एमालेको ‘तेश्रो धार’लाई अध्यक्ष ओलीको ‘जिरो रेस्पोन्स’: एमाले फेरि फुटदैछ ? 

२०७८ असोज ११ सोमबार १०:११:०० मा प्रकाशित

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्ने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले महान रणनीतिकार, अर्थशास्त्री एवं कुटनीतिज्ञ आचार्य विष्णुगुप्त (चाणक्य)का भनाइ स्मरण गरे ।  

चाणक्य वाणी उदृत गर्दै प्रधानमन्त्री मोदीले भने, ‘सही समयमा सही कार्य गर्न सकिएन भने एक दिन समयले नै त्यो कार्यको सम्भावना समाप्त गरिदिन्छ ।’

आतंकवाद, कोभिड–१९ र आफगानिस्तान मुद्दामा संयुक्त राष्ट्रसंघले सही समयमा सही निर्णय गर्न नसकेका सन्दर्भमा मोदीले चाणक्यको यो सारगर्भित भनाई उल्लेख गरेका थिए । 
चाणक्य वाणी नेकपा (एमाले)का ‘तेश्रो धार’ मानिने नेताहरुमा पनि चरितार्थ भएको छ । एमाले विभाजनताका सही समयमा सही निर्णय गर्न नसकेकै कारण तेश्रो धारका नेताहरु ‘घर जाउँ कि वन जाउँ’को घनचक्करमा फसेका छन् । विभाजन रोक्न यीनीहरुले सही समयमा सामथ्र्य देखाउन सकेनन् । एमालेमै अस्तित्वको संघर्ष गरिरहेका यीनीहरुलाई अध्यक्ष ओलीले ‘जिरो रेस्पोन्स’ गरिरहेका छन् । 

चाणक्यले भने झैं सही समयमा सही निर्णय गर्न नसक्दा अन्ततः समयले नै यीनको प्रभाव कमजोर बनाउँदै लगेको छ । दश बुँदे सहमति बमोजिम ‘जेठ २’ अघिको आफ्नो पदीय हैसियत र यथोचित सम्मानको अपेक्षा गरिरहेका तेश्रो धारका नेताहरुलाई अध्यक्ष ओलीले लोप्पा खुवाएका छन् । विधान अधिवेशन तयारी केन्द्रित जारी केन्द्रीय समिति वैठकमा तेश्रो धारका नेताहरु निरिह भएका छन् । ओलीले उनीहरुका राय सल्लाहको पूर्ण उपेक्षा गरिरहेका छन् । तेश्रो धारका नेताहरु दश बुँदे सहमति पालना होस् भनिरहेका छन्, अध्यक्ष ओली र उनी पक्षका नेताहरु ‘दश बुँदे पालना हुन सक्दैन’ भनिरहेका छन् । 

दश बुँदे पालना हुने आशमै एकीकृत (समाजवादी)तर्फ नलागेका उनीहरुलाई ओलीको ‘जिरो रेस्पोन्स’ असहय भइरहेको छ । दश बुँदे सहमति यतिबेला दश नेताको दुःखमा परिणत भएको छ । युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, अमृतकुमार बोहरा, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य र रघुजी पन्तको राजनीतिक भविष्य त्यही दश बुँदेमा निर्भर छ । दश बुँदे कार्यान्वयन नभए यी नेता सामु अस्तित्वको नयाँ संघर्ष सन्निकट छ । 

‘जिरो रेस्पोन्स’

अध्यक्ष ओलीको व्यवहार यस्तो छ, मानौं तेश्रो धारका नेताहरु एमाले नै होइनन् । स्थायी कमीटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले तेश्रो धारका नेताहरुलाई ‘आफूलाई सत्ताबाट हटाउन भूमिका निर्वाह गर्नेहरु’ किटान गरिदिएका छन् । आफ्ना ‘विरोधी’ नै किटान गरिसकेपछि एमाले संस्थापन पक्षले उनीहरुलाई जिरो रेस्पोन्स’को अवस्थामा राखेको हो ।

बालकोट निकट शूत्रका अनुसार केही दिन पहिले ओलीले आफ्नो पक्षका नेताहरुसँगको छलफलका क्रममा तेश्रो धारका नेताबारे भनेका थिए, ‘उनीहरु आउँछन्, कराउँछन्, जान्छन्, उनीहरुको वास्ता नगरौं ।’ जारी केन्द्रीय कमिटीको बैठकमा पनि तेश्रो धारको सुनुवाइ भइरहेको छैन । विधान महाधिवेशनका लागि प्रस्तुत राजनीतिक, सांगठनिक र विधान मस्यौदा गरी तीनवटा दस्तावेजमाथिको समूहगत छलफलमा तेश्रो धारबाट कोही पनि टोली नेता चयन भएनन् । 

छलफलका लागि विभाजित समूहमा ओलीनिकट नेताहरु मात्र छन् ।  प्रदेश एकबाट हिक्मत कार्की, प्रदेश दुईबाट रामचन्द्र मण्डल, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकी प्रदेशबाट जगत विश्वकर्मा, लुम्बिनी प्रदेशबाट दलबहादुर राना, कर्णाली प्रदेशबाट यमलाल कँडेल, सुदूरपश्चिम प्रदेशबाट कर्ण थापा, विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराई टोली नेता छन् । 

तेश्रो धारे दश नेताले ओलीको राजनीतिक प्रतिवेदनमाथि नै असहमति जनाउँदै लिखित संशोधन पेस गरिसकेका छन् । वैठकमा उनीहरुले दश बुँदेकै पालना हुनुपर्ने याचना गरिरहेका छन् । तर, ओलीले विधान महाधिवेशन र दश बुँदे सहमति अलग विषय भएकाले छलफल नहुने भन्दै टारीरहेका छन् । 

दम नभएको दश बुँदे

एमाले अध्यक्ष ओली २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्न तयार भएपछि माधवकुमार नेपालको पक्षमा भएका घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावललगायतका नेताहरु हौसिएका थिए । अध्यक्ष ओली उदार भएको ठान्दै उनीहरु एकीकृत (समाजवादी) गठनमा पनि सहभागी भएनन् । नेता माधव नेपाललाई निर्णायक मोडमा छाडिदिए ।

तेश्रो धारको यो कदम स्वयं ओलीका लागि अनपेक्षित थियो । किनकी, तेश्रो धारका नेताहरुले ओलीको उछित्तो काढ्न कुनै कसर बाँकी राखेका थिएनन् । अहिले आएर तेश्रो धारका नेताहरु दश बुँदेको भूमरीमा आफैं परेका छन् । अध्यक्ष ओलीले स्पष्ट रुपमै दश बुँदे सहमति जस्ताको त्यस्तै कार्यान्वयन गर्न नसकिने बताएपछि उनीहरु एमालेमै रहने आधार बनेको दश बुँदे आफैं कमजोर भएको छ ।

‘जेठ २’: आकाशको फल

एमाले ‘जेठ २’मा फर्किएको छैन । केन्द्र, प्रदेश र जिल्लास्तरमा ‘जेठ २’ बमोजिमको भूमिका नपाउँदा ‘पूर्व माधव पक्षीय’ नेता÷कार्यकर्ताको यतिबेला पार्टीमा हरिविजोग छ । उनीहरुको ठाउँमा पूर्व माओवादी र ओली निकटका व्यक्ति हावी छन् । 

२ जेठ २०७५ पहिलेको जिम्मेवारी कर्णाली प्रदेशका इन्चार्ज एवं उपाध्यक्ष युवराज ज्ञवालीबाहेक अरुले पाएका छैनन् । अर्का उपाध्यक्ष भीम रावलको त हदैसम्म अपमान भइरहेको देखिन्छ । दश बुँदे सहमति बमोजिम सुदूरपश्चिम प्रदेशको इन्चार्ज हुनुपर्ने रावलको ठाउँमा माकेबाट एमाले भएका लेखराज भट्टराई इन्चार्ज बनाइएको छ । सुदूरपश्चिमा रावलको पकड निकै कमजोर भइसकेको छ । १७ सांसदमध्ये १४ जना एकीकृत समाजवादीमा गएका छन् । इन्चार्ज पनि खोसियो । एमालेमै रहने या नरहने भन्ने प्रश्न उनका सामु छ ।
अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको ठाउँमा ओलीले माकेबाट आएका रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेशको इन्चार्ज बनाएका छन् । बाग्मती प्रदेशको मुख्यमन्त्री शाक्य पार्टी विभाजनपछि अल्पमतमा परेकी छिन् । मुख्यमन्त्रीबाट हटेपछि एमालेमा उनको भूमिका के हुने हो, त्यो अन्यौलमै छ । बादल नै बागमतीको इन्चार्ज कायम रहे अष्टलक्ष्मीलाई एमालेमा रहिरहन सकस हुनेछ । 

एमाले उपमहासचिव घनश्याम भुसाललाई अध्यक्ष ओलीले पहिला पनि कुनै ठोस जिम्मेवारी दिएका थिएनन् । अहिले त झन् पार्टीका महत्वपूर्ण सवालमा उपमहासचिव भुसालसँग ओली संवादसमेत गर्दैनन् । भुसाल मानौं एमालेका उपमहासचिव नै हैनन्जस्तो व्यवहार देखिन्छ । 

एमाले सचिव गोकर्ण विष्ट ‘जेठ दुइ’अघि मोर्चा संगठन विभागको प्रमुख थिए । उनको स्थानमा पूर्व माके नेता टोपबहादुर रायमाझीलाई मोर्चा संगठन विभागको प्रमुख बनाइएको छ । 
सचिव भीम आचार्य एमाले प्रदेश १ कमिटीको इन्चार्जको थिए, तर सो स्थानमा अहिले सुवासचन्द्र नेम्वाङ विराजमान छन् । स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले सम्हाल्दै आएको अर्थ तथा योजना विभागको प्रमुख पद यतिबेला निश्कृय झैं छ । यो विभागीय प्रयोजनका सन्दर्भमा अध्यक्ष ओली र पाण्डेबीच कुनै परामर्श हुँदैन । 

एमाले फेरि फुटदैछ ? 

अध्यक्षबाट यसरी ‘जिरो रेस्पोन्स’ भइरहँदा तेश्रो धारका नेताहरु कहिलेसम्म एमालेमै रहलान् ? दम नभएको दश बुँदेको दुःख कहिलेसम्म सहलान् ? जुन दलमा आफ्नो भूमिका कमजोर छ, त्यो दलमा महत्वाकांक्षी नेताहरु कहिलेसम्म टिक्लान् ? अनि महासचिवभन्दा तल रहन नचाहने आधा दर्जन नेताहरुको व्यवस्थापन एमालेले कसरी गर्ला ?
एमालेको जारी केन्द्रीय कमिटीको बैठकले यस्ता प्रश्नहरुको हल गर्लाजस्तो देखिदैन । एमालेभित्र ओली पक्ष र तेश्रो धारबीच वैचारिक, सांगठनिक र भावनात्मक विभाजन कडै छ । केही महिनाअघिसम्म पनि एक अर्काप्रति पोखेका तिक्त कटाक्ष आलै छन् । तेश्रो धारलाई एमालेमा टिकिरहन नै कष्टकर भइरहेको छ । जिम्मेवारी, सम्मान र भावनात्मक लगावको अभावमा तेश्रो धारका नेताहरु एमालेमा किनाराका साक्षी भएर बसिरहन नसक्लान् । यस्तो अवस्थामा कतै ओली स्वयंले बिहीबार संकेत गरे झैं एमाले पुनः विभाजित हुने त हैन ? 

ताजा खबर