परिसंघको पर्यटन समिति गठन, खोप लगाएकालाई क्वारेन्टाईनमा नराख्न माग

२०७८ असोज १ शुक्रबार २२:३५:०० मा प्रकाशित

काठमाडौं । नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा माग राखेकाे छ ।

परिसंघले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको भन्दै यसका लागि खोपको पूर्ण मात्रा लगाएका र पिसिआर नेगेटिभ रिपोर्ट भएका व्यक्तिहरुलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्न माग राखेकाे हो ।


पर्यटन क्षेत्रको विकास र नेपालमा प्रवद्र्धनका लागि पर्यटन समिति गठन गर्दै परिसंघले यस क्षेत्रको शीघ्र पुनरोत्थाका लागि सरोकारवाला निकायसँग सहकार्य गर्नुपर्नेमा पनि जोड दिएको छ । परिसंघकी राष्ट्रिय परिषद सदस्य पम्फा धमलाको सभापतित्वमा गठित समितिको पहिलो बैठकले पर्यटन क्षेत्रमा सक्रिय सम्पूर्ण व्यवसायी एवं श्रमिक तथा मजदूरहरुलाई पूर्णरुपमा खोप उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।

नेपाल आउन चाहने पर्यटकलाई अन अराइभल भिसा उपलब्ध गराउन पहल गर्ने र विभिन्न देशहरुले अझै पनि नेपाल भ्रमणका लागि जोखिमयुक्त मुलुकको सूचीमा राखेकाले त्यसलाई हटाउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

पर्यटन समिति गठन कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले कोभिड–१९ बाट प्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि सरोकारवाला सबै एक ठाउँमा उभिनुपर्ने बताए । पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सहजीकरण आवश्यक पर्ने भन्दै उनले परिसंघले त्यसको नेतृत्व लिने बताए ।

उनले विभिन्न देशले आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि खुला नगरेको भन्दै नेपालमा विदेशी पर्यटक आउन सक्ने वातावरण बनाउन परिसंघमार्फत कुटनीतिक पहल अघि बढाउने उल्लेख गरे । उपाध्यक्ष शाहले नेपाल भ्रमणका लगि सुरक्षित गन्तव्य भएको सन्देश विश्वभर दिनुपर्ने बताए । ‘भ्याक्सिनको तीव्र वितरणमार्फत् नेपाललाई सुरक्षित गन्तव्यको पहिचान दिन आवश्यक छ,’ उनले भने, ‘त्यसको पहल परिसंघले गर्नेछ ।’

समितिकी सभापति पम्फा धमलाले कोभिडले पर्यटन क्षेत्रमा गम्भीर संकट परेको भन्दै यस क्षेत्रलाई पुरानै लयमा फर्काउन धेरै काम गर्नुपर्ने बताईन । उनले यो वर्षको पर्यटन आवागमनको सिजन सुरु हुन लागेको भन्दै यसलाई पर्यटन पुनरोत्थानको अवसरको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएकी छन् ।

यसैगरी परिषदकी राष्ट्रिय परिषद सदस्य छाँया शर्माले नीतिगत तहबाट नै पर्यटन प्रवद्र्धनका लागि परिसंघले पहल अघि बढाउनुपर्ने उल्लेख गरिन । उनले संसदीय समितिहरुमार्फत पर्यटन क्षेत्रको विकासका लागि छलफल अघि बढाउन सकिने सुझाव दिईन् ।

बैठकमा भर्चुअलरुपमा सहभागी भएका समिति सदस्यहरु राहुल चौधरी, अशोक पोखरेल, प्रविण पाण्डे र शारिक लारीले पर्यटन क्षेत्रमा कोभिडबाट समस्याग्रस्त पर्यटन पुनरोत्थानका लाथि परिसंघले नेतृत्वदायी भूमिकामा काम गर्न सक्ने उल्लेख गरे । यस्तै बैठकमा उपस्थित समिति सदस्यहरु तिलक लामा, शेखर प्रसाईँ, लाक्फुली शेर्पा र हिक्मतसिंह ऐरले समितिले निश्चित उद्देश्य लिएर काम गर्नुपर्नेमा जोड दिँदै ती उद्देश्य हासिल गर्नेगरी काम गर्न सुझाव दिए । उनीहरुले कोभिडबाट जोगिन तल्लो तहसम्म जनचेतना जगाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

परिसंघले गठन गरेका उक्त समितिमा छाँया शर्मा, राहुल चौधरी, शारिक लारी, अशोक पोखरेल, प्रविण पाण्डे, तिलक लामा, शेखर प्रसाईँ, लाक्फुली शेर्पा र हिक्मत सिंह ऐर सदस्य रहेका छन् ।

ताजा खबर