बार्सिलोनाद्वारा लेभान्टेमाथि तीन शून्यको जित

२०७८ असोज ११ सोमबार ०९:०५:०० मा प्रकाशित

बार्सिलोनाले स्पेनिस लिग ला लिगामा प्रशिक्षक रोनाल्ड कोमनको अनुपस्थितिमा खेलेको खेलमा लेभान्टेमाथि तीन शून्य गोलको सहज जित हात  पारेको छ । क्याम्प नोउमा भएको खेलमा चोटग्रस्त बनेका अंशु फाती फिट हुँदै मैदान फर्किए ।

सातौ मिनेटमा  डच खेलाडी माम्फिस डिपायेले पेनाल्टिमा गोल गर्दै बार्सालाइ अग्रता दिलाएका थिए । लेभान्टेका निमान्जा राडोयाले माम्फिसलाई फाउल गरेपछि बार्साले पेनाल्टी पाएको थियो । अर्का डच खेलाडी लुक डि जोङले १४ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरे ।

सेभियाबाट लोनमा बार्सा आएयता डि जोङको यो पहिलो गोल हो । पहिलो हाफमा दुई शून्यले अघि रहेको बार्साका लगि फाती ८१ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । इन्जुरी समयमा उनले गोल गरेपछि बार्सा तीन शून्यको जित हात पार्न सफल भयो  ।

घुँडामा चोट लागेपछि फाती लामो समय मैदान बाहिर रहेका थिए । सन २०२० , नोभेम्बर ७ यता फातीको यो पहिलो खेल हो । शल्यक्रियापछि फिट हुँदै फाती लियोनल मेसीको दश नम्बरको जर्सी सहित मैदान फर्किएका हुन् । यो जितते कोमनलाई ठूलो राहत मिलेको छ ।

अघिल्लो खेलमा बार्सा काडिजसँग गोलरहित बराबरीमा रोकिएको थियो । सोही खेलका क्रममा अनुशासनको कारबाहीमा परेपछि लेभान्टे सँगको खेल गुमाएका थिए । बार्सा ६ खेलबाट १२ अंक सहित तालिकाको छैटौ स्थानमा छ   । 
 

ताजा खबर