पिएसजी बर्गसँग १–१ गोलको बराबरीमा

२०७८ भदौ ३१ बिहीबार ११:५२:०० मा प्रकाशित

लियोनल मेसी सम्मिलत पेरिस सेन्ट जर्मेन पिएसजी च्याम्पियन्स लिगमा क्लब बर्गसँग १–१ गोलको बराबरीमा रोकिएको छ । मेसीले पिएसजी बाट  पुरै ९० मिनेट खेलेको खेलको नतिजा भने निराशाजनक आयो । बार्सीलोनाका पूर्वखेलाडी मेसी पहिलो पटक पिएसजीबाट सुरुवाती एघारमा रहदै मैदान प्रवेश गरेका थिए । तर उनले आफ्नो प्रभाव जमाउन सकेनन् ।  उनीसँगै स्टार स्ट्राइकर  नेइमार र किलियन एम्बाप्पेले सुरुवात गरेका  थिए ।  

१५ औं मिनेटमा एम्बाप्पेको पासमा एन्डर हरेराले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए  । तर उसले आफ्नो अग्रता लामो समय जोगाउन सकेन । २७ औं मिनेटमा  घरेलु टोली क्लब बर्गका हान्स भानाकेनले  गोल गर्दै खेल बराबरी गरेका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । दोस्रो हाफमा स्टार खेलाडीले भरिएको पिएसजीले क्लब बर्गको डिफेन्स तोड्न सकेन । पहिलो पटक पिचमा मेसी, एम्बाप्पे र नेइमारसँगै देखिएका हुन् । २३ औं मिनेटमा मेसीले एम्बाप्पेका लागि गोल सेट अप गरिदिएका थिए । तर एम्बाप्पेले गोलमा परिणत गर्न सकेनन् ।

मेसीले गोलका केही प्रयास गरेका थिए । तर सफल भएनन् । च्याम्पियन्स लिगमा मेसीको यो १ सय ५० औं खेल हो । समुह ए मा रहेको माउरिसियो पोचेटिनाको टोलीले तीन अंक जोड्ने सुनौलो अवसर गुमाएको छ ।  
 

ताजा खबर