैँ देखिन्छिन् । प्रायः सारी, चोलोमा सार्वजनिक हुने हिमानीको हृदयस्पर्शी मुस्कानका प्रशंसक लाखौँ छन् । राजस्थानको पूर्वराजधिरासँग सम्बद्ध भएपनि काठमाडौँमा जन्मिएर यही हुर्किएकी सदाबहार सुन्दरी हिमानीको शालिनता एवं नम्र व्यवहारले सबैलाई मोहित तुल्याउँछ । हिमानी ट्रष्टमार्फत गर्ने समाजसेवाले उनको व्यक्तित्वलाई थप उचाइमा पुर्याएको छ ।’ पत्रकार सुवास ढकालको सम्पादनमा प्रकाशित हुँदै आएको र हाल बन्द चर्चित पत्रिका ‘साप्ताहिक’मा पूर्व युवराज्ञी हिमानी शाहबारे लेखिएका यी पँक्तिसँग पँक्तिकार पनि सहमत छ । 

वर्षका १० सर्वाधिक आकर्षक महिलामध्ये ‘साप्ताहिक’ले जुरीमार्फत प्राप्त अंकका आधारमा हिमानीलाई दोश्रो आकर्षक महिला घोषित गरेको थियो । पहिलो नम्बरमा थिइन् नायिका प्रियंका कार्की । हिमानीको सौन्दर्यले गायिका इन्दिरा जोशी, पूर्व मिस नेपाल सृष्टी श्रेष्ठ, नायिका नम्रता श्रेष्ठ, हास्य कलाकार दिपाश्री निरौला, बाल खेलाडी गौरिका सिंह, भलिबल खेलाडी सिपोरा गुरुङ, नायिका केकी अधिकारी र साम्राज्ञी शाहलाई पछि पारेको थियो । 

हिमानीको मुस्कान र उनको समाजसेवा आम नेपालीमाझ लोकप्रिय छ । हिमानीको मुस्कान र मन दुबैले सबैको मन जितेको छ । त्यसैले त शुक्रबार (असोज १५)मा उनलाई उनका प्रशंसक, शुभचिन्तक र आमनागरिकबाट जन्म दिनको शुभकामनाको लहर चलेको छ, ‘ह्याप्पी बर्थ डे हिमानी ।’
समाजसेवाको संस्कार 
पूर्व युवराज्ञी हिमानी राजस्थान, सिकर राज्यका राव राजा विक्रम सिंह र रानी विपुला कुमारीकी छोरी हुन् । हिमानीको जन्म नेपालमै भएको हो । रानी विपुला सिंह नेपालकै बझाङी राज परिवारकी हुन् । राजस्थान, सिकरमा राव राजाहरुको पुस्ताको प्रारम्भ राजा दौलत सिंहबाट सन् १६९७ बाट प्रारम्भ भएको हो । दौलत सिंहपछि शिव सिंह, सम्राट सिंह, नाहर सिंह, चाँद सिंह, देवी सिंह, लक्ष्मण सिंह, रामप्रताप सिंह, भैरों सिंह, सर माधो सिंह बहादुर, कल्याण सिंह राजा भए । एघारौं राव राजा कल्याण सिंह सिकरका अन्तिम राजा हुन् ।   इस्ट इन्डिया कम्पनीले भारत छाडेपछि त्यहाँका राजाहरुको स्वशासन समाप्त भए पनि जनस्तरमा उनीहरुलाई ‘राजा’कै रुपमा सम्मान र आदर प्रकट गर्ने गरिन्छ । अझ, ११ औं राजा अर्थात् हिमानीका हजूरबुबा कल्याण सिंहलाई सिकरका जनता ‘लोक कल्याणकारी राजा’का रुपमा सम्झन्छन् र हरेक वर्ष उनको जन्मजयन्ती मनाउँछन् । हिमानीमा समाजसेवाको गुण आफ्ना अग्रजहरुबाटै सरेको हो भन्दा हुन्छ । राव राजा कल्याण सिंह परोपकारी थिए । जनतासँग मिलेरै शासन गर्ने उनको नीति थियो । गरीबी र बेरोजगारी हटाउन उनले आर्थिक सुधार गरे । न्यायालय, स्कूल र अस्पताल स्थापना गराए । कहाँसम्म भने किसानको हितमा उनले भूमिसुधारसमेत लागू गर्दै ठेकेदारी प्रथा हटाएर निश्चित लगान तोकेका थिए । आधुनिक चिकित्साका लागि सिकरमा ‘श्री कल्याण अस्पताल’ पनि बनाए । जनताको मन जितेका कारण जयपुरका राजासँगको द्वन्द्वमा राजा कल्याण सिंहलाई सिकरका सारा जनताले ढाल बनेर रक्षा गरेका थिए ।सिकर राजघरानाको लोक कल्याणकारी संस्कारको प्रभाव हिमानीमा पनि परेको देखिन्छ । त्यसैले त कहिले उनी भूकम्प र बाढी पीडितलाई राहत बाँड्न निस्किन्छिन्, कहिले स्कूलका विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्न । 
‘मनको दरबार’मा राज गर्दै
हुनेखाने सभ्रान्त बर्ग या राजघरानाका सदस्य केवल मोजमस्तीमै समय व्यतित गर्छन् भन्ने आमधारणा हिमानीका हकमा लागू हुँदैन । हिमानी ट्रष्टमार्फत समाजसेवामा जुटिरहेकी उनले आफ्नो बेग्लै छवी बनाएकी छन् । हिमानीको नियती, भाग्य या संयोग जे भने पनि उनी नेपालमा अन्तिम शाहवंशीय राजाकी बुहारी बनिन् । राजतन्त्र नढलेको भए पंक्तिकारले ‘श्री ५ युवराज्ञी हिमानी शाह’ नै लेख्नुपथ्र्यो, पहिला झैं । विधि विधान आफ्नो ठाउँमा छ, तर हिमानीलाई युवराज्ञीकै रुपमा अहिले पनि सम्बोधन र सम्मान गर्ने पंक्ति उत्तिकै छ । कानूनले नदेला, तर हिमानीका शुभचिन्तक, प्रशंसक र राजतन्त्रवादीहरुको मनको दरबारकी उनी युवराज्ञी नै हुन् । आखिर भौतिक संरचनाले सजिएको दरबारभन्दा मनको दरबार सबैभन्दा सुरक्षित र ठूलो हुन्छ । 

नेपालको राजतन्त्रले केही अपवादलाई छाडेर जनताको मनको दरबारमा राज गर्ने शैली, संस्कार र उदारता प्रदर्शन नगरेकै हो । राज्यले सारा सुख सुविधा प्रदान गर्दागर्दै पनि निजी सम्पत्तिको मोह नराखेको भए हुन्थ्यो । निजी सम्पत्ती कमाइसकेपछि त्यसलाई लोकल्याणकारी काममा लगानी गरेको भए हुन्थ्यो । यस्तो महान सोच हाम्रा राजाहरुमा पलाएन । 
विसं १९९० मा महाभूकम्प जाँदा तात्कालीन श्री ३ जुद्धशमसेरले आफ्नो र रानीको ढुकुटीबाट जनतालाई राहत दिएका थिए । ‘श्री ५’बाट पनि शिक्षा, स्वास्थ्य, विपन्न बर्ग, किसान, मजदुरका हितमा कल्याणकारी भूमिका निर्वाह गरेको भए नेपालको संस्कृति, परम्परा, इतिहास र धर्मसँग गहिरो तादात्म्य राख्ने राजतन्त्र अहिले नै समाप्त हुँदैनथ्यो । 
एक्काइशौं शताब्दी प्रारम्भ भइसक्दा पनि उही पुरानै राजसी ठाँटको प्रदर्शन, जनतासँग दुरी । जनतामा भित्रैदेखि विश्वास जगाउने भूमिका राजाहरुबाट निर्वाह भएन । यही कारण अढाइ सय वर्ष लामो परम्परा बोकेको राजतन्त्र समाप्त हुँदा ‘राजतन्त्र फाल्न पाइदैन’ भन्दै कोही सडकमा आएन । 

रानी ऐश्वर्यले समाज कल्याण परिषदमार्फत समाजसेवाको दुहाइ त दिएकी थिइन्, तर त्यो देखावटी मात्र थियो । समाज कल्याण परिषदमार्फत दरबारका आसेपासे र टाठाबाठा पञ्चहरुले कुस्त कमाए । समाजसेवाका लागि छुट्याइएको रकममा ब्रम्हलुट भयो । पूर्व युवराज्ञी हिमानीमा आधुनिक उदार र सहृदयी नारीको गुण भेटिन्छ । उनका गतिविधि हेर्दा लाग्छ, उनी जनताको मनको दरबारमा राज गर्न चाहन्छीन्, जसले पूर्व राजपरिवारकै साख बढाएको छ । 

हालै मात्र हिमानी जनकपुर पुगिन् । हिमानी ट्रष्टले आयोजना गरेको कार्यक्रम अन्तर्गत उनी कन्या माध्यमिक विद्यालयमा गइन् । विद्यार्थीसँग कक्षा कोठामा बेन्चमा सँगै बसेर भलाकुसारी गरिन्, केही सार्थक सन्देशहरु दिइन् । स्कुलमा खानेपानी र अन्य उपहार बाँडिन् । धार्मिक संस्कार र कर्तब्य पालना गर्दै साँझपख जानकी मन्दिरमा विशेष पूजा पनि गरिन् । 

‘म्याम, म पनि तपाइँजस्तै राम्रो मान्छे बन्न चाहन्छु, तपाइँजस्तै बन्न कुन विषय पढनुपर्छ’, एक छात्राको मिठो प्रश्न । ‘अहिले सबै विषय राम्रै छन् । जुन विषय पढे पनि मिहिनेत गरेर पढ्नुस्, असल मान्छे बन्न सकिन्छ’, मन्द मुस्कानका साथ हिमानीको जवाफ । विद्यार्थीसँग उनले तस्वीर खिचाइन् । सबै रमाए । सबैको मनको दरबारमा हिमानी मानौं युवराज्ञी भइन् । जनतासँग घुलमिल हुने क्रममा १९ श्रावण, २०७६ मा पूर्व युवराज्ञी हिमानीले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरिन् । हिमानी ट्रष्टको ‘दैवी उद्धार कोष’मा सहयोग गरिदिन सार्वजनिक अपील पनि गरिन् । 

कोषको कार्यालय बालुवाटारमा पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक ‘सन्देश संग्रह’ विमोचन गर्दै उनले दैवी प्रकोपहरुमा देशवासीहरुको उत्तिकै सहयोग र सद्भाव आवश्यक पर्ने विचार पनि राखिन् । पूर्व राजाका सन्देश संग्रहित पुस्तकको विक्री वितरणबाट प्राप्त रकम उद्धार कोषमा जम्मा गरिने जानकारी पनि दिइन् । कोषले औरहीको अग्निपीडित, महेन्द्रनगर र सुर्खेतका बाढीपीडित, बारा पर्साका हुरीपीडितलाई राहत वितरण गर्नुका साथै वर्ष २०७२ को विनाशकारी भूकम्पमा पनि राहत वितरण गर्यो । 

पूर्व युवराज्ञीका यस्ता सेवामूलक गतिविधिलाई एकथरीले राजनीतिक आँखाबाट पनि हेर्ने गर्छन् । राजतन्त्र फर्काउने अभियानकै एक कडीका रुपमा व्याख्या गर्नेहरु पनि छन् । तर, कसैले उदात्त भावले समाजसेवा गर्छ भने त्यसलाई प्रोत्साहन गर्न छाडेर हतोत्साहित गर्नु उचित हो त ? पक्कै हैन । जनताको मन दुःखाउनु पो हुँदैन, मन जित्नु त सोह्रै आना राम्रो । 

हिमानीको कर्मप्रति कटाक्ष गर्नुको साटो पदमा रहँदा जायज/नाजायज ढंगले कमाएको रकम हाम्रा नेताहरुले पनि यसैगरी समाजसेवामा लगाउन् । पूर्व युवराज्ञी जनतासँग सामान्य रुपमा घुलमिल भइरहँदा लोकतन्त्रका हिमायती भनिनेहरु चाहिँ ‘नयाँ राजा, नयाँ रानी’ बन्न खोज्दैछन्, त्यस्तै रवाफ, ठाँटबाँट प्रदर्शन गर्दैछन् र अलोकप्रिय भइरहेका छन् । 
समाजसेवाको पाठ कम्तीमा हिमानीबाट त सिकून्, कोरोना किटमै भ्रष्टाचार गर्नेहरुले । स्कूलमा चार सय विद्यार्थीलाई मिनरल वाटर बाँड्ने हिमानीबाट प्रेरणा लिउन् र जनताप्रति उत्तरदायी हुन्, महँगो विदेशी बोतलको पानी पिउनेहरुले । बाढी पीडित र भूकम्प पीडितलाई राहत बाँड्दै हिँड्ने हिमानी ट्रष्टबाट केही ज्ञान लिउन्, राहत रकम नै झ्वाम पार्ने नव शासकहरुले । सामाजिक संजालमा हिमानीको एउटा स्टाटस परपीडकहरुप्रति लक्षित छ । उनको स्टाटस छ, ‘जाउ आर्यघाटमा गइ नियालेर हेर, रुँदैनन् कहिले जल्नेहरु, रुन्छन् त केवल जलाउनेहरु ।’
‘सामान्य मानिस’को स्वभाव
पूर्व राजा, पूर्व रानी, पूर्व युवराज्ञी भलै राजघरानामा जन्मिए, हुर्किए । मानिस त हुन् । मानवीय स्वभाव भइहाल्छ । राजतन्त्र हुँदा राज परिवारका सदस्यहरुले मानविय स्वभावसमेत खुलेर प्रकट गर्न पाउँदैनथे । दरबारमा आयोजना हुने कार्यक्रमहरुमा कहिलेकाँही कुनै ‘प्रजा’ले राजा या युवराजसँग कुराकानी गरेको खण्डमा ‘दरबारीया तत्व’ले कर्के आँखा लगाउँथ्यो या ‘राजासँग बोल्ने ?’ भन्दै हकाथ्र्यो । राजा महेन्द्रको दर्शन भेटमा दर्शनभेट पाउने व्यक्ति र राजाबीच पातलो पर्दा राखिन्थ्यो रे । दर्शनभेटमा जानेहरुले भनेको । दर्शनभेटमा राजा बसिरहेका हुन्थे, दर्शन भेट पाउने चाहिँ उभिएर, हल्का झुकेर, हरेक वाक्यमा ‘हस सरकार’, ‘सरकार जो हुकुम’ भन्नुपथ्र्यो । 

लोकतन्त्रमा दरबारको पर्दा रहेन, पर्खाल रहेन, शिष्टाचारका बन्धन पनि रहेनन् । हिमानीले विद्यार्थीसँग एउटै बेन्चमा बस्न पाइन् । कुराकानी गर्न पाइन् । 
कल्पना गरौं त, निरंकुश राजतन्त्र भएको भए के ‘युवराज्ञी हिमानी’ले टिक–टक भिडियो बनाउन पाउँथिन् ? अनि नाइट क्लबमा गएर आम जनतासँग सेल्फी खिच्दै नाच्न उनलाई सहज हुन्थ्यो ? दरबारको संकिर्ण र साँघुरो घेराले उनलाई त्यो स्वच्छन्द विचरणमा छुट दिन्थ्यो ? शिष्टाचारको सनासोले च्याप्दैनथ्यो ? 

विसं २०७७ को जेठमा हिमानी शाहको नृत्य टिक–टकमा भाइरल भयो । छोरी पूर्णिका शाहको टिक–टक अकाउन्टमार्फत सार्वजनिक भिडियोमा हिमानी आफ्नी छोरीसँग नाचिरहेकी देखिन्छिन् । सबिन राइको चर्चित गीत ‘गुराँसको फेद मुनी’मा बनाइएको टिक–टक भिडियो सामाजिक संजालमा खुबै रुचाइयो । 
नाच्नु, गाउनु, रमाउनु नै जीवनको सौन्दर्य हो । यसले समाजमा मैत्री भाव प्रवाह गर्छ । जनतासँग नजिक गराउँछ ।

विसं २०७६, मँसिरमा पनि त नाचेका थिए, पूर्व राजा ज्ञानेन्द्र शाह, बुहारी हिमानी र छोरी प्रेरणा । ठमेलको एलओडी नाइट क्लबमा उनीहरु नाचेनन् मात्र, सबैसँग अँगालो हाल्दै सेल्फी पनि खिचाए । उनीहरुसँग कलाकारहरु केकी अधिकारी र रिमा विश्वकर्माले पनि सेल्फी खिचेका थिए । पँक्तिकारले ससुरा, बुहारी र नातीनीको त्यो नृत्य तस्वीर फेसबुकमा शेयर गर्दै लेखेको थियो, ‘दरबारको चौघेराभित्र नाच्नुभन्दा जनताको माझमा नाच्नुको बेग्लै आनन्द महसुस भयो होला, मलाई पनि नाँचु नाँचु लाग्यो ।’
ह्याप्पी बर्थ डे हिमानी, किप इट अप, गो अहेड । 


 

ताजा खबर