विभिन्न माग राखी बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितद्वारा माइतीघरमा दबाबमूलक धर्ना सुरु

२०७८ असोज ४ सोमबार १६:४५:०० मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन् ।

सोमबार बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंको माइतीघरमा सुरु गरेको दबाबमूलक धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउँदै भट्टराईले ७ वर्षभित्र बनिसक्नुपर्ने बुढीगण्डकी जलविद्युत आयोजनाको काम ८ वर्ष वितिसक्दा पनि काम सम्पन्न हुन नसक्नु लज्जास्पद र बिडम्बनापूर्ण भएको बताएका हुन् ।

उनले आफू प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा पारी बुढीगण्डकी विकास समिति बनाएर अन्तर्राष्ट्रिय संस्थामार्फत डिपीआर बनाउने र यसको विस्तृत परियोजना अनुरुप कार्यान्वयन गर्ने प्रक्रिया र मुआब्जा वितरण गर्ने प्रक्रिया शुरु भएको भएपनि विचौलियाका कारण हालसम्म काम सम्पन्न नहुनु दुःखद भएको बताए ।

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजना प्रभावितहरुले राखेका विभिन्न मागहरु पुरा गर्न सरकार जिम्मेवार नभएको भन्दै आजदेखि माइतीघर मण्डलामा दबाबमूलक धर्ना सुरु गरेका छन् ।

धर्ना एकहप्तासम्म हुने सरोकार समितिका संयोजक हरेराम ढकालले जानकारी दिए । आयोजना प्रभावितले बुढीगण्डकी डुबान क्षेत्रको व्यक्तिगत जग्गाको मुआब्जा मात्र दिएको तर जग्गामा बनेको घर, संरचना, फलफूलका बोटविरुवाको मुआब्जा निर्धारणसम्म नगरेको भन्दै आपत्ति जनाएका छन् ।

त्यस्तै घडेरी वा सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा समितिले तोकेकै बराबर प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ दिनुपर्ने, दर्ता छुट भएको जग्गालाई भोगचलनको आधारमा मुआब्जा वितरण गर्नुपर्ने, सुकुम्बासी र ऐलानी जग्गामा बसोबास गर्नेलाई मन्त्रिपरिषद्को निर्णय अनुसार मापदण्ड बनाएर तत्काल मुआब्जा वितरण गर्नुपर्ने माग समितिको छ ।

 

ताजा खबर