मल्ल के सुन्दरको उपन्यास ‘सेप्टेम्बर १७’ 

२०७८ असोज १ शुक्रबार २१:१२:०० मा प्रकाशित

काठमाडौँ । नेपाल भाषाका स्थापित उपन्यासकार मल्ल के सुन्दरको नयाँ उपन्यास ‘सेप्टेम्बर १७’ प्रकाशित भएको छ । नेपाल भाषा एकेडेमीले प्रकाशन गरेको उक्त कृतिको जनकवि दुर्गालाल श्रेष्ठले शुक्रबार कीर्तिपुरमा एक कार्यक्रमबीच लोकार्पण गरे ।

अधिकारकर्मीका रुपमा समेत नेपाली समाजमा परिचित लेखक मल्लको   यस उपन्यासमा एकाँकी जीवन व्यतित गर्दै आएका नेवार मूलका एक अमेरिकी सैनिक आफ्नो पहिचान र थातथलो खोज्दै भक्तपूरको ताथली टेक्न आइपुगेको मर्मस्पर्शी कथा समेटिएको छ । 

    शिकागोको एक अस्पतालमा पहिलो चोटि आँखा खोलेका कथाका मुख्य पात्र रोमुलस जन्मदेखि मातृ वात्सल्यबाट विमुख भएर असहाय केन्द्रमा हुर्किए । अमेरिकाको नागरिकता छ, सेनाको जागीर छ तर, त्यसबाहेकका नालीबेली ऊ आफैंलाई थाहा छैन ।

देवनागरी लिपिको आमाको नागरिकता प्रमाणपत्र एक मात्र उनको चिनो बन्यो । अमेरिकामै पढ्दै गरेका दुई नेपाली चेलीको सहयोगमा ऊ आफ्नी आमाको थातथतो भेटाउन समर्थ हुन्छ तर, त्यो धेरै अघि नै उजाडिसकेको हुन्छ । 

    क्यान्सर रोगले थिलथिलो भइसकेको उनको शरीरले काठमाडौँकै नक्सालस्थित एक घरमा आश्रय पाउँछ । त्यही घरका बुढी आमा र दुर्घटनामा भाइ गुमाएका युवतीको ममता र स्याहार पाउँछन् । अमेरिका छँदा सम्पर्कमा आएकी अर्की युवती क्यान्सर विशेषज्ञबाट रोमुलसले काठमाडौँमा उपचार पाउँछन् । सधैंभरि अस्पताल, अनाथाश्रम र सैन्य शिविरभित्र खुम्चिएर बस्नुपर्ने नियतिबाट उम्कने उनको चाहना यहाँ पूरा हुन्छ । कहिल्यै न्यानो पारिवारिक सुख अनुभव गर्न नपाएका उनले आफ्नै जिद्दीमा अमेरिकाको कोलोराडो अस्पताल छाडे झै यहाँ पनि अस्पताल त्याग्छन् । 

    उनी यहाँको प्रकृति र संस्कृतिमा रमाउँछन् । उन्मुक्त जीवन पाउँछन् । भाषा सिक्छन्, स्थानीय संंस्कृति र परम्परा बुझ्छन् । चिकित्सकहरुले तोकेको मृत्युको घडी सेप्टेम्बर १७ लाई थोरै भएपनि धकेल्न सफल हुन्छन् । सधैँभरि झक्झक्याइरहने ‘आफूले आफूलाई चिन्नू’ भन्ने दार्शनिक सुकरातको भनाइलाई उनले यहाँ चरितार्थ गर्छन् । तिहारको म्हः पूजा (शरीर पूजा) मा सामेल हुन्छन् र त्यसलगत्तै उनले देह त्याग गर्छन् ।

    रोमुलस इराकविरुद्धको अमेरिकी युद्धमा होमिए । युद्ध जिते । तर सार्वजनिक जमघटमा आफ्नो वास्तविक परिचय दिन नसक्दा उनी आफैंंसँग हारे । त्यही आत्मग्लानीले उनलाई लखेटिरह्यो । त्यसमाथि थपिन आयो असाध्य रोग । मृत्युबोधले हतास उनले वैभवपूर्ण अमेरिकी समाज त्यागे, प्रतिष्ठाको जागीर छाडे । तर, नेपालको माटो र हावापानीमा उनले शान्ति र शीतलता पाए । यहीँ उनले मुक्ति भेटाए । 

    युद्धको विरोधमा जनसागर उर्लेको न्यूयोर्क शहर, इराकको युद्धभूमि मात्रै हैन भक्तपुर र काठमाडौँका ऐतिहासिक शहर र मन्दिरहरुमा पाठकलाई ओहरदोहर गराउन लेखक सफल छन् । भाषा परिष्कृत छ । शब्द चयनमा मिठास भेटिन्छ । नेपाल भाषा बोल्नेहरुकै लागि पनि कतिपय शब्दहरु नौलो लाग्न सक्छ । पुस्तक २०१ पृष्ठको छ । मूल्य  ३०० रुपैयाँ राखिएको छ । मल्लको यो पाँचौँ उपन्यास हो ।

    उपन्यासमाथि टिप्पणी गर्दै प्रा.मदनसेन बज्राचार्यले विश्व राजनीति र घटनाक्रमलाई सिलासिलाबद्ध ढङ्गले प्रस्तुत गर्दै नेवार समुदायको जीवन पद्धति र पूजा विधिलाई समेत लेखकले उपन्यासमा समेटेर जीवन्तता प्रदान गरेको बताए । उपन्यासकार मल्लले चर्चा बटुल्न नभै मातृभाषामा उदाहरणीय कृतिहरु पस्किने प्रयासमा आफू रहेको स्पष्ट पार्दै जन्मदिनलाई खुशी खुशी स्विकार्ने मानिसले मृत्युको तिथिलाई पनि सहज रुपले स्विकार्छ कि स्विकार्दैन भन्ने एक दार्शनिक प्रश्नलाई समेत आफूले यस उपन्यासमा उठाउन खोजेको जानकारी दिए ।
 

ताजा खबर