कोदोको रक्सीः विदेशमा ‘तिनपाने र प्योर’ ब्रान्ड, नेपालमा ‘अवैध मदिरा’ भन्दै ब्यान्ड

२०७८ असोज १५ शुक्रबार ०८:५५:०० मा प्रकाशित

काठमाडौं । नेपालमा ‘अवैध मदिरा’का रुपमा नष्ट गरिदै आएको कोदोको रक्सी विदेशमा ‘ब्रान्ड’का रुपमा उत्पादन र विक्री सुरु भएको छ ।  
बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सीको बिक्री बितरण हुँदैछ । कोदोको रक्सीलाई ब्रान्डकै रुपमा उत्पादन र विक्री गर्न बेलायतका नेपालीलीले ‘कोदो लिमिटेड कम्पनी’ स्थापना गरेका छन् । 

कम्पनीका निर्देशक जनक राईका अनुसार यही अक्टोबर १० मा लन्डन, अल्डरशटमा कार्यक्रम आयोजना गरी औपचारिक रुपमै कोदोको रक्सी लन्च गरिनेछ । 
कम्पनीले उत्पादन गर्ने रक्सीको ब्रान्ड नाम हुनेछ, ‘प्योर कोदोको रक्सी’ र ‘तिनपाने कोदोको रक्सी ।’ उत्पादित तिनपाने कोदोको रक्सी २० सी एल बोटलमा २०० एमएल राखिएको छ, जसमा ६० प्रतिशत अल्कोहल छ । ‘प्योर कोदोको रक्सी’मा ७० सी एल बोटलमा ४० प्रतिशत अल्कोहल छ । 

‘प्योर कोदोको रक्सी’ प्रतिबोतल २५ पाउण्ड ९९ पेन्स र ‘तीनपाने कोदोको रक्सी’को १२ पाउण्ड ९९ पेन्स मूल्य तोकिएको प्रबन्ध निर्देशक राइले बताए । कम्पनीमा प्रबन्ध निर्देशक राईका साथै जितेन्द्र चेम्जोङ, भरतमणि लिम्बु, आकाश सुनुवार, सुमन गुरुङ लगानीकर्ता छन् । ‘बेलायतमा हाम्रो मौलिक कोदोको रक्सीलाई व्यवस्थित तरिकाले बेच्न लागेका हौं’, राइले भने । हाल मिडल्याण्डमा रहेको कारखानाबाट नेपाली मूलको कोदोको रक्सी उत्पादन भइरहेको छ । यसको मार्केट अनुसार अन्य क्षेत्रमा पनि कारखाना स्थापना गर्नेबारे सोँच बनाएको कम्पनी भनाई छ ।

बेलायतमा मात्र हैन, नेपाली कोदोबाट उत्पादित रक्सी जापानी बजारमा पनि बिक्रि बितरण हुँदै आएको छ । जापानी बजारमा नेपाली उपभोग्य सामान बेच्दै आएको मयुर कर्पोरेसनले केही वर्षयता कोदोको रक्सी पनि ब्रान्ड प्रडक्टकै रुपमा बिक्री गरिरहेको छ । कम्पनीले नेपाली किसानले उत्पादन गरेको कोदो जापान आयात गरी त्यहाँको नागानो केनस्थित उच्च प्रविधिबाट प्रशोधन गरी कोदोको रक्सी उत्पादन गर्दै आएको छ । कम्पनीले कोदोको ‘रेड रेबल’ र ‘ग्रिन लेबल’ रक्सी उत्पादन, विक्री वितरण गरिरहेको छ । 
मयूर कर्पोरेशनका प्रवन्ध निर्देशक अरुणकुमार श्रेष्ठले  जापानमा आफूहरुले नै पहिलो पटक कोदोको रक्सी बेच्न थालेको बताए । शाही करुवा र कोदोको बालासहितको लेवलका साथ जापानमा कोदोको रक्सी बेचिदैछ ।  यस्तो बोतलमा ७५० एमएल रक्सी राखिएको छ भने ३८ प्रतिशत अल्कोहल छ । 
ब्यान्ड हैन, ब्रान्ड बनाउँ
कोदोको रक्सी विश्वका उत्कृष्ट ५० पेय पदार्थको सूचीमा परिसकेको छ । तर नेपालमा अझै घरेलु मदिरा प्रतिबन्धित छ । प्रहरीले ‘अवैध मदिरा’ भन्दै घयाम्पो फुटालेका र मदिरा पोखेका समाचार दिनहुँ आइरहन्छन् । विश्व बजारमा कोदोको रक्सी बिक्न थालेपछि केही जनप्रतिनिधिहरुले नेपालको मौलिक मदिरालाई ब्रान्डकै रुपमा उत्पादन गरी विश्व बजारमा पठाउनुपर्ने लवीङ सुरु गरेका छन् । प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयले घरेलु मदिरालाई ब्रान्डिङ, बजारीकरण तथा  प्रवर्धनका लागि अभियान नै थालेको छ । मन्त्रालयले गठन गरेका यससम्बन्धी कार्यदलले आफ्नो प्रतिबेदन बुझाइसकेको छ ।

घरेलु रक्सीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्दै बजारीकणका लागि अघि सारिएको ‘ब्यान्ड भर्सेस ब्रान्ड’ अवधारणा सफल पार्न मौजुदा कानुन संशोधन र उत्पादनको स्तरोन्नति गर्नुपर्ने कार्यदलको सुझाव छ । नेपालको घरेलु मदिरालाई ब्रान्डका रुपमा विकास गर्नुपर्ने आवाज चर्को रुपमा उठाइरहेकी प्रदेश एककी सांसद उषाकला राइले कोदोको रक्सीलाई ब्रान्डिङ गरेर विश्व बजारमा पुर्याउन सके नेपालमा विदेशी मुद्रा भित्रने बताउँदै आएकी छिन् । विदेशमा बसेका लाखौं नेपालीले मगाएर खाएमा पनि कोदोको रक्सीबाट करोडौं डलर कमाउन सकिने उनको विश्वास छ ।  

‘सरकारले स्वदेशको पियोर रक्सीलाई प्रोत्साहन नगरी प्रतिबन्ध लगाएको छ, तर विदेशका महँगा रक्सी चाहिँ आयात गरिरहेको छ’, राइको गुनासो छ, ‘अब ब्यान्ड हैन, ब्रान्ड बनाउनुपर्छ र घरेलु मदिरा बनाउने नेपाली महिलाको आर्थिक स्तर माथि उठाउनुपर्छ ।’ कोदोको रक्सीले वैधानिक रुपमा उत्पादन अनुमति पाउनुपर्ने पक्षमा पूर्वी नेपालमा कुन हदसम्म लहर चलिरहेको छ भने, गत वर्ष साउनमा खोटाङका जनताले कोदोको रक्सीलाई ब्रान्डेड बनाउनुपर्ने माग गर्दै संघीय सरकारलाई एक कठुवा कोदोको रक्सी नै उपहार पठाए । 

किरात राई यायोक्खा जिल्ला कार्यसमिति, खोटाङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्समक्ष रक्सी पठाएको थियो । खोटाङका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्रसँगै सरकारलाई रक्सी पठाइएको थियो । कोदोको रक्सीमाथि प्रतिबन्ध होइन ब्रान्डका रूपमा प्रोत्साहन गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख थियो । घरेलु उद्योगको रूपमा अर्गानिक जडीबुटीयुक्त लोकल कोदोको रक्सी उत्पादन गरी महंगो मूल्यमा विदेश निर्यात गर्नुपर्ने व्यवस्था मिलाउन र कानूनी मान्यता प्रदान गर्न सरकारसँग जोडदार माग गरेको थियो । यो अभियानमा किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तिराम राई सक्रिय छन् ।
‘कु अन्न’ हैन कोदो
नेपाली समाजमा कोदोलाई धेरै पहिलेदेखि ‘कु अन्न’का रुपमा लिइयो । कोदोको ढिंडो खानेहरु तल्लो बर्गका कहलिए । अचेल शहरका सुपरमार्केटहरुमा कोदोको पिठो चामलको पिठोभन्दा महंगो छ । स्वास्थ्यका अनेक दृष्टिले लाभकारी कोदो अचेल धनाढ्यका भान्सामा देखिन थालेको छ । दक्षिण अफ्रिकामा उत्पत्ति भएको कोदो भारतको हिमाञ्चल र आल्मुडा हुँदै नेपालको मध्यपहाडी भागमा भित्रिएको बताइन्छ । नेपालमा तराइदेखि पहाडसम्म कोदो फल्छ । उच्च पहाडमा मुड्के र डल्ले, मध्य पहाडमा डल्ले र झाँप्रे तथा तराईमा झाँप्रे जातको कोदो फल्छ । यसमा पनि मुड्के जातको कोदो निकै स्वादीलो हुन्छ । रक्सी बनाउन मुड्के र डल्ले कोदो उपयुक्त मानिन्छ ।

जनजातीहरुले घरमैं कोदोको रक्सी बनाउँछन् । कोदोको रक्सी ठिक्क मात्रामा पिएमा औषधिकै काम गर्ने पिउनेहरु बताउँछन् । विभिन्न जातीका पर्व र धार्मिक कार्यमा कोदोको रक्सी नभई हुन्न । हाम्रो संस्कृति र जीवनसँग जोडिएको कोदोको रक्सी र छ्याङको व्यवस्थित र गुणस्तरीय उत्पादन गरी विश्व बजारमा पठाउने बेला आएको छ । 
अचेल कोरियाले नेपालको मौलिक घरेलु मदिरा छ्याङको उत्पादन गरेर नेपालमै निर्यात गरिरहेको छ । नेपालले समयमै यसबारे ठोस कदम नचाले विदेशी कम्पनीले कोदोको रक्सीसमेत उत्पादन गरेर नेपालमै निर्यात गर्नसक्छन् । आफ्ना मौलिक उत्पादनलाई हतोत्साहीत गरेर विदेशी उत्पादनलाई बढावा दिन नहुने अभियन्ताहरुको माग छ । 
 

ताजा खबर