शान्ति ठटालको सांगीतिक प्रस्तुति असार १६ मा

२०७४ असार ७ बुधबार ११:१४:०० मा प्रकाशित

असार,७ असार । आधुनिक नेपाली संगीतको प्रारम्भकालमै आफ्नो उपस्थितिको अमिट छाप छाडेकी अग्रज गायिका शान्ति ठटालले असार १६ मा पलेँटी श्रृंखलामा गीत प्रस्तुत गर्ने नेपालयले जनाएको छ ।  


   चलचित्र ‘परालको आगो’र ‘बाँच्न चाहनेहरू’ मा लोकप्रिय संगीत गरेर शान्ति ठटाल नेपाली भाषामा बनेका चलचित्रमा संगीत भर्ने पहिलो महिला संगीतकारको रुपमा पनि चिनिन्छिन् । उनले कवि ईश्वर बल्लभद्वारा रचिएको ‘एउटा नीलो सूर्यास्त’ लाई काव्य संगीत क्यान्टटा शैलीमा कम्पोज गरेकी छिन् । क्यान्टाटालाई उनले सन् २०१२, अगष्ट ३१ को पलेँटीमा प्रस्तुत गरेकी थिइन् । सिक्किमको साँस्कृतिक विभागमा लामो समय संगीतको नेतृत्व गरेकी शान्ति ठटाल हाल दार्ज्लििङमा बसोबास गर्द्छिन् ।
 
संगीतकार ठटालले महाकवि लक्ष्मी प्रसाद देवकोटाका कृतिहरू मुनामदन, कुञ्जिनी र म्हेन्दोमा आधारित सांगीतिक सृजना पनि गरेकी छिन् । यि मध्ये मुनामदनमा संगीत भर्ने र प्रस्तुत गर्ने काम सन् १९७७ ताका भएको थियो । जसलाई निर्देशन समेत ठटालले नै गरेकी थिइन् । त्यसको रेकर्ड आफुसँग सुरक्षित नभएको हुनाले त्यो धुनलाई हालआएर आफुले विर्सेको उनी बताउँछिन् ।


पलेँटीले त्यो संगीत फेरि उनको सम्झनामा ल्याउने प्रयास गरिरहेको छ जसका निम्ति उनी स्वयंले पनि कोशिश गरिरहेकी छिन् । ठटाल २६ सेप्टेम्बर २००८ मा दोस्रोखेप पलेँटीमा प्रस्तुत भएकी थिइन् । ११ अगष्ट २०१२ मा आयोजित पलेँटी उत्सवमा पनि एकल गायन प्रस्तुत गरेकी शान्तिले सोही महिनाको ३१ तारिखको नियमित पलेँटीमा काव्य संगीत क्यान्टटा प्रस्तुत गरेकी थिइन् ।
 
‘पाँचौपटक शान्ति दिदीलाई पलेँटीमा प्रस्तुत गर्न पाउँदा हामी उहाँप्रति अनुगृहित छौं,’ पलेँटीका संयोजक आभाष भन्छन्, ‘संगीतमा उहाँको छ दसकभन्दा लामो योगदान आफैँमा अमूल्य छ र यो संगीत क्षेत्रकै उत्सव हो । त्यो उत्सवकै रुपमा यसपालाको पलेँटी प्रस्तुत हुँदैछ ।’ पलेँटीमा दिनेश रेग्मीले किबोर्ड, बुद्ध लामाले बाँसुरी, सुन्दर महर्जनले पर्कसन, सन्देश महर्जनले तबला र सुरजकुमार प्रधानले गितार बजाएर गायिकाहरुलाई सघाउने छन् ।
 
 

ताजा खबर