भलिबलमा हेल्प नेपाल र पुलिसको जित

२०७८ असोज १३ बुधबार १५:१९:०० मा प्रकाशित

काठमाडौं । छैटौँ संस्करणको महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई पराजित गर्दै क्वाटरफाइलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै क्वाटरफाइलनमा प्रवेश गरेको हो । यस जीतसँगै हेल्प नेपाल समूह ‘ए’ को विजेता समेत बन्यो । हेल्प नेपालले गल्कोटमाथि २५–१८, २२–२५, २५–२२ र २५–१९ को सेटमा पराजित गर्यो ।

यस जीतसँगै हेल्प नेपालले तीन खेलमा ९ अङ्क बटुल्यो । हेल्प नेपालले यसअघि प्रदेश–२ र वाग्मती प्रदेशलाई पराजित गरेको थियो । त्यस्तै पराजित  गल्कोट समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । गल्कोटले ३ खेलमा ६ अङ्क जोड्यो । यस समूहबाट वाग्मती प्रदेश र प्रदेश–२ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै आजै भएको पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै समूह ‘बी’ को विजेता बनेको छ । पुलिसले गण्डकी प्रदेशलाई पहिलो सेट २५–१४, दोस्रो सेट २५–१४ र तेस्रो तथा अन्तिम २५–१८ को सेटमा पराजीत गर्दै क्वाटरफाइलमा प्रवेश गर्न सफल भयो । जितसँगै पुलिसले ३ खेलमा ९ अङ्क जोड्यो ।

त्यस्तै पाँच अङ्क जोडेको गण्डकी प्रदेश उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । नेपाल भलिबल सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । महिला तथा पुरुष विजेता टोलीले समान चार लाख पाउनेछन् भने उपविजेताले दुई लाख तथा तेस्रो हुने टोलीले  एक लाख प्राप्त गर्नेछन् ।

ताजा खबर