व्यवसायीले नेतृत्व चयनका लागि चुनाव भएपनि हार जितका रुपमा लिनुहुन्नः वरिष्ठ उपाध्यक्ष ढकाल

२०७८ असोज ९ शनिबार २३:३१:०० मा प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ/संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रुपमा लिन नहुने बताएका छन् । 

सप्तरी उद्योग वाणिज्य संघको ११औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघसहित जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्ने र त्यसो हुन नसके पनि निर्वाचनको भोलिपल्ट देखि नै एकतावद्ध रुपमा अघि बढ्नुपर्ने बताएका हुन् ।

आफूसँगै निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका पूर्व उपाध्यक्ष किशोर प्रधानकै हार्दिकतापूर्ण आमन्त्रणका कारण आफू संघको साधारणसभामा आएको उल्लेख गर्दै निर्वाचनले एक जनालाई मुख्य जिम्मेवारी दिए पनि अर्को जनाको आवश्यकता र भूमिका जरुरी हुने बताए ।

ढकालले महासंघसहित जिल्ला नगर उद्योग वाणिज्य संघमा निर्वाचनबाट नेतृत्व चयन भए पनि आर्थिक मुद्दामा एकढिक्का हुनुपर्ने बताए । संघका साधारणसभामा नेतृत्व चयनसँगै व्यावसायिक गतिविधि विस्तारका सम्भावनाका विषयमा छलफल हुनुपर्ने उनको भनाइ छ । साधारणसभामा आमन्त्रित व्यवसायीसँग बिटूबी लगायतका कार्यक्रम गर्न पनि उनले सुझाव दिए ।

वरिष्ठ उपाध्यक्ष ढकालले आफूहरुले ७७ जिल्लाकै व्यवसायीलाई महासंघको केन्द्रीय नेतृत्वसँग जोड्ने प्रयास गरेको उल्लेख गर्दै सम्भावना भएका क्षेत्रमा महासंघ पदाधिकारी र काठमाडौंका ठूला व्यावसायिक घरानालाई लगानीका लागि उत्प्रेरित गर्ने काम आफूहरुले गरिरहेको बताए । 

महोत्तरीको गौशालामा कागज उद्योग स्थापनाको काम सुरुगरेको उल्लेख गर्दै उनले १ वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइने जानकारी दिए ।
आईएमई समूहका अध्यक्षसमेत रहेका ढकालले चन्द्रागिरीको पर्यटन पूर्वाधारको सफलतासँगै सातवटै प्रदेशमा यस्ता पूर्वाधार निर्माणमा आफूहरु जुटेको जानकारी दिए ।
 

ताजा खबर