त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

२०७८ भदौ २८ सोमबार १४:१८:०० मा प्रकाशित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।  ओमानको अल अमारत स्टेडियममा हुने डे नाइट खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ बजेबाट सुरु हुनेछ ।

सिरिजको तयारीका लागि नेपाली टोली  दुई साता अघिनै ओमान गएको थियो । त्यसक्रममा उसले पपुवा न्युगिनीसँग दुई  एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्यो । दुवै खेलमा जित हात पारेको नेपाल अमेरिकाविरुद्ध उच्च मनोवल सहित मैदान उत्रनेछ  । पपुवा न्युगिनीसँग पहिलो खेलमा संघर्षपूर्ण जित निकालेको नेपाल दोस्रो खेलमा भने लयमा फर्किएको थियो । १ सय ५१ रनको फराकिलो जित हात पार्दा रोहित पौडेलले ८६ रन र सन्दीप लामिछानेले कीर्तिमानी ६ विकेट लिएका थिए ।

पपुवा न्युगिनीसँग खेल्दा देखिएका कमजोरी अमेरिकासँग  नदोहोरिने कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन् । अमेरिका वलियो प्रतिद्वन्द्वी  भएको र जितका लागि खेल्ने उनको भनाइ छ । उपकप्तान तथा नेपाली टिमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले चोटका कारण सिरिजका सवै खेल गुमाएका  छन् ।

 उनको अभाव टिममा खड्किन सक्नेछ । अमेरिकाले पनि पपुवा न्युगिनीसँगै दुई ओडिआई खेल्दा शत प्रतिशत  नतिजा निकालेको थियो । अमेरिकाका जस्करण मल्होत्राले ६ वलमा ६ छक्का प्रहार गर्दै तहल्का मच्चाएका थिए । नेपाल र अमेरिका बीच  पछिल्लो पटक लिग टु मै २०७६ माघमा भेट भएको  थियो । ओमान पनि सहभागी त्रिकोणात्मक सिरिज खेल्दै नेपालले घरेलु मैदानमा लिग टु मा डेब्यु गरेको हो ।

सो वेला नेपालले दुवै खेलमा अमेरिकालाई हराएको थियो । ओमानसँग दुवैमा पराजय बेहोर्यो । डेढ वर्ष अघिको लिग टु खेलेको अ‍ेमरिकी टिममा अहिले धेरै खेलाडी परिवर्तन छन् । एकदिवसीय फरम्याटमा अमेरिका र नेपाल ६ पटक आमने सामने हुँदा समान तीन तीन खेलमा जित हात पारेका छन् । चार विर्षिय लिग टु को चक्र सन् २०२३ मा हुने एकदिवसीय विश्वकप छनोटको आधार पनि हो । तालिकाको शीर्ष स्थानमा ओमान छ  ।

उसको १० खेलबाट १६ अंक छ । अमेरिका १२ खेलबाट १२ अंक जोड्दै दोस्रो स्थानमा छ । चार  खेलमा  चार अंकका साथ नेपाल छैटौ स्थानमा रहेको छ ।  लिग टु को अवे खेलमा नेपाल ओमान र अमेरिका संग ८ अंक जोड्ने लक्ष्यमा छ ।  नेपालले दुवै टिमसँग दुई दुई खेल खेल्नेछ । स्कटल्यान्ड तेस्रो, नामिबिया चौथो, युएइ पाँचौं र पपुवा न्युगिनी सातौ स्थानमा   छ । समूहका शीर्ष तीन टिमले एकदिवसीय विश्वकप छनोटमा  स्थान बनाउनेछन् ।
 

ताजा खबर