धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई कारबाही गर्न जाँचबुझ समितिको सिफारिस

२०७८ असोज ५ मंगलबार १८:०४:०० मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि जाँचबुझ गर्न गठित जाँचबुझ समितिको प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले सेयर कारोबारमा ठूलो संख्यामा आम जनता सहभागी भइरहेको भन्दै सेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्नु सरकारको दायित्व भएको बताएका हुन् ।

उनले प्रतिवेदनको अध्ययन गरी जाँचबुझ समितिले दिएको सुझाव अनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने पनि बताए । जाँचबुझको प्रक्रियाले सेयर बजारलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

बोर्डका अध्यक्ष ढुंगानाले कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएर विवादमा तानिएपछि सरकारले भदौ १६ गते उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र सहसचिव अर्जुनकुमार खड्का रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो ।

समितिले मंगलबार अर्थमन्त्रीलाई प्रतिवेदन पेश गरेको हो । अर्थमन्त्री शर्माले प्रतिवेदन बुझ्दै आफूले प्रतिवेदन प्रधानमन्त्री समक्ष पुर्याउने र प्रतिवेदनको अध्ययनपश्चात आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।

समितिले ढुंगानालाई कारवाही गर्न सिफारिस गरेको छ । समितिको प्रतिवेदनमा बोर्ड अध्यक्ष भएकै बेला छोरी रेविका ढुंगानाको नाममा १० हजार शेयर खरिद गरेको पाइएको र उक्त कार्य पदीय आचारणविरुद्ध भएको समितिको निष्कर्ष रहेको बताइइउको छ । विवाहित छोरी भएपनि आफैंले रकम हालेर शेयर किनेको पाइएको समितिले निष्कर्ष निकालेको बताइएको छ ।

ताजा खबर