डेनिल मेतभेदेभलाई पहिलो ग्रान्डस्लाम उपाधि

२०७८ भदौ २८ सोमबार १४:१९:०० मा प्रकाशित

विश्व नम्बर दुई डेनिल मेतभेदेभले करियरको पहिलो ग्रान्डस्लाम उपाधि जितेका छन् । रुसका मेतभेदेभले युएस ओपको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई सोझो सेटमा पराजित गरे । हारसँगै एकै क्यालेन्डर वर्षमा चार ग्रान्डस्लाम जित्ने जोकोभिचको सपना पुरा हुन सकेन ।

२५ वर्षीय मेतभेदेभले पहिलो सेट ६–४ ले जित्दै खेलको सुरुवात गरेका थिए । आत्मविश्वासी खेल प्रदर्शन गरेका उनले ३४ वर्षीय जोकोभिचलाई खुलेर खेल्न दिएनन् । मेतभेदेभले दोस्रो सेट ६–४ र तेस्रो सेट पनि ६–४ ले नै जित्दै उपाधि आफ्नो नाममा लेखाए ।

च्याम्पियन बन्नेसम्मको यात्रामा उनले मात्र एक सेट गुमाएका थिए । मेतभेदेभ तेस्रो प्रयासमा ग्रान्डस्लाम जित्न फिल भएका हुन् । यसअघि दुई पटक फाइनल पुगेपनि उनी निराश भएका थिए । सन् २०१९ मा युएस ओपनकै फाइनलमा मेतभेदेभ स्पेनका रफायल नाडालसँग पाँच सेटमा स्तब्ध भएका थिए ।

यसै वर्षको अस्ट्रेलियन ओपनमा उनी जोकोभिच सँगै हारेका थिए । यो पटक भने उनले कुनै गल्ती गरेनन्  र लगातार तीन ग्रान्डस्लाम फाइनल हार्ने छैटौ खेलाडी बन्नबाट जोगिए । रुसका लागि पुरुष तर्फ ग्रान्डस्लाम जित्ने मेतेभेदेभ केवल तेस्रो खेलाडी हुन् । जोकोभिच भने इतिहास बाट चुके ।

उनी सर्वाधिक २१ औं ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी बन्ने लक्ष्यमा थिए । उनीसँगै नाडाल र स्विस खेलाडी रोजर फेडेररले समान २०–२० पटक ग्रान्डस्लाम जितेका छन् ।  युएस ओपन जितेको भए जोकोभिचले वर्षका चारै ग्रान्डस्लाम आफ्नो नाममा पार्ने थिए । उनले यो वर्ष अस्ट्रेलियन ओपन, विम्बल्डन, फ्रोन्च ओपन जितेका थिए । खेलपछि जोकोभिचले मेतभेदेभको प्रशंसा गर्दै उपाधिको हकदार भएको प्रतिक्रिया दिए । हारका बाबजुत आफूलाई आनन्द र खुसी महशुस भइरहेको उनको भनाइ थियो ।
 

ताजा खबर