नेपालद्वारा ओमान सात विकेटले पराजित

२०७८ असोज ३ आइतबार २१:२२:०० मा प्रकाशित

काठमाडौ । ओमानमा जारी नेपाल, अमेरिका र घरेलु टोलीबीच जारी त्रिकोणात्मक सिरिजमा नेपालले शानदार जित निकालेको छ । आइतबार बेलुकी भएको सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै लिगमा चौथो जित दर्ता गरेको हो ।

घरेलु टोलीलाई १२१ रनमा समेटेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा मात्र १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । १६ रन जोड्दा कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको नेपालका लागि कप्तान ज्ञानेन्द्र र आशिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझदोरी गरे ।

शेख व्यक्तिगत ४० रनमा आउट भए । रोहितकुमार पौडेल मात्र ६ रनमा आउट भए । ज्ञानेन्द्र ५२ र शरद भेषावकर १ रनमा अविजित रहे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि ओमानका ब्याट्सम्यानहरुले ठूलो साझेदारी गर्न सकेनन् । ३७÷४ को अवस्थामा ब्याटिङमा आएका घरेलु टोलीका कप्तान जिसन मक्सुदले एउटा पारी सम्हालेपनि अरु ब्याट्सम्यानहरु टिक्न सकेनन् ।

जितसँगै नेपाल ८ खेलबाट ८ अङ्क जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । पराजित ओमान १३ खेलबाट २० अङ्क जोड्दै शीर्ष स्थानमा यथावत छ । सिरिजमा ओमानको यो तेस्रो हार हो । अब सोमबा हुने सिरिजको अन्तिम खेलमा ओमानले अमेरिकाको सामना गर्नेछ ।

ताजा खबर