मेलम्ची खानेपानी आयोजनासम्म पुग्न सडक खुलाउन सुरु

२०७८ असोज ४ सोमबार १५:५६:०० मा प्रकाशित

काठमाडौँ । असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ ।

बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो । सडक खुलेपछि एकातिर स्थानीयवासीलाई आवतजावत सजिलो हुनेछ भने आयोजनास्थलसम्म पुग्न सकेमा त्यहाँका संरचनाको मर्मत अघि बढ्नेछ ।

मेलम्ची पुलबजारबाट अम्बाथानसम्म २२ किलोमिटर सडकमध्ये १४ किलोमिटरमा ‘ट्रयाक’ खुलिसकेको छ । अब चनौटेबाट अघि आठ किलोमिटर सडक खुलाउन बाँकी रहेको छ । चनौटेमा रातो पुल बगाएपछि त्योभन्दा अगाडिको सडक खुलाउन नसकिएको हो ।

पुलबजारबाट ट्र्याक खोल्दै जाँदा चनौटेबाट अम्बाथानसम्म थप दुई पुल बगाएको छ । त्यहाँ बेलिब्रिज नबनाएसम्म यातायात चालू नहुने देखिएको छ । केही दिन पहिलेदेखि चनौटेसम्म सवारीसाधन चल्न थालेको छ । यहाँको न्वार खोलामा सडक कटान भएकाले अहिले साना गाडी मात्रै चलिरहेका छन् । त्यो मर्मत भएपछि ठूलो गाडी जान सक्नेछ ।

न्वार खोला क्षेत्रमा मर्मत गरिएपछि चनौटेसम्म नै ठूलो गाडी चल्नसक्ने बताइएको छ । चनौटेसम्म यात्रुबाहक बस चल्न थालेमा हेलम्बुका गाउँपालिकाका–४, ५, ६ र ७ का बासिन्दालाई सजिलो हुनेछ । केही समय पहिलेसम्म आवतजावत नै अवरुद्ध भएकामा अहिले काठको पुल राखेर चालू गराइएको छ ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति भएको भनिए पनि त्यसको यकीन हुन सकिरहेको छैन । आयोजनास्थलसम्म पहुँच सडक सम्पन्न नभएकाले क्षति यकीन हुन नसकेको खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताए ।

उनका अनुसार पहिलेको पहुँच सडक पूरै पुरिएकाले नयाँ ट्र्याक खुलाउन लागिएको छ । पहिले सडक भएको ठाउँको नजिकै नै हुने गरी सडक खुलाइने उनले बताए । उनले भने, “सबै पुरिएकाले पहिले र अहिले भन्ने देखिएको छैन, त्यसैको हाराहारीमा खुलाइरहेको छौ ।”

पहिलो पटक असार १ गते आएको बाढीले आयोजनामा क्षति पुर्याएको थियो । त्यतिबेला झण्डै एक अर्बको क्षति भएको अनुमान गरिएको थियो । साउन महिनामा पटकपटक बाढी जाँदा झण्डै दुई अर्ब ४० करोडको क्षति भएको आयोजनाले जनाएको छ ।

प्रारम्भिक अनुमानका आधारमा क्षतिको अनुमान गरिएको भए पनि प्राविधिक आयोजनास्थलसम्म जान नसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता न्यौपानेले बताए । पहुँच सडक बनेर त्यहाँसम्म पुगेपछि नै केके क्षति भएको हो र त्यसको मर्मतमा कति खर्च लाग्छ भन्ने थाहा हुने उनले बताए ।

आयोजनास्थलमा मर्मतको काम अघि बढाउन सुरु गरिए पनि त्यसमा सरकारको आफ्नै लगानी हुने कि दातृ निकायसँग सहयोग मागिने भनी टुङ्गो लाग्न सकेको छैन । आयोजनामा बैंकको सहयोग भएकाले पनि उसको सहयोग लिने कि सरकारको खर्च छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताए । पहिले कति खर्च लाग्छ भनी आयोजनाले अध्ययन गर्नेछ । उनले भने, “त्यहाँ पुगेर समय र रकम थाहा भएपछि नै स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने थाहा हुन्छ ।”

आयोजनामा मात्रै नभएर त्यहाँका अरु पूर्वाधारमा क्षति पुगेकाले मन्त्रालयले सरोकार राख्ने निकायसँग छलफल अघि बढाएको छ । फरकफरक पूर्वाधारको काम फरक मन्त्रालय र निकायले गर्नुपर्ने प्रवक्ता न्यौपानेले बताए ।

सडक, पुल, खानेपानी सबै आयोजना एक्लैले गर्न नसक्ने भएकाले सबैको संयोजनमा काम गर्नुपर्ने उनले बताए । अहिले मन्त्रालयले ती निकायसँग कसले के गर्ने भनी छलफल गरिरहेको छ । उनले भने, “एउटै मन्त्रालय र निकायसँग विशेषज्ञता पनि नहुने र समय बढी लाग्ने भएकाले सबै मिलेर छिटो गर्ने योजना छ ।”

मेलम्ची आयोजनामा भएको क्षतिको विस्तृत अध्ययनका लागि बैंकको सहयोगमा भौगर्भिक अध्ययन सुरु भएको छ । यो ठाउँमा पहिरो यो वर्ष मात्रै आएको हो कि अरु वर्षमा पनि खतरा छ भनेर अध्ययन गर्न लागिएको हो । यहाँको भूगोल, वातावरणीय अवस्थाका बारेमा अध्ययन गराउन बैंकलाई मन्त्रालयले अनुरोध गरेको थियो । उनले भने, “एडिबीले विशेषज्ञसहित टोली राखेर अध्ययन गरिरहेको छ ।”

गत वर्ष उपत्यकावासीले केही महिनासम्म मेलम्चीको पानी उपभोग गर्न पाएका थिए । यो वर्षभित्रमा पुनःपानी ल्याउने सरकारको योजना छ । सडक, पुललगायतका पूर्वाधार निर्माणमा समय लाग्ने भए पनि जतिसक्दो चाँडो पानी ल्याउन लागिने प्रवक्ता न्यौपानेले बताए ।

पानी ल्याउने र अरु काम सम्पन्न गर्ने फरक समय लाग्ने देखिएको छ । तत्काल पहुँच सडक बनाउन सकिएमा आयोजनाका संरचनामा रहेका अवरोध हटाएर पुनःपानी ल्याउन सकिन्छ । अहिले हेर्दा सडक र पुल सम्पन्न गरिसक्न लामो समय लाग्न सक्ने देखिएको छ । उनले भने, “पानी जतिसक्दो चाँडो ल्याइनेछ भने मर्मतको काम पनि चालू गरिनेछ ।”

उपत्यकावासीले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । यहाँको जनसङ्ख्या बढिरहँदा भएको स्रोत घट्दै गएकाले वर्षेनी खानेपानीको समस्या अझै विकराल बनिरहेको थियो ।

सरकारले दुई दशक पहिले मेलम्ची खोलाको पानी उपत्यकामा ल्याउने योजना बनाएको थियो । योजना निर्माण सुरु भएको लामो समय पछि बल्ल सम्पन्न भयो । झण्डै तीन महिना घरघरमा पानी आएकामा आयोजनाको परीक्षणकै क्रममा पहिरोले पुनःसंरचनामा क्षति पुर्याएको छ । काठमाडौँवासीले कहिलेसम्म पानी पाइन्छ भनेर चासो राखिरहँदा यहाँको क्षतिको मर्मत पनि सजिलो देखिएको छैन ।

उपत्यकामा रहेको खानेपानीको समस्या समाधानकै लागि मेलम्चीको पानीको विकल्पमा पनि छलफल भइरहेको छ । काठमाडौँ उपत्यका र उपत्यका आसापासका क्षेत्रमा रहेका मुहानको खोजी गरेर त्यसको अध्ययन गर्ने गरी मन्त्रालयमा छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताए ।

आयोजनास्थलमा मर्मत गरिसक्न कम्तीमा पनि चैत महिनासम्म लाग्ने देखिएको छ । कताको पानी ल्याएर उपत्यकावासीलाई सजिलो बनाउने भनी विकल्पमाथि छलफल भइरहेको छ । मेलम्चीको विकल्पका विषयमा विगतमा पनि छलफल भइरहेकामा अहिले अध्ययनमा नै जाने योजना बनाइएको उनले बताए ।

ताजा खबर