कर्णालीमा ३४ प्रतिशत नागरिक निरक्षर

२०७८ भदौ २८ सोमबार २१:११:०० मा प्रकाशित

कर्णाली । कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले देखाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर रहेको कर्णालीमा ३४ प्रतिशत नागरिक साधारण लेखपढ गर्न जान्दैनन् ।

मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले प्रदेशका १० जिल्लाका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको जानकारी दिए । प्रदेश योजना आयोगले आव २०८०/८१ सम्म कर्णालीको साक्षरता ९५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।

कर्णाली सरकारले प्रदेशलाई साक्षर बनाउन आर्थिक वर्ष २०७५/७६ देखि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । तीन वर्षभित्र कर्णालीलाई साक्षर प्रदेश घोषणा गर्ने भन्दै तीन वर्षअघि प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरेको थियो ।

मन्त्रालयका उपसचिव अधिकारीले गत वर्ष निरन्तर सिकाइसम्बन्धी गतिविधिका लागि हरेक स्थानीय तहमा दुई लाख उपलब्ध गराएको र उक्त बजेट कोरोना महामारीका कारण खर्च हुन नसकेको बताए ।

ताजा खबर