एसिया कप छनोटमा नेपाल फिलिपिन्ससँग पराजित

२०७८ असोज २ शनिबार १८:१३:०० मा प्रकाशित

काठमाडौं । एएफसी महिला एसिया कप छनोटअन्तर्गत भएको खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । शनिबार दिउँसो भएको समूह ’एफ’को पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोलले पराजित भएको हो ।

उज्बेकिस्तानको जार रंगशालामा भएको खेलमा फिलिपिन्सलाई जित दिलाउन टाह्नाइ अन्निस र कामिल्ले विल्सनले एक/एक गोल गरे । नेपालको लागि विमला चौधरीले एक गोल गरिन् । खेलमा नेपालले शुरुवाती अग्रता लिएपनि अन्तिम समयमा दुई गोल बेहोर्दा पराजित हुन बाध्य भएको हो । पहिलो हाफको दसौं मिनेटमै गिता रानाको क्रसमा बिमलाले गोल गर्दै नेपाललाई खेलमा अगाडि बढाएकी थिइन् ।  

खेलमा फिलिपिन्सले पकड जमाएपनि नेपालले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै बलियो फिलिपिन्सलाई ८८ औं मिनेटसम्म रोकेको थियो । तर ८९ औं मिनेट अन्निसले गोल गर्दै फिलिपिन्सलाई १–१ गोलको बराबरीमा ल्याएकी थिइन् । यस्तै दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा विल्सनले गोल गर्दै फिलिपिन्सलाई २–१ गोलको जित दिलाइन् ।  जितसँगै फिलिलिन्सले ३ अङ्क जोडेको छ । अब नेपालले समूहको दोस्रो खेलमा मंगलबार हङकङको सामना गर्नेछ ।
 

ताजा खबर